बिहीबार, असार ३२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेताहरूले आफ्ना च्याप्‍न थालेपछि नेकपा एकीकरणमा भाँडभैलो

नेताहरूले आफ्ना च्याप्‍न थालेपछि नेकपा एकीकरणमा भाँडभैलो

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नेताहरूले जिल्ला तथा जनवर्गीय संगठनका प्रमुख पदमा आफू निकटका नेता÷कार्यकर्ता च्याप्न थालेपछि नेकपा एकीकरणमा भाँडभैलो शुरु भएको छ।

बुधबारसम्ममा ६६ जिल्लाका कार्यदलले नेतृत्वका लागि नाम बुझाए पनि तिनले मापदण्ड मिचेको स्रोतले बतायो। ६६ मध्ये ४० पूर्वएमाले र २६ पूर्वमाओवादीले लिने सहमति भए पनि विवाद कायम रहेको स्रोतको भनाइ छ ।

नेकपाका एक नेताका अनुसार कतिपय जिल्लामा वरिष्ठतालाई पाखा लगाएर कनिष्ठलाई नेतृत्वमा सिफारिस गरिएको छ। प्रदेश–१ र ३ बाहेक सबै प्रदेशबाट सिफारिस आइसकेको छ। पाँच वटा प्रदेशमा नेतृत्वका लागि हानथाप हुँदा सिफारिस आउन नसकेको ती नेताले बताए । पार्टीभित्र गुटबन्दी र आगामी महाधिवेशनलाई ध्यानमा राखेर नेताहरूले सिफारिस  गरेकाले धेरै जिल्लामा विवाद हुने भएको छ।

विवाद भएका जिल्लामा अर्घाखाँची, दाङ, बाँके र कैलाली छन् । अर्घाखाँचीको अध्यक्षका लागि पूर्वएमालेका जिल्ला अध्यक्ष चेतनारायण आचार्यलाई माइनस गरेर उपाध्यक्ष पीताम्बर भुसाललाई जिल्ला अध्यक्ष सिफारिस गरिएको छ। यस्तै, दाङमा पूर्वएमालेका अध्यक्ष टीकाराम खड्कालगायत जिल्लाका सबै पदाधिकारीलाई माइनस गर्दै सदस्य शिवकुमार आचार्यलाई अध्यक्षमा सिफारिस गरिएको छ। 

आचार्य प्रदेश–५का मुख्यमन्त्री शंकर पोखरेलका बहिनी–ज्वाईं हुन् । यस्तै, बाँकेमा सबै पदाधिकारीलाई माइनस गरेर तत्कालीन एमालेको जिल्ला अधिवेशनमा अध्यक्ष उम्मेदवार भई पराजित भएका गोपाल गिरीलाई अध्यक्षमा सिफारिस गरिएको छ। कैलालीमा तत्कालीन एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी प्रदेश सरकारमा मन्त्री भएपछि सचिव रणबहादुर चन्दलाई माइनस गर्दै प्रदेश कार्यालय सचिव दिनेशचन्द्र सुवेदीलाई जिल्ला अध्यक्षका लागि सिफारिस गरिएको छ।

पूर्वमाओवादीमा भद्रगोल रेकर्ड, शान्त सिफारिस

पूर्वएमालेभन्दा पूर्वमाओवादीमा कम भाँडभैलो देखिएको छ। स्रोतका अनुसार माओवादीका भागमा परेका जिल्ला नेतृत्वको सिफारिसमा एमालेको जस्तो मापदण्ड मिचिएको छैन। एक नेताका अनुसार उनीहरूसँग लिखित अभिलेख नभएकाले पनि यस्तो देखिएको हो। 

पार्टी सदस्यता भने भद्रगोल अवस्थामा रेकर्डविहीन छ। पूर्वमाओवादीले आफूलाई वरिष्ठ देखाउन सदस्यताको मितिसमेत पछाडि सार्ने गरेका छन्। एमालेमा भने त्यो सम्भव नभएको स्रोतले बतायो। पूर्वमाओवादीको अभिलेख नभएकाले जिल्ला–जिल्लाबाट तयार पार्ने काम भइरहेको स्रोतले बतायो। 

तत्कालीन एमालेको भने माओवादीको जस्तो सदस्यताको अभिलेख सच्चिन नसक्ने भएको छ। ०६४ सालमा सदस्यता लिएको पूर्वमाओवादीको सदस्यले अन्य कमिटीमा सरुवा गरेर ०५६ साल बनाउने गरेको रेकर्ड फेला परेको छ। पूर्वएमालेमा भने ०५६ सालमा लिएको सदस्यको शुल्क नियमित कम्युटरमा अपडेट हुने गरेकाले त्यो सम्भावना नरहेको एक नेताले बताए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।