काठमाडौं- देशभर जारी अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण विभिन्न प्रदेशका प्रमुख राजमार्ग तथा सडकखण्डहरू प्रभावित भएका छन्।
नेपाल प्रहरीले सार्वजनिक गरेको विवरणअनुसार विभिन्न स्थानमा पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केही सडकखण्डमा जोखिमलाई मध्यनजर गर्दै रात्रिकालीन सवारी आवागमनमा समेत रोक लगाइएको छ।
ललितपुरको कान्तिलोकपथअन्तर्गत बागमती गाउँपालिका–३ भट्टेडाँडाको पाण्डुर र टाकुर्चे तथा गोदावरी नगरपालिका–६ बिखेन्धारामा पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
जिल्ला खोटाङ अन्र्तगत मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ। याङवरक गाउपालीका २ दोभाने खोला स्थित मध्य पहाडी लोकमार्ग सडक खण्ड पुर्न रुपमा अवरुद्ध भएको छ।
अरनिको राजमार्गअन्तर्गत धुलिखेल नगरपालिका–८ पकुचामा समेत पहिरोका कारण अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ।
यस्तौ, धादिङको पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिकाको कृष्णभीर, टिङराङखानी तथा जोगिमारा–मझिमटार मोडमा पहिरो खसेपछि अवरुद्ध भएको सडक खण्ड एकतर्फी सुचारु भएको छ।
चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा बाढी तथा पहिरोको सम्भावित जोखिमलाई मध्यनजर गर्दै अर्को सूचना जारी नभएसम्म सवारी आवागमनमा पूर्ण रोक लगाइएको छ।
पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ धारापानीमा भने साना सवारी तथा मोटरसाइकललाई मात्र आवागमन गर्न दिइएको छ।
सोलुखुम्बु जिल्ला भित्र पर्ने सिद्धिचरण लोकमार्ग लगायत अन्य भित्री सडकहरू बाढी र पहिरोको उच्च जोखिमका कारण बन्द गरिएको छ। ८ गते साँझ ६ बजेदेखि आगामी १२ गतेसम्म भारी वर्षाको पूर्वानुमान गरिएकाले बेलुकी ६ बजेदेखि बिहान ६ बजेसम्म अत्यावश्यक सवारी साधन र पैदल यात्री बाहेक अन्य सम्पूर्ण सवारी साधन र मानिसहरूको रात्रिकालीन आवागमनमा पूर्ण रूपमा रोक लगाइएको छ।
भोजपुर जिल्ला अन्तर्गत पर्ने मध्य पहाडी लोकमार्ग लगायत सम्पूर्ण भित्री सडकहरू सम्भावित क्षति रोकथामका लागि बन्द गरिएको छ। ८ गते दिउँसो १६ः४० बजेदेखि अर्को सूचना जारी नभएसम्म बेलुका १९ बजेदेखि बिहान ५ बजेसम्मका लागि अत्यावश्यक सवारी साधन (एम्बुलेन्स, दमकल, खाद्यन्न बोकेका) को हकमा नजिकको प्रहरी इकाईसँग समन्वय गरी सञ्चालन गर्न सकिने निर्णय गरिएको छ।
इलाम जिल्लाका सम्पूर्ण सडकहरू सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ। मेची राजमार्ग, मेची कोरिडोर लगायतका सडकहरूमा ८ गते बेलुका १७ बजेदेखि ११ गतेसम्म बेलुका १९ बजेदेखि बिहान ५ बजेसम्म रातिको समयमा सवारी आवागमनमा रोक लगाइएको छ।
खोटाङ जिल्ला अन्तर्गत मध्य पहाडी लोकमार्ग सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ। ८ गते देखि ९ गते सम्म बेलुका १९ बजे देखि बिहान ५ बजे सम्म मध्य पहाडी लोकमार्गमा सवारी आवागमनमा रोक लगाइएको छ। यसैगरी, हलेसी तुवाचुङ नपा १ कटुवा स्थित मध्य पहाडी सडक खण्डमा १० गते बिहान ०९ः१५ बजे पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
उदयपुर जिल्लाको कटारी—घुर्मी (सिद्धिचरण लोकमाग)सम्भावित बाढी र पहिरोको जोखिमका कारण बन्द गरिएको छ। ८ गते देखि १२ गते सम्म बेलुका १७ बजे देखि बिहान ५ बजे सम्म सो सडक खण्डमा सवारी आवागमनमा रोक लगाइएको छ।
पाँचथर जिल्लाको तुम्वेवा गा.पा. २ नावाखोलामा बाढी आएका कारण तमोर—कोरिडोर सडक खण्ड ८ गते बिहान ८ः५ बजेदेखि पूर्ण रूपमा अवरुद्ध भएको छ। यसैगरी, याङवरक गा.पा. २ दोभान खोला स्थित मध्य पहाडी लोकमार्गमा ९ गते बिहान ०८ः३० बजे पहिरो गएका कारण सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
