काठमाडौं- हिमालयन जनरल इन्स्योरेन्स कम्पनी र एभरेस्ट इन्स्योरेन्स कम्पनीबीच मर्जर भएर आइतबारबाट औपचारिक रुपमा एकीकृत कारोबार सुरु गरेको छ। आइतवार काठमाडौंमा एक कार्यक्रमबीच नेपाली बीमाको इतिहासमा पहिलोपटक दुई वटा बीमा कम्पनी मर्जर भएर एकीकृत कारोबार सुरु गरेका हुन्। दुवै कम्पनी मर्ज भएर हिमालयन एभरेस्ट इन्स्योरेन्स बनेको छ।
बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले औपचारिक रुपमा एकीकृत कारोबारको शुभारम्भ गरेका थिए। एकीकृत कारोबारको शुभारम्भ कार्यक्रममा बोल्दै बीमा समितिका अध्यक्ष सिलवालले बीमा कम्पनीमा अस्वस्थ प्रतिस्पर्धा तथा अहिले कामय रहेको बीमा कम्पनीको पुँजीले बढ्दै गएको दायित्व बहन गर्न नसक्ने भएकाले बीमा कम्पनीको मर्जर जरुरी भएको बताएका थिए।
पछिल्लो समय बीमा कम्पनीहरुले दुई रुपैयाँमा बीमा गर्ने प्रवृत्ति बढेको बताएका थिए। नेपालमा कतिवटा बीमा कम्पनीहरु चाहिन्छ भनेर हालसम्म अध्ययन नै नभएको भन्दै अब बीमा समितिले अध्ययन गर्ने जानकारी उनले दिए। बीमा कम्पनीहरुले अब नयाँ पोलिसीका साथ सहर केन्द्रित भन्दा जनता र ग्रामीण क्षेत्रमुखी भएर लाग्नुपर्ने बताएका थिए।
‘हाम्रो सरकारले बीमा बुझेन। बीमाका विषयमा सरकारले कुरा बुझेको छैन। जनताले के कुरा बुझ्छन्। सरकारको कुनै सम्पत्ति र सरकार आफ्नै बीमा गरेको छैन। सरकारले गर्ने कुनैपनि लगानीको बीमा छैन। प्रभावकारी बीमा भएन। बीमा यस्तो हो रे भन्न मिल्छ!,' अध्यक्ष सिलवाल भन्छन्, 'यो विषयमा सरकारलाई धेरै फलो गरेपछि यो वर्षको बजेटमा प्राप्त मात्रामा बीमाको विषयमा समावेश भएको छ। विस्तार सरकारको पनि बीमाप्रति विस्वास बढ्दै गएको छ। सबै क्षेत्रमा राष्ट्रिय नीति छ तर बीमाको थिएन। अहिले हामीले ड्राफ्ट गरेर दिएका छौं। अब राष्ट्रिय बीमा नीतिले सबै सरकारलाई समेत समेट्ने छ। अहिले प्रतिनिधि सभामा बीमा ऐन पेस भएको छ।’
कार्यक्रममा बोल्दै हिमालयन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर साहले बीमा कम्पनीहरुले पुँजी वृद्धि गरेर मर्जरमा जाँदा बीमालाई सुधार र बीमाको उचाई बढाउने दाबी गरे।
हिमालयन र एभरेस्ट दुवै कम्पनीको गत असार २ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी सम्पूर्ण प्रक्रिया पारित भएका थिए। बीमा समितिले यी दुवै कम्पनीको मर्जरलाई गत असार ८ गते अन्तिम स्वीकृति प्रदान गरेको थियो। दुई संस्थाको मर्जर हुने अन्तिम दिनसम्म कायम रहने सम्पूर्ण सम्पति र दायित्व नयाँ बन्ने संस्था हिमालयन एभरेस्ट इन्स्योरेन्सले स्वीकार्ने गरी गत असार २३ गते स्वीकृति प्राप्त भएको थियो। दुवै बीमा कम्पनीबीच गत वैशाख २२ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो।
मर्जरपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ४२ करोड ८१ लाख रुपैयाँ पुगेको छ।