शनिबार, जेठ ५, २०८१

आयात फुकुवाको हारगुहारका बीच नाडा अटो शोको तयारी

नाडा अटोमोबाइल्स एशोसिएसनले ‘नाडा अटो एक्स्पो-२०२२’ भदौ ७ गते देखि १२ गतेसम्म गर्दैछ। आयोजक नाडा तथा सहभागी हुने कम्पनीहरु यतिबेला एक्स्पोको तयारीमा जुटेका छन्। आयात प्रतिबन्ध हटाउन र नगद मार्जिनको व्यवस्था सुल्झाउन दौडधुप चलेको छ।
 |  सोमबार, असार २७, २०७९

भीमा पन्थी

भीमा पन्थी

सोमबार, असार २७, २०७९

काठमाडौं- नाडा अटोमोबाइल्स एशोसिएसनले ‘नाडा अटो एक्स्पो-२०२२’ भदौ ७ गते देखि १२ गतेसम्म गर्दैछ। आयोजक नाडा तथा सहभागी हुने कम्पनीहरु यतिबेला एक्स्पोको तयारीमा जुटेका छन्। आयात प्रतिबन्ध हटाउन र नगद मार्जिनको व्यवस्था सुल्झाउन दौडधुप चलेको छ। 

triton college

मौद्रिक नीति साउनको पहिलो साता आउँदै छ। आयातमा गरिएको प्रतिबन्धको समयावधि असार मसान्तदेखि नै सकिँदै छ। नाडा अटो सो पनि मौद्रिक नीति आएको ठ्याक्कै एक महिनामा हुने गरी तय भएको छ। कोभिडका कारण विगतका वर्षहरुमा हुन नसकेको अटो सो दुई वर्षपछि हुन लागेको हो। 

नाडाका अध्यक्ष ध्रुव थापाको टोली मौद्रिक नीतिको लागि सुझाव लिएर कहिले राष्ट्र बैंक त कहिले माग तथा अनुरोध गर्न विभिन्‍न सरकारी निकाय धाइरहेका छन्। विदेशी मुद्रा सञ्‍चितिलाई असर नपर्ने विकल्प सुझाउँदै थापाको टोली प्रधानमन्त्री कार्यालयमा आयात खुलाउन अनुरोध गरिरहेको छ। दुई वर्षपछि अटो शो हुन लागेको भन्दै नाडा प्रतिनिधिहरु गुहारकै शैलीमा अर्थ मन्त्रालय, प्रधानमन्त्री कार्यालय, आपुर्ति मन्त्रालय, भन्सार विभाग र राष्ट्र बैंक धाइरहेका छन्। 

गत मंसिरमा नाडा अध्यक्षमा निर्वाचित थापाले ‘नाडा अटो शो’ लाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका थिए। अटो शोलाई अन्तराष्ट्रिय सम्बन्ध विस्तार र आन्तरिक बजार प्रबर्द्धनको लागि प्रदेशमा समेत थालनी गर्ने उनको प्रतिबद्धता थियो। मुख्यगरी निरन्तर हुँदै आएको शो ‘प्याटेन्ट’ दर्ता गर्ने र अन्तराष्ट्रिय संघसंस्थासँग सहकार्य र समन्वयन गरेर बृहत अटो शो आयोजना गर्ने उनका दुई स्पष्ट प्रतिबद्धता छन्। 

सवारीसाधनलाई अत्यावश्यक वस्तुको सूचीमा राख्‍न पहल गर्ने उनको प्रतिबद्धता छ। तर, नाडा अध्यक्षको कार्यभार सम्हालेको महिना नबित्दै विलासिताका वस्तु भन्दै राष्ट्र बैंकले गाडी आयातमा कडाई गर्‍यो। सरकारो यो निर्णय थापाको लागि पहिलो गासमा नै ढुंगा थियो। थापाले पद सम्हालेको ९ दिनमा अर्थात पुस ५ गते पहिलो पटक राष्ट्र बैंकले गाडी आयातमा कडाइ गरेको हो। 

corrent noodles
Metro Mart

उम्मेदवारी प्रतिबद्धतामा विज्ञ टिम निर्माण गरेर अटो क्षेत्रका समस्या र समाधानको उपायसहित राज्यसँग सार्थक संवाद गर्ने प्रतिबद्धता गरेका थापाले लामो समयसम्म अर्थमन्त्रीसँग भेटघाट र वार्ता गर्न सकेका थिएनन्। जबकी पहिला नाडाको अध्यक्ष थापा चयन भएको केही दिनमा नै अर्थमन्त्रालयसँग भेटघाट र वार्ता हुँदै आएको थियो। जसले उनलाई अर्को झण्डा दियो। उनको सरकारसँग लबिङ गर्नसक्ने क्षमतामाथि नै पश्‍न उठ्यो। यद्यपि लामो कोशिसपछि अर्थमन्त्रालय लगायतका सरकारी निकायसँग वार्ता गर्न भने सफल भए। 

वार्ताकै क्रममा रहे पनि सरकारले वैशाख दोस्रो साता ठूला गाडी तथा मोटरसाइकलको आयातमा प्रतिबन्ध लगायो। प्रतिबन्धका बाबजुद्‌ पनि नाडाले  जेठमा पत्रकार सम्मेलन गरी भदौमा अटो शो गर्ने जानकारी दिएको थियो। 

मुलुकको आर्थिक अवस्था हेर्दा अझै पनि आयात खुकुलो बनाउने तथा प्रतिबन्ध हट्ने संकेत देखिँदैन। राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति कसिलो आउने अभिव्यक्ति दिँदै आएका छन्। सरकार पनि गाडी आयातमा लगाएको प्रतिबन्धलाई केही समय निरन्तरता दिने मनसायमा छ। पछिल्लो समय नाडाको सक्रियता र जेठ मसान्तमा आउँदा विदेशी विनिमय सञ्‍चितिमा केही सुधार देखिएसँगै अपेक्षा गर्न भने सकिन्छ।

सरकारले आयात प्रतिबन्ध खुलाए पनि भदौ ७ गतेसम्म गाडी आउन मुस्किल नै देखिन्छ। भारतबाट आउने गाडी नेपाल आइपुगे पनि तेस्रो मुलुबाट आउने गाडीको लागि भने कठिन हुन्छ। 

गाडी प्रतिबन्धको व्यवस्था

सरकारले डिजेल र पेट्रोलका गाडी आयातमा रोक लगाएको छ। विद्युतीय र २५० सीसीसम्मका मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध छैन। एम्बुलेन्स र ढुवानीका सवारी साधनमा पनि रोक लगाएको छैन। 

विशेषगरी हार्मोनिक कोड ८७०३ बाट सुरु हुने हजार सीसीभन्दा माथिका जिप कार र भ्यानको आयातमा पूर्ण प्रतिबन्ध लगाइएको हो। मोटरसाइकलतर्फ २५० सीसीभन्दा माथिकालाई प्रतिबन्ध लगाइएको हो। 

तीन वर्गको हार्मोनिक कोडमा आउने मोटरसाइकल बन्द गरिएको छ। 

यी हुन् अटो शोमार्फत ग्राहकले पर्खिएका स्कुटी-बाइक/गाडीहरु

नाडा अटो शो २०२२ ले विषेशगरी विद्युतीय गाडी र मोटरसाइकल प्रभावित हुने देखिन्छ। बढ्दो इन्धनको मूल्य र नेपाली बिजुलीको उपलब्धताले विद्युतीय सवारीलाई आकर्षण गर्ने आंकलन गर्न सकिन्छ। तेस्रो मुलकबाट गाडी आयात गर्न केही अप्ठारो छ। मोटरसाइकल तथा स्कुटी भने प्रतिबन्ध लगाइएको सीसीको सीमाबाहिर रहेर आयात गर्न सकिन्छ। नेपाली बजारमा दुईपांग्रे सवारी साधनको अधिकतम हिस्सा भारतीय ब्राण्डको रहेको हुँदा कम समयमा पनि आयात गर्न सकिन्छ। 

चारपांग्रेतर्फ धेरै गाडी आयातकर्ताहरु अझै अन्योलमा नै छन्। तेस्रो मुलुकबाट आयात हुने एमजी लगायतका केही गाडी आयातकर्ताहरुले मौन्द्रिक नीति र बन्देज फुकुवाको निर्णय कुरेर बसेका छन्। भारतबाट आयात हुने र निर्धारितभन्दा कम सीसीका गाडी आयात गर्ने तयारीमा रहेका कम्पनीहरुले भने तयारी थालिसकेका छन्। 


 


टाटा ब्राण्डको आधिकारिक गाडी आयातकर्ता सिपद्रीले ‘टाटा पन्च’ ल्याउने तयारी गरेको छ। टाटा पन्च १ हजार १९९ सीसीको १.२ लिटर इन्जीन क्षमतायुक्त रहेको छ। नेपाली बजारमा यसको मुल्य ४० लाखसम्म पर्न आउने छ। यो गाडीको आयात अहिले बन्द छ। आयात खुला गरेको खण्डमा भारतीय ब्राण्ड भएको कारण छोटो समयमा पनि नेपाल भित्र्याउन सकिन्छ। 

फ्रेन्च कम्पनी सिट्रोनले भारतमा उत्पादन गरेको पहिलो सब फोर मिटर एसयूभी सीथ्री पनि नाडा अटो शोमा नेपाल भित्र्याउन लागिएको छ। सांग्रिला मोटर्सले नाडा अटो शोमा यो गाडी ल्याएर बिक्रीको सुरुवात गर्ने जनाएको छ। 

सि थ्रि १ हजार १९९ सीसीकै १.२ लिटर नेचुरल्ली एस्पीरेटेड र १.२ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिनयुक्त रहेको छ। यसको नेपाली बजारमा मूल्य ४० लाखसम्म नै रहने छ। यो टाटा पन्चसँग प्रतिस्पर्धा गर्ने देखिन्छ। 

चिनियाँ ब्राण्ड बीवाइडीको आधिकारीक वितरक साइमेक्स इंकले ‘अटो थ्री’ भित्राउन लागेको छ। यो विद्युतीय गाडी हो। यसका लागि आयात अहिले पनि खुला नै छ। यसको मुल्य नेपाली बजारमा ८५ देखि ९० लाख रुपैयाँ पर्नेछ। 

एटो थ्रीमा १५० किलोवाट क्षमताको मोटर र ६४ किलोवाट आवर क्षमताको ब्लेड ब्याट्री रहेको छ। एक पटकको फुल चार्जमा सहजै ४२० किलोमिटर गुडाउन सकिने छ। 

नयाँ आर्थिक वर्षबाट इभिका गाडीमा करदर फेरबदल भएको छ। फेरबदल भएको कर दर यो गाडीमा पनि लागु हुन्छ। 

भारतमा उत्पादन भएको एक्सयुभि ७०० पनि नेपाली बजारमा आउँदै छ। नाडा अटो शोमा अग्नी इनकर्पोरेट प्रालिले सार्वजनीक गर्ने तयारी गरेको छ। अग्‍नी ग्रुपले नेपालमा महिन्द्राको गाडी बिक्रि वितरण गर्दै आएको छ। भारतपछि महिन्द्राले नेपाल र साउथ अफ्रिकामा एक्सयूभी ७०० विक्री सुरु गर्न लागेको हो। 

यो गाडी १ हजार ९९७ र १ हजार १९८ सीसीमा रहेको छ। भारतबाट आउने हुँदा आयात खोल्दासाथ नेपाल ल्याउन सकिन्छ।

दुईपाङ्ग्रेतर्फ एमाहा एरोक्स, सुझुकि एभेनीलगायतका स्कुटर तथा सोही ब्राण्डका मोटरसाइकल नेपाली बजारमा ग्राहकको पर्खाइमा छन्। 

यीमध्ये केही ब्राण्डका स्कुटर तथा मोटरसाइकलहरु नेपाली बजारमा ल्याउने तयारी भएको छ। भारतीय बजारमा सार्वजनिक भएको १५५ सीसीको यामाहा एरोक्स स्कुटर अटो शोमा ल्याउने तयारी गरिएको छ। यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी एमएडब्लू इन्टरप्राइजेजले नाडा अटो शोमा सार्वजनिक गर्ने तयारी थालेको हो। कम्पनीका सीइओ राजु क्षेत्रीका अनुसार यो प्रिमियम सेग्मेन्टको स्कुटर अटो शोमा सार्वजनिक हुनेछ।

सुजुकीको एभेनीस १२५ सीसीको स्कुटर पनि नाडा अटोशोमा सार्वजनिक गर्ने तयारी भएको छ। कम्पनीका अनुसार यो नाडा अटो शोभन्दा पहिलै बजारमा आउन सक्ने कम्पनीले जनाएको छ। कम्पनीहरुले आधिकारीक घोषणा नगरे पनि बजाज र हिरोका थप दुई आकर्षण मोडेल नेपाली बजारमा आउने तयारीमा छन्। जसमध्ये सम्भावित दुई मोडेल बजाजको पल्सर-२५० अटो शोका लागि नेपाली बजारमा आउन सक्ने सम्भावना छ। 

यसमा २४९.०७ सीसी क्षमताको इन्जिन रहेको छ। बजाज मोटरसाइकलको लागि नेपालको आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलास चन्द एण्ड कम्पनीले अटो शोमा यो मोटरसाइकल प्रदर्शनी गर्ने तयारी गरेको स्रोतल जनाएको छ। कम्पनीले आधिकारिक रुपमा यो बाइक ल्याउन लागेको जानकारी भने दिएको छैन। यसको मूल्य भारतिय बजारमा भारु १ लाख ४५ हजार बराबर रहेको छ। हिरो स्प्लन्डर प्लस एक्सटेक पनि अटो शोमा नेपाली बजारमा ल्याउन सकिने मोटरसाइकल हो। यो ९७.२ सीसीको बाईक हो। यसको मुल्य भारतिय बजारमा करिब भारु ७४ हजार रहेको छ। 

प्रकाशित: Jul 11, 2022| 19:10 सोमबार, असार २७, २०७९
प्रतिक्रिया दिनुहोस्