काठमाडौं। चालू आर्थिक वर्ष २०८३/०८४ को दुई महिनामा चार खर्बभन्दा बढीको वस्तु आयात भएको छ। चालू आवको साउन र भदौ मसान्तसम्म उक्त रकम बराबराको वस्तु आयात भएको थियो।
भन्सार विभागको वैदेशिक व्यापार तथ्यांक अनुसार यस अवधिमा चार खर्ब एक अर्ब ५१ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ। यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३१.५८ प्रतिशतले बढी हो। गत आर्थिक वर्ष २०८२/०८३ को दुई महिनामा तीन खर्ब पाँच अर्ब १५ करोड रुपैयाँ बराबरको मालवस्तु आयात भएको थियो।
समीक्षा अवधिमा निर्यात ६१.८६ प्रतिशतले बढ्दै ७६ अर्ब ५८ करोड ७५ लाख रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ। अघिल्लो वर्ष भदौ मसान्तसम्म ४७ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ बराबरको वस्तु नेपालबाट निर्यात भएको थियो।
आयात र निर्यातको तुलना गर्दा आर्थिक वर्षको पहिलो दुई महिनामा नेपालले वैदेशिक व्यापारमा तीन खर्ब २४ अर्ब ९३ करोड रुपैयाँ घाटा व्यहोरेको विभागले जनाएको छ। यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा २६.०२ प्रतिशतले घाटा बढेको हो। आयात–निर्यातको अनुपात ५.२४ प्रतिशत रहेको छ भने, आयात–निर्यातको हिस्सा ८३.९८ प्रतिशत रहेको छ।