काठमाडौं- प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं–तराई/मधेस द्रुतमार्गको काम निर्धारित समयमा सम्पन्न गर्नेगरी कार्ययोजना बनाउन निर्देशन दिएको छ। सोमवार बसेको समितिको बैठकले काठमाडौं–तराई/मधेस द्रुतमार्ग योजनाको हालसम्मको अवस्था हेर्दा निर्धारित समयमा काम सम्पन्न हुन नसक्ने निष्कर्ष निकालेको हो।
ठेक्का व्यवस्थापनका काम हुन नसकेकाले निर्धारित समयमै काम सम्पन्न नहुने ठहर गरेको हो। समितिले आयोजनाको लागत बढ्न नदिन तथा गुणस्तरीय काम गर्नमा जोड दिएको छ।
‘२०८१ साल मंसिर महिनासम्म सम्पन्न हुने भनिएको काठमाडौँ–तराई/मधेश द्रुतमार्गमा हालसम्म २१.१८ प्रतिशत प्रगति भएको छ। आयोजनाको पूर्वनिर्धारित कार्यतालिका बमोजिम ठेक्का व्यवस्थापनका कार्यहरु हालसम्म हुन नसकेको अवस्थालाई हेर्दा आयोजना निर्धारित समयमा सम्पन्न हुने विषयमा समिति विश्वस्त हुने अवस्था देखिँदैन,' बैठकको निर्णयबारे जानकारी दिँदै समिति सभापति कल्याणिकुमारी खड्काले भनिन्, 'यस परिस्थितिलाई मध्यनजर राखी आयोजनाको लागत बढ्न नदिई गुणस्तरीय रुपमा निर्धारित समयमा सम्पन्न गर्न पर्याप्त स्रोतसहित ठोस कार्ययोजना बनाई कार्यान्वयनमा ल्याउने विषयमा तत्काल गम्भिरतापूर्वक पहल गर्न समिति नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, रक्षा मन्त्रालय, अर्थ मन्त्रालय सम्बद्ध आयोजनालाई निर्देशन गर्दछ।’
त्यस्तै बैठकले द्रुतमार्ग आयोजनाको काम सञ्चालन गर्दा वातावरणीय पक्षहरु इआइए र इएमपीको कार्यान्वयनको अवस्था र तेस्रो पक्षबाट अनुगमनबारे १५ दिनभित्र समितिलाई जानकारी दिन पनि निर्देशन दिएको छ।
गत चैत १३ गतेको बैठकले गरेको निर्देशनका सम्बन्धमा रक्षामन्त्रीस्तरीय निर्णयबाट गठित छानबिन समितिको प्रतिवेदन समितिमा प्राप्त भएकोकाले आगामी बैठकमा त्यसमाथि छलफल गरिने समिति सभापति खड्काले जानकारी दिइन्।