शुक्रबार, असोज ९, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

 |  शुक्रबार, असोज ९, २०८३

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज ९, २०८३

काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

काठमाडौं- अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन्।

काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि ट्राफिक प्रहरीले नदी तटीय क्षेत्र तथा करिडोरमा निगरानी बढाएको छ। 

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि नदी किनार तथा करिडोर क्षेत्रमा रोकिएका सवारीसाधन हटाउन अनुरोध गरिएको र आवश्यकताअनुसार हटाउने काम भइरहेको बताएका छन्। 

उनले ट्राफिक प्रहरीलगायत सुरक्षा निकायले संयुक्त रूपमा नदी तटीय क्षेत्रमा निगरानी गरिरहेको बताए।

उनले भने, ‘काठमाडौं उपत्यकाको नदीहरूमा पानीको बहाव बढिरहेको अवस्था छ। त्यसले गर्दा अहिले हाम्रो सुरक्षाकर्मीहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत सबैले संयुक्त रूपमा नै यो नदीको तटीय क्षेत्रहरूमा निगरानी बढाएका छौं। सैसँगसँगै रोकिएका सवारी साधनलाई पनि हामीले हटाउनलाई अनुरोध गरेका छौं, हटाएका छौं।’

विशेषगरी बागमती र विष्णुमती करिडोरमा सावधानी अपनाउन तथा सम्भव भएसम्म करिडोर सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको उनले बताए। यससम्बन्धी सूचना मेट्रो ट्राफिक एफएममार्फत समेत निरन्तर सम्प्रेषण भइरहेको उनले जानकारी दिए। 

उनले भने, ‘त्यस्तैगरी विशेषगरी यो बागमती करिडोर, विष्णुमती करिडोरलगायत नदीका करिडोर क्षेत्रमा सकेसम्म बाटो युज नगर्नलाई हामीले सबै सर्वसाधारण नागरिकलाई अनुरोध गरेका छौं। मेट्रो ट्राफिक एफएमबाट पनि हामीले सूचना जारी, सम्प्रेषणहरू गरिराखेका छौं।’

एसपी सुवेदीका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र यातायात व्यवस्थापनमा ठूलो समस्या देखिएको छैन। सवारीसाधन सामान्य रूपमा सञ्चालन भइरहेका छन्। तर, उपत्यकाबाहिर जाने केही प्रमुख सडकखण्डमा अवरोध रहेकाले ती रुटमा जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको छ।

विशेषगरी बीपी राजमार्ग, कान्ति लोकपथ, दक्षिणकाली–सिस्नेरी सडकखण्ड, पृथ्वी राजमार्गलगायत सडकमा अवरोध रहेकाले ती मार्गबाट सवारी सञ्चालन हुन नसकेको उनले बताए। 

मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं आउने सवारीसाधन भने सञ्चालनमा रहेका उनले बताए। 

अत्यावश्यक सामग्री बोकेका सवारीसाधन तथा बाटोमा रोकिएका यात्रु र सवारीसाधनको व्यवस्थापनमा प्रहरीले ध्यान दिइरहेको उनले बताए।

त्यस्तै टोखा–छहरे हुँदै नुवाकोट जाने तथा साँखुतर्फ जाने सवारीसाधन पनि सञ्चालनमा रहेको उनले बताए। 

उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढे पनि विशेषगरी च्यासल र थापाथली क्षेत्रमा बहाव केही बढेको भन्दै प्रहरीले पैदलयात्रीलाई समेत उक्त सडक प्रयोग नगर्न आग्रह गरेको उनले जानकारी दिए।

प्रकाशित: Sep 25, 2026| 12:16 शुक्रबार, असोज ९, २०८३
प्रतिक्रिया दिनुहोस्