काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न ६ वटा लघुवित्त वित्तीय संस्थामाथि कारबाही गरेको छ। राष्ट्र बैंकले आर्थिक वर्ष २०८२÷०८३ को चौथो त्रैमासमा नियामकीय व्यवस्था उल्लङ्घन गरेको भन्दै ती संस्थामाथि शीघ्र सुधारात्मक कारबाही तथा नगद जरिवाना गरेको हो।
राष्ट्र बैंकका अनुसार फरवार्ड लघुवित्तलाई वैशाख ८ गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ। संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.१२ प्रतिशत मात्र कायम गरेको पाइएपछि बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारबाहीसम्बन्धी विनियमावली, २०७४ को विनियम ३ (क) बमोजिम कारबाही गरिएको हो।
त्यसैगरी, धौलागिरी लघुवित्तलाई वैशाख १० गते शीघ्र सुधारात्मक कारबाही गरिएको छ। संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३८ प्रतिशत मात्र कायम गरेको पाइएपछि राष्ट्र बैंकले कारबाही गरेको हो।
मातृभूमि लघुवित्तलाई वैशाख २९ गते कारबाही गरिएको छ। संस्थाले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ४.०८ प्रतिशत मात्र कायम गरेको पाइएपछि शीघ्र सुधारात्मक कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ। त्यस्तै, एनआईसी लघुवित्तले २०८२ असार मसान्तमा न्यूनतम पुँजीकोष अनुपात ६.३९ प्रतिशत मात्र कायम गरेको पाइएपछि असार १२ गते शीघ्र सुधारात्मक कारबाहीमा परेको छ।
राष्ट्र बैंकले वीन नेपाल लघुवित्तलाई पनि कारबाही गरेको छ। संस्थाले २०८२ चैत महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि २०८३ असार २३ गते प्रथम पटकका लागि ५८.३८ रुपैयाँ नगद जरिवाना लगाइएको राष्ट्र बैंकले जनाएको छ। सञ्जीवनी लघुवित्तमाथि भने अनिवार्य नगद मौज्दात कायम नगरेको भन्दै पटकपटक जरिवाना गरिएको छ।
संस्थाले २०८२ चैत तथा २०८३ वैशाख, जेठ र असार महिनामा अनिवार्य नगद मौज्दात कायम नगरेपछि क्रमशः ७१३ रुपैयाँ, एक हजार ६७ रुपैयाँ, एक हजार ४१२ रुपैयाँ र एक हजार ४१० रुपैयाँ जरिवाना गरिएको राष्ट्र बैंकले जनाएको छ।