भीमा पन्थी, काठमाडौं–बिमा व्यावसाय १९ प्रतिशतले बढेको छ । बिमा समितिका अनुसार गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालु आवको समिक्षा अवधिमा व्यावसाय सोही मात्रामा वृद्धि भएको हो।
नेपालमा सञ्चालित जिवन र निर्जीवन बिमा कम्पनीले जेठ मसान्तसम्म १ खर्ब ५३ अर्ब ६३ करोड रुपैयाँ भन्दा बढी बिमाशुल्क आर्जन गरेका हुन्। जुन गत आर्थिक वर्षको तुलनामा १९.२३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको समिक्षा अवधिमा यस्तो रकम१ खर्ब २८ अर्ब ८६ करोड रुपैयाँ मात्रै थियो।
कम्पनीहरुले पनि व्यावसाय राम्रै रहेको बताउँछन्। उल्टै चालु आर्थिक वर्षको अत्यसम्म बिमा व्यावसायमा २० देखि ३० प्रतिशतको ग्रोथ हुने कम्पनी सञ्चालकहरुको दाबी छ।
निर्जीवन बिमा व्यावसाय गर्ने सगरमाथा इन्स्योरेन्सका सिईओ व्यावसाय चिन्ताजनक नरहेको दाबी गर्छन्। ११ महिनाको व्यावसायलाई हेर्दा २० प्रतिशतको ग्रोथ भईसकेको बताउँदै उनले आर्थिक वर्षको अत्यसम्म कम्पनीको व्यावसायीक वृद्धि २५ प्रतिशत हुनसक्ने बताउँछन्। उनले भने, ‘बिजनेश राम्रो नै चलिरहेको छ। अहिले गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतको ग्रोथमा छौँ।’ उनले भने, ‘सम्भवतः यो वर्ष २५ प्रतिशतले बढ्ने देखिन्छ।’
त्यस्तै बिमा व्यावसाय गर्दै आएको सिटिजन्स लाईफका एक शाखा प्रबन्धकले समग्र व्यवसाय राम्रो भएको बताउँछन्। उनले भने ‘हाम्रो कम्पनी नयाँ हो, त्यै पनि प्रिमियम संकलनमा तेस्रो÷चौथो स्थानमा छ।’ उनका अनुसार कम्पनीले जिल्ला जिल्लामा पुगेर बिमा शिक्षा कार्यक्रम गरिरहेको छ। यसले गर्दा पनि बिमामा आकर्षण बढेको बताउँछन्।
यता मुलुकको अर्थतन्त्र ओरालो लागेको छ। नेतृत्व तह तथा उच्च ओदामा रहेका व्यक्तिहरुले पनि अर्थतन्त्र संकटमा रहेको बताउँदै आएका छन्। व्यावसायी, उद्योगी तथा आम नागरिकले तरलता अभाव, उच्च ब्याजदर, महँगिलगयतका आर्थिक संकटका धक्काको प्रभाव महसुश गरिरहेको अवस्था छ।
बिमा गर्ने बचतबाट हो । अहिले बचत हुने परिस्थिति छैन। बजारमा महँगि छ। व्यावसाय विस्तारको लागि कर्जा पाउने अवस्था छैन पाएपनि महँगो दरमा लिउनुपर्ने हुन्छ। जसले गर्दा नाफामा संकुचन आउन गई आम्दानी बढ्ने अवस्था छैन। जसले गर्दा व्यक्तिको बचत स्वत घटिरहेको छ। यो अवस्थामा पनि बिमाको व्यावसायमा भने उलेख्य सुधार देखिन्छ।
बिमा प्रति जनचेतनाको कारण व्यावसायमा वृद्धि भएको जानकारहरु बताउँछन्। बिमा समितिका पूर्व अध्यक्ष चिरन्जीवि चापागाईले नागरिकमा बिमाको चेतना वृद्धिको कारण व्यावसाय बढेको बताउँछन्। बिमा समितिले गर्दै आएको स्थानीय सरकारसँग बिमा समिमि नामक जनचेतना मुलक कार्यक्रमले पनि बिमा व्यवसाय फस्टाउन मद्दत मिलेको उनको दाबी छ।
तरलता अभावले बिमालाई सिधै प्रभाव नपार्ने उनले जिकिर गरे। ‘नेपालको सन्दर्भमा बिमा गर्ने व्यक्ति वा संस्था(बिमित)ले ऋण लिएर बिमा गर्दैन, यसले गर्दा तरलता अभाव र व्याजदर वृद्धिको सिधा प्रभाव बिमामा पर्दैन।’ उनले भने, ‘बिमा बचतबाट गर्ने हो। पहिला बचत नागरिकले घरजग्गा, सेयर बजार तथा राम्रो ब्याजदर भएमा बैंक ब्याजदरको लागि लगानी गर्ने गर्थे। अहिले बचत बिमामा लगानी हुने गरेको छ।’
महंगी अत्याधिक भएको धेरै समय नभएको र यसको प्रभाव बिमा क्षेत्रमा पर्न केही समय लाग्ने उनको भनाई छ। ‘बचतलाई महँगिले कटाउँछ यसमा दुइमत छैन।’ उनले भने, ‘अहिले नै महंगिको प्रत्यक्ष प्रभाव परेको छैन, यसको प्रभाव केही समयपछि अवश्य देखिएला।’
त्यस्तै समितिकै पूर्व अध्यक्ष फत्तबहादुर केसीले पनि बिमाको चेतना र उपलब्धता नागरिकसम्म पुगेकै कारण व्यावसाय बढेको बताउँछन्। बिमा व्यावसाय वृद्धि हुनको लागि चेतना, पहुँच र विस्वास अति महत्वपूर्ण हुनुपर्ने उनको भनाई छ। पछिल्लो समय बिमा समिति तथा कम्पनीहरुले नै स्थानीय तहसम्म पुगेर जनस्तरमा बिमासम्बन्धि चेतनामुलक कार्यक्रम गरेको कारण पनि व्यावसाय वृद्धि हुनुको एक कारण मान्न सकिने केसी बताउँछन्।
त्यस्तै पछिल्लो समय सरकारले केही बिमाहरुलाई अनिवार्य गराएको कारण पनि व्यावसायमा वृद्धि भएको उनको दाबी छ। अनिवार्य भनेर जनतालाई जबर्जस्ती बिमालेख थोपर्ने प्रकृया राम्रो भने नहुने उनको भनाई छ। बिमितलाई बुझाएर स्वइच्छाले बिमा गर्न तत्पर बनाउनु सरकार तथा कम्पनीहरुको दायित्व रहेको बताए।
त्यस्तै सरकारले वैदेशिक रोजगार म्यादी बिमा अनिवार्य बनाईनु, सवारी साधनको आयात केही समय पहिला बढ्दो हुनु, कृषि बिमा किसानको पहुँचमा पुग्नु लगाएतका कारणले बिमा व्यावसायमा वृद्धि भएको केसीको भनाई छ।
सेवा प्रवाह गर्दा चुस्त दुरुस्त बनाएर बिमाको मर्म अनुसार बिमितलाई अनुभुति गराउनु पर्ने उनले बताए। अहिलेको झुक्तानी प्रक्रिया झन्झटीलो हुँदा यसमा कम्पनीहरुको ध्यान जानुपर्ने आवश्यकता रहेको बताए। ‘बिमाको मर्म र बिमितको विस्वास पुरा गर्न भुक्तानीलाई चुस्तद्रुस्त बनाउनु आवस्यक छ। सबै स्थानीय तहबाट प्रिमियम संकलन हुन्छ भने त्यहिबाट छिटोछरितो भुक्तानी गरिनु पर्छ।’ उनले भने, ‘तबमात्रै बिमितमा बिमा गर्नपर्छ भन्ने धारणाको विकास हुन्छ।’
बिमाको पहुँच सरकारको लक्ष्य भन्दा माथि
समितिका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा ३ करोड २ लाख नेपाली बीमाको दायरामा जोडिएका छन्। जुन २०७८ को प्रारम्भिक जनसंख्या (२ करोड ९१ लाख) को आधारमा ३६.९३ प्रतिशतको हाराहारी हो। यो सरकारले राखेको लक्ष्य भन्दा बढी हो । सरकारले चालू आवको असार मसान्तभित्र ३३ दशमलव ३३ प्रतिशत नेपालीमा जीवन बीमाको पहुँच विस्तार गर्ने लक्ष्य लिएको थियो ।
गत आर्थिक बर्षको सोहि अवधिमा २ करोड २९ लाख नेपाली बीमाको दायरामा थिए । यो २४ दशमलव ८१ प्रतिशत नेपालीको पहुँच हो।
नेपालमा जीवन बीमा व्यवसाय शुरू भएको झन्डै ५ दशकको समयपछि पछिल्ला ४÷५ वर्ष यता बिमाको पहुँच बढ्दो छ। ५ वर्षअघि बीमाको पहुँच ७ प्रतिशत नेपालीमा मात्र पुगेको थियो । पूर्व अध्यक्ष चापागाईले आफु समितिमा रहँदा बिमाको पहुँच ५÷६ प्रतिशतमा रहेको बताउँछन्।
चालू आवको असार मसान्तसम्ममा ४० प्रतिशत नेपालीमा बीमाको पहुँच पुग्ने समितिको अनुमान रहेको छ ।