काठमाडौं । नेपाल बमिा प्राधिकरणमा चालू आर्थिक वर्ष २०८३र०८४ को पहिलो महिना अर्थात् साउन महिनामै बिमा सम्बन्धी तीन सय बढी उजुरी दर्ता भएका छन्। चालू आर्थिकको साउन महिनामा बीमा सम्बन्धी तीन सय ३३ वटा उजुरी दर्ता भएको छ।
प्राधिकरणले सार्वजनिक गरेको चालू आवको साउन मसान्तसम्मको तथ्यांक अनुसार दर्ता भएका उजुरीमध्ये केन्द्रीय कार्यालयमा दुई सय ७२ वटा र प्रदेश कार्यालयमा ६१ वटा उजुरी दर्ता भएका छन्। यसले बिमासम्बन्धी समस्या तथा गुनासो लिएर सेवाग्राहीहरू प्राधिकरणसम्म पुग्ने क्रम जारी रहेको देखाउँछ। तथ्यांकअनुसार साउन मसान्तसम्म दर्ता भएका उजुरीमध्ये १५ वटा उजुरी फैसला भएका छन्।
यसैगरी, ६ वटा उजुरी सहमतिमार्फत समाधान भएका छन्। फैसला र सहमतिसहित यस अवधिमा जम्मा २१ वटा उजुरी फर्छ्योट भएका छन्। यस्तै, गत आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका तीन सय ९४ वटा उजुरी पनि चालू आर्थिकको सुरुवातमा बाँकी रहेका थिए।
गत आर्थिक वर्ष बाँकी रहेका उजुरी र चालू आर्थिक वर्षमा दर्ता भएका उजुरीलाई समेट्दा प्राधिकरणमा कुल ६ सय वटा उजुरी कायम भएका थिए। प्राधिकरणको तथ्यांकले श्रावण मसान्तसम्म तीन सय ७२ वटा उजुरी बाँकी रहेको देखाएको छ। ती उजुरीमध्ये केही फैसला तथा सहमतिमार्फत टुङ्ग्याउने प्रक्रियामा रहेका छन् भने अन्य उजुरीहरू विचाराधीन अवस्थामा छन्।
बिमा सेवा लिँदा कम्पनी र बीमितबीच उत्पन्न हुने विभिन्न विषयमा सेवाग्राहीले प्राधिकरणमा उजुरी दर्ता गर्न सक्ने व्यवस्था छ। दाबी भुक्तानी, बिमा सम्झौता तथा अन्य बिमा सेवासँग सम्बन्धित गुनासोहरू समाधानका लागि प्राधिकरणले उजुरी व्यवस्थापन गर्दै आएको छ।
प्राधिकरणको तथ्यांकले चालु आर्थिक वर्षको पहिलो महिनामै तीन सय ३३ उजुरी दर्ता हुनु र २१ वटा फर्छ्योट हुनुले बिमा क्षेत्रसँग सम्बन्धित गुनासो व्यवस्थापन तथा समाधानको विषयलाई निरन्तर प्राथमिकतामा राख्नुपर्ने देखाएको छ। आगामी महिनामा बाँकी उजुरी फर्छ्योट गर्ने र नयाँ आउने उजुरीलाई समयमै सम्बोधन गर्ने चुनौती प्राधिकरणसामु रहनेछ।