शुक्रबार, वैशाख २१, २०८१

जनार्दनको अर्थसचिव हुन कसले देखाउला आँट?

जनार्दन शर्माको अर्थसचिव भएर काम गर्नुभन्दा सरुवा लिएर अन्यत्र कुनै मन्त्रालयमा विवादमुक्त भई बस्ने अर्थसचिव मधुकुमार मरासिनीको मनसुवा देखिएको छ।
 |  सोमबार, साउन १६, २०७९

किशोर दाहाल

किशोर दाहाल

सोमबार, साउन १६, २०७९

काठमाडौं– जनार्दन शर्मा अर्थ मन्त्रालयमा पुनः फिर्ता भएसँगै नयाँ अर्थसचिवबारे थुप्रै अड्कलबाजी भइरहेका छन्। शर्माले नै अर्थमन्त्रीमा निरन्तरता पाउने सुइँको पाएपछि अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयमा अनुपस्थित छन्।

triton college

अन्तर्राष्ट्रिय आर्थिक सहायता तथा समन्वय महाशाखाको कार्यक्रममा भाग लिन उनी पोखरा पुगेको बताइएको छ। उनीसँग महाशाखा प्रमुख ईश्वरीप्रसाद अर्याल पनि गएको मन्त्रालयले जनाएको छ। अर्थमन्त्री शर्माले पदभार ग्रहण गरेपछि उनलाई राजस्व सचिव कृष्णहरि पुष्करले स्वागत गरेका थिए। सपथ स्थल राष्ट्रपति कार्यालय शीतलनिवासमै पुगेर अर्थमन्त्री शर्मालाई पुष्करले बधाई दिएका थिए।

अर्थसचिव मरासिनी भने अर्थमन्त्रीलाई स्वागत गर्न उपस्थित भएनन्। आइतबार अनुपस्थित रहेका अर्थसचिव सोमबार पनि मन्त्रालय फर्किएका छैनन्। अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थसचिव मरासिनीले अर्थ मन्त्रालयले छाड्ने मनस्थिति बनाएको बुझिएको छ। उनले शर्मा पुनः फर्किए मन्त्रालय नबस्ने जानकारी मुख्यसचिव शंकरदास वैरागीलाई गराइसकेका छन्। असार २२ मा मन्त्री शर्मालाई राजीनामा गर्न मरासिनीले नैतिक दबाब सिर्जना गरेका थिए। अस्वस्थताको कारण देखाउँदै उनी अनिश्चितकालका लागि बिदा बसेका थिए। सोही दिन अर्थमन्त्री शर्माले राजीनामा दिएपछि अर्थसचिव मरासिनी प्रधानमन्त्रीको आदेश पालना गर्नु आफ्नो कर्तव्य भएको भन्दै नियमित काममा फर्किए। 

करको दर हेरफेरमा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको र सीसीटीभी फुटेज उपलब्ध नगराइएको विषयमा अर्थमन्त्री शर्मा विवादमा मुछिएपछि राजनीमा गर्न बाध्य भएका थिए। असार २२ मै करका दर हेरफेरका सम्बन्धमा ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो। २४ दिन लगाएर समितिले अध्ययन गरी प्रतिवेदन सार्वजनिक गरेको छ। 

समितिले जनार्दन शर्मालाई चोख्याउने नियतका साथ प्रतिवेदन तयार पारेर उनलाई ‘क्लिन चिट’ दिइसकेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नै छानबिन समितिलाई प्रभावित गर्ने कार्यमा लागेको बताइएको छ।

corrent noodles
Metro Mart

अगाडि जनार्दन देखिए पनि भित्री रूपमा ठूलै आर्थिक चलखेल र अनियमितता भएकाले पुनः शर्मालाई नै अर्थमन्त्रीका रूपमा फर्काएको बताइएको छ। लघुबिमाको लाइसेन्स वितरण, ब्रोकर लाइसेन्स वितरण, हतियार तथा सेनाको जहाज खरिद प्रक्रिया अगाडि बढाउने तयारीका साथ मन्त्री शर्मालाई नै अर्थको बागडोर दिएको बताइएको छ।

यसका निम्ति आवश्यक रकमान्तर, बजेट सहमति र स्रोतान्तरका लागि शर्मालाई नै उपयुक्त पात्र ठानिएको छ। यी सबै विषयमा जानकार रहेका अर्थसचिव मरासिनी थप विवादमा पर्न नचाहेको बताइएको छ। शर्माको अर्थसचिव भएर काम गर्नुभन्दा सरुवा लिएर अन्य कुनै पनि मन्त्रालयमा विवादमुक्त भएर बस्न उनले इच्छा देखाएको उनी निकट स्रोतले बताएको छ। करको दर हेरफेरमा अनधिकृत व्यक्ति प्रवेश गराएको विषयमा अर्थसचिव मरासिनीको आलोचना भएको थियो। सञ्चारमाध्यम तथा समाजिक सञ्जालसमेत उनीविरुद्ध खनिएका थिए।

उनी संसदीय छानबिन समितिमा समेत भावुक मुद्रामा प्रस्तुत भएको बताइएको छ। जानकारहरुका अनुसार मरासिनीले अब्बल कर्मचारीको पहिचान बनाएका थिए। उनले अन्तर्राष्ट्रिय दातृ निकायसँग राम्रो सम्बन्ध कायम गरेका थिए। 

जनार्दन शर्माको अर्थसचिव भएर काम गर्नुभन्दा सरुवा लिएर अन्यत्र कुनै मन्त्रालयमा विवादमुक्त भई बस्ने अर्थसचिव मधुकुमार मरासिनीको मनसुवा देखिएको छ।

अध्ययन, क्षमता र अनुभवका आधारमा अर्थसचिव मरासिनी निकै अब्बल मानिन्छन्। तर योग्यता र क्षमतानुसार मरासिनीबाट नतिजा आउन सकेन। उनले गभर्नर प्रकरणदेखि करका दर हेरफेरसम्म अर्थमन्त्री शर्मालाई साथ दिएकै थिए। चौतर्फी दबाब खेप्न नसकेपछि उनी अर्थमन्त्री शर्मालाई साथ दिन नसक्ने अवस्थामा पुगेका हुन्। 

मरासिनीले युरोप, अमेरिकालगायतका मुलुकबाट ६ महिनादेखि १ वर्षसम्मका तालिम लिएका छन्। उनले अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एआईयू)बाट अर्थशास्त्रमा स्नातकोत्तर पूरा गरेका छन्। निजामती सेवामा पनि उनको अर्थ मन्त्रालयअन्तर्गत नै रहेर काम गरेको करिब २५ वर्षको कार्यानुभव छ । उनी सचिवमा बढुवा भएसँगै महालेखा नियन्त्रक बनेका थिए।

त्यसपछि सरकार परिवर्तन भएसँगै उनलाई अर्थसचिवमा अर्थमन्त्री शर्माले नै ल्याएका हुन्। जनार्दनको नेतृत्वमा अन्य सचिवहरू पनि अर्थसचिव भएर अर्थ मन्त्रालय जान तयार नभएको बताइएको छ। यद्यपि राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारी र सञ्चार सचिव वैकुण्ठ अर्यालको नाम सर्वाधिक चर्चामा रहेको छ।

यस्तै, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेल पनि अर्थसचिवमा आउन इच्छुक रहेको बताइएको छ। पोखरेल मन्त्रालय आए मरासिनी उद्योग, वाणिज्य मन्त्रालय जान सक्ने सम्भावना छ।

वैकुण्ठ अर्याल वा केवलप्रसाद भण्डारीलाई अर्थसचिवमा ल्याउनुपर्ने लबिङमा पावर ब्रोकर दीपक भट्ट लागेको बताइएको छ। तर दुवै सचिव जनार्दनसँग बसेर काम गर्न तयार नभएको अर्थ मन्त्रालय स्रोत बताउँछ। अर्थमन्त्री शर्मा पनि यी दुई सचिवमध्ये एकलाई अर्थसचिव बनाएर आफ्नो बिग्रिएको छवि सुधार्ने प्रयत्नमा छन्।

केवलप्रसाद भण्डारीलाई ६ महिनापछि मुख्य सचिव हुने सर्तमा अर्थसचिव अफर गरिएको स्रोतले बताएको छ। उच्च राजनीतिक तहबाटै भण्डारीलाई चुनावसम्मका लागि अर्थसचिवमा राखिरहने र त्यसपछि मुख्य सचिवका लागि आग्रह गरिएको उनी निकट राष्ट्रिय योजना आयोगका कर्मचारी बताउँछन्। तर विवादित हुने त्रासका कारण भण्डारी कुनै पनि निष्कर्षमा पुग्न सकेका छैनन्। 

भण्डारी, पोखरेल र अर्याल अर्थसचिव बन्न तयार नभए कृष्णहरि पुष्कर अर्थसचिवका प्रमुख दाबेदार भएको बताइएको छ। हाल राजस्व सचिव रहेका उनले अर्थमन्त्री शर्मा निकट रहेर संसदीय छानबिन समितिमा सहयोग गरेका थिए। अर्थमन्त्री शर्माको अनुकूलताअनुसार काम गर्न सक्ने हिसाबमा पुष्करलाई अर्थसचिवको जिम्मेवारी दिइन सक्ने सम्भावना बलियो रहेको अर्थ मन्त्रालय स्रोत बताउँछ। 

‘अर्थ सचिवमा मधुकुमार मरासिनी नबस्ने लगभग निश्चित छ। उनको स्थानमा अर्थतन्त्र बुझेका केवलप्रसाद भण्डारी र वैकुण्ठ अर्याललाई ल्याउने प्रयास भइरहेको छ। उनीहरू तयार नभए वाणिज्य मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलेलाई भित्र्याउने चर्चा छ। उनी पनि आउन तयार भएनन् भने काम गर्न  सहज हुने हिसाबमा पुष्कर नै अर्थसचिव बन्ने सम्भावना उच्च छ,’ स्रोतले भन्यो। 

मरासिनीको बहिर्गमन  भए केही सिनियर सहसचिवहरू पनि अर्थ मन्त्रालय छाड्ने तयारीमा रहेको बताइएको छ। आगामी अर्थसचिवको नियुक्ति पर्खाइमा ती सहसचिवहरू रहेको बताइएको छ।

प्रकाशित: Aug 01, 2022| 17:11 सोमबार, साउन १६, २०७९
प्रतिक्रिया दिनुहोस्