काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले विचार मिल्ने कम्युनिस्ट तथा देशभक्त गणतन्त्रवादी दल र समूहसँग पार्टी एकताका लागि पहल गर्न तीन सदस्यीय वार्ता समिति गठन गरेको छ।
नेकपाको केन्द्रीय कार्य संयोजन समितिको बैठकले देव गुरुङ, प्रकाश ज्वाला र गंगानारायण श्रेष्ठ रहेको वार्ता समिति गठन गरेको हो। समितिलाई एउटै कम्युनिस्ट पार्टी निर्माणका लागि सम्बन्धित पक्षसँग वार्ता तथा एकताको पहल गर्ने जिम्मेवारी दिइएको छ।
पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार विचार मिल्ने सबै पक्षसँग एकताका लागि वार्ता गरिनेछ। संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षता तथा माधवकुमार नेपालको सञ्चालनमा बसेको बैठकले पार्टी र जनवर्गीय संगठनको समायोजन तथा सदस्यता नवीकरण, संगठन सुदृढीकरण अभियान र पार्टीमा अन्य समूहलाई समाहित गर्ने विषयलाई पनि एजेन्डामा राखेको छ।
बैठकले महाधिवेशन तथा अधिवेशन, सचिवालय र कार्यसमिति बैठक, वर्तमान राष्ट्रिय परिस्थिति तथा पार्टीको दायित्वबारे छलफल गर्ने तय गरेको छ। त्यस्तै बैठकमा भोटेकोशी बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माण अभियानको विषयमा पनि छलफल हुने प्रवक्ता ज्वालाले जानकारी दिएका छन्।