पर्वत । नेपाली कांग्रेसका युवा नेता राजीव लामिछानेले पार्टीको महाधिवेशन प्रतिनिधिमा खस आर्यतर्फबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। लामो समयदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय लामिछानेले पार्टी संगठनलाई थप बलियो र समयानुकूल बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
व्यवस्थापनमा स्नातकोत्तर तथा कानुनमा स्नातक गरेका लामिछानेले करिब डेढ दशकदेखि नेपाली कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएको बताएका छन्। यस अवधिमा पार्टीको कुनै औपचारिक पदमा नरहे पनि संगठन निर्माण, सामाजिक सेवा तथा विभिन्न अभियानमा निरन्तर सक्रिय रहेको उनको भनाइ छ।
लामिछानेले पर्वतका कांग्रेस नेता–कार्यकर्ता तथा शुभेच्छुकसँग निरन्तर सम्पर्क र सहकार्य गर्दै पार्टी संगठनका गतिविधिमा योगदान पुर्याउँदै आएको बताएका छन्। बदलिँदो राजनीतिक परिस्थिति र नयाँ पुस्ताको अपेक्षाअनुसार पार्टीलाई अघि बढाउन संगठनभित्र जिम्मेवारी, सक्रियता र नयाँ सोच आवश्यक रहेको उनको धारणा छ।
महाधिवेशन प्रतिनिधि छनोटमा सहभागी हुने क्षेत्रीय प्रतिनिधिहरूलाई सम्बोधन गर्दै उनले पार्टीलाई थप बलियो बनाउन समयअनुसार परिवर्तन र विवेकपूर्ण निर्णय आवश्यक रहेको बताएका छन्। उनले व्यक्तिगत भावना वा सम्बन्धभन्दा पार्टी र समाजको वर्तमान आवश्यकता हेरेर निर्णय गर्न प्रतिनिधिहरूसँग आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत आफ्नो उम्मेदवारीबारे धारणा सार्वजनिक गर्दै लामिछानेले भनेका छन्, ‘जहाँ छनोटको सुविधा छ, त्यहाँ विवेकको उत्तिकै आवश्यकता हुन्छ।’
उनले क्षेत्रीय प्रतिनिधिहरूको लामो अनुभव, संघर्ष र सक्रियताको उचित सम्मान हुनुपर्ने पनि बताएका छन्। प्रतिनिधिहरूले गरेको निर्णयले पार्टीको आगामी नेतृत्व र संगठनको दिशामा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले विवेकपूर्ण छनोट आवश्यक रहेको उनको भनाइ छ।
लामिछानेले महाधिवेशन प्रतिनिधिमा निर्वाचित हुने अवसर पाए पार्टीका कार्यकर्ता र आम नागरिकका आवाजलाई पार्टीभित्र प्रभावकारी रूपमा उठाउने तथा संगठनलाई थप सुदृढ बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्। पार्टीमा लामो समयदेखि योगदान गर्दै आएका कार्यकर्ताको अनुभव र नयाँ पुस्ताको ऊर्जा तथा सोचलाई जोडेर अघि बढ्नुपर्ने उनको धारणा छ। पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई बलियो बनाउँदै जनतासँगको सम्बन्ध थप मजबुत बनाउन आफूले भूमिका खेल्ने उनले बताएका छन्।
पर्वतमा पार्टी संगठनलाई थप चलायमान र बलियो बनाउने उद्देश्यसहित आफू महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा उत्रिएको उल्लेख गर्दै लामिछानेले क्षेत्रीय प्रतिनिधिहरूबाट साथ र विश्वासको अपेक्षा गरेका छन्।