काठमाडौं- संघीय संसदले महिलामाथि हुने हिंसा, शोषण र विभेद गर्ने अपराधीलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न र पीडितको उपचार र क्षतिपूर्तिको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ।
प्रतिनिधिसभाको शुक्रबारको बैठकले सांसद विन्दा पाण्डेले प्रस्तुत गरेको संकल्प प्रस्ताव पारित गर्दै महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्य गर्न र पीडितलाई सामाजिक पुनःस्थापनाका लागि यथोचित व्यवस्थापन गर्न सरकारलाई दिर्नेशन दिएको हो।
प्रस्तावमा महिलामाथि देशव्यापी भएका हिंसा, शोषण र विभेदविरुद्ध जनप्रतिनिधिहरू पुनः एकताबद्ध भई अभियानकै रूपमा लाग्ने संकल्प गरिएको छ। प्रस्ताव पेश गर्दै सत्तारुढ नेकपाकी सांसद पाण्डेले संविधान र कानूनले प्रदत्त गरेका हक, अधिकारका विषयमा र महिलामाथि हुने सबै प्रकारका हिंसा, शोषण र विभेदविरुद्ध सरकारले व्यापक जनचेतना अभियान सञ्चालन गर्नुपर्ने बताइन्।
‘महिला हिंसालगायत त्रुटिपूर्ण सामाजिक मान्यताविरुद्ध तथा समानता र सामाजिक न्यायका पक्षमा विद्यालय तहका पाठ्यक्रममा समावेश गरी शिक्षा दिने व्यवस्था मिलाउन सरकारलाई निर्देशन गर्छ,’ पारित प्रस्तावमा उल्लेख छ।
सांसद पाण्डेले २ साउनमा दर्ता गरेको संकल्प निवेदनमाथि सभामुख कृष्णबहादुर महराले शुक्रबार मात्र सदनमा छलफल गराएका थिए। संकल्प प्रस्तावको सूचनामा प्रधानमन्त्रीसहित सांसदहरूले सबै प्रकारका हिंसा, शोषण र विभेद अन्त्य गर्नुपर्ने बताएका थिए।
कञ्चनपुरको भीमदत्त नगरपालिकाकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनालाई लिएर सदनमा सांसदहरूले सरकारको ध्यानाकर्षण गराइरहेको अवस्थामा यो प्रस्ताव पारित भएको हो।
पारित प्रस्तावमा पनि केही समययता निरन्तर रूपमा महिलामाथि जघन्य अपराध, हत्या, बलात्कार, बोक्सीको आरोपमा उत्पीडन, छाउपडी, यौनजन्य हिंसा, घरेलु हिंसा, दाइजोका नाममा कुटपिटका घटनामा वृद्धि भइरहेको जनाइएको छ।
सांसद पाण्डेको प्रस्तावमा सत्ता र विपक्षी दलका सांसदहरूले पनि समर्थन गर्दै हस्ताक्षर गरेका छन्। हस्ताक्षर गर्नेहरूमा कांग्रेसकी सचेतक पुष्पा भुसाल, पूर्वमन्त्री रेखा शर्मा, कृष्णभक्त पोखरेल, निरु पाल र मैनाकुमारी भण्डारी छन्।
यस्तै, सांसदहरू पार्वतीकुमारी विशंके, बिनाकुमारी श्रेष्ठ, लक्ष्मीकुमारी चौधरी, नवराज रावत, आशाकुमारी विक, तुलसी थापा, शशि श्रेष्ठ, शाान्तिमाया तामाङ पाख्रिन, नवीना लामा, अमृता थापा, पवित्रा निरौला खरेल, रेणुका गुरुङ, कलुदेवी विश्वकर्मा, विमला विश्वकर्मा, दुर्गा पौडेल, कमला रोक्काले पनि प्रस्ताव दर्ता गर्दाको निवेदनमा हस्ताक्षर गरेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४