काठमाडौं- कैलालीको टिकापुरमा कर्णाली नदीको कटान रोक्न तटबन्धको काम सुरु भएको छ।
अविरल वर्षापछि कर्णाली नदीको वहाब बढेर बस्तीमा पस्दा टिकापुर नगरपालिका वडा नम्बर ४ स्थित टिकापुर पार्क क्षेत्रको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो।
कर्णालीको कटानले टिकापुर पार्क नै जोखिममा परेपछि बुधबार कैलालीबाट प्रतिनिधित्व गर्ने रास्वपा सांसदहरु कोमल ज्ञवाली र करिश्मा कठरियाले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका थिए।
सांसदहरुले जोखिमबारे जानकारी गराएपछि मन्त्री श्रेष्ठले सिँचाइ विभागका महानिर्देशक दिनेश रजौरियालाई तत्कालै फोन गरेर तटबन्धको काम अगाडि बढाउन निर्देशन दिएका थिए।
सांसद कठरियाकाअनुसार मन्त्री श्रेष्ठले निर्देशन दिएको एक घण्टामै तटबन्धनको काम सुरु भएको हो।
'मन्त्रीज्यूको निर्देशनपछि तत्कालै कटान नियन्त्रण गर्न र जोखिम न्यूनीकरणका लागि तटबन्धको काम सुरु भएको छ,' सांसद कठरियाले भनिन्, 'मन्त्रीज्यूको तत्कालको समन्वय र पहलका लागि धन्यवाद।'
सांसद कठरियाकाअनुसार कर्णाली नदीमा मंगलबार पानीको वहाब बढ्दा बाढीले टिकापुर पार्क छेउको भैरव मन्दिर आसपास कटान सुरु गरेको थियो। तटबन्धको काम सुरु भएसँगै अहिले कटान नियन्त्रणमा छ।