बिहीबार, मंसिर २७, २०८१
  • गृहपृष्ठ
  • कला/साहित्य
  • 'कहीँ नभएको जात्रा' फिल्म क्षेत्रमा : विशिष्ट चलचित्रकर्मी बन्न आफैं फारम भर्दैछन् कलाकार

Siddartha premir insuranceSiddartha premir insurance

'कहीँ नभएको जात्रा' फिल्म क्षेत्रमा : विशिष्ट चलचित्रकर्मी बन्न आफैं फारम भर्दैछन् कलाकार

जब परिचयपत्र थापेको प्रमाणसहित चलचित्रकर्मीहरुले फेसबुकमा तस्बिर राख्न थाले, त्यसपछि फिल्मवृत्त तरंगित भएको छ। प्रश्न उठेको छ- चलचित्रकर्मीको वर्गीकरण किन र के का आधारमा?
 |  सोमबार, असार २०, २०७९
nespernesper

अनिल यादव

अनिल यादव

सोमबार, असार २०, २०७९

ntc landingntc landing

काठमाडौं– नेपालीमा एउटा चर्चित उखान छ, ‘कहीँ नभएको जात्रा हाँडी गाउँमा!’ फिल्म क्षेत्रको सर्वोच्च निकाय मानिएको चलचित्र विकास बोर्ड अहिले यस्तै जात्रा मञ्चन गर्न व्यस्त छ। 

himalayan bank box

चलचित्रकर्मीलाई ‘वरिष्ठ’ र ‘विशिष्ट’ का रुपमा वर्गीकरण गर्दै परिचयपत्र बाँड्न बोर्डलाई भ्याइनभ्याइ छ। अनि फिल्मकर्मीहरु यही परिचयपत्र थाप्न हात धोएर लागेका छन्। यतिसम्म कि यसका लागि उनीहरु आफैं फारम भरेर आवेदन दिँदै भनिरहेका छन्, ‘मलाई पनि वरिष्ठ चलचित्रकर्मीको कार्ड दिलाईपाऊँ हजुर।’ 

गत बिहीबार चलचित्र विकास बोर्डको २२ औं वार्षिकोत्सव थियो। यही अवसरमा बोर्डले आवेदन दिनेमध्ये ६२ जना चलचित्रकर्मीलाई विशिष्ट श्रेणीको चलचित्रकर्मी भन्दै परिचयपत्र बाँड्यो। जसमा अभिनेता भुवन केसीदेखि पत्रकार प्रकाश सुवेदीसम्म परे। नामै नसुनिएका र नचिनिएका ‘विशिष्ट’हरुको सूची त लामै छ। तर, सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले उनीहरु सबैलाई एक–एक गर्दै शीर निहुर्याएर नमस्कारसहित परिचयपत्र बाँडे। अनि उनीहरुले पनि हाँसीहाँसी त्यसलाई शीर निहुर्याएरै शिरोपर गरे। 

जब परिचयपत्र थापेको प्रमाणसहित ती चलचित्रकर्मीहरुले फेसबुकमा तस्बिर राख्न थाले, त्यसपछि भने फिल्मवृत्त फेरि तरंगित भएको छ। फेरि प्रश्न उठेको छ, ‘चलचित्रकर्मीको वर्गीकरण किन र के का आधारमा?’ 

त्यसो त यो वितरण पहिलोपल्ट भएको होइन। बोर्डले यसअघि नै ०७३ सालमा ४० जना चलचित्रकर्मीलाई पहिलो चरणमा भन्दै विशिष्ट श्रेणीको परिचयपत्र बाँडेको थियो। त्यतिबेला बोर्ड अध्यक्ष थिए, निर्माता राजकुमार राई। राईकै पालामा आएको अवधारणा हो यो, चलचित्रकर्मीलाई परिचयपत्र वितरण। 

vianet

त्यतिबेलै पनि विवादमा तानिएको त यो वितरण। तर, पनि बोर्ड रोकिएन। ‘चलचित्र परिचयपत्र वितरण सम्बन्धी कार्यविधि २०७२’ अनुसार यो परिचयपत्र कसलाई दिने, कसलाई नदिने, आवेदन आएमध्ये छनौट गर्ने जिम्मा सिफारिस समितिको हो। बोर्डका अनुसार अहिले बाँडिएका अधिकांश परिचयपत्र तत्कालिन सिफारिस समितिका संयोजक उत्तम केसीकै पालाको हो। तर, रमाइलो त के भने संयोजक केसीदेखि भर्खरै कार्यकाल सकिएर बिदा भएका बोर्ड अध्यक्ष दयाराम दाहालसम्मले पनि यो परिचयपत्र लिन छाडेनन्। जो दिने थिए, उनीहरुले नै लिएको देखेर अहिले फिल्म जगत् हाँसिरहेको छ। 

फिल्म निर्देशक दिपेन्द्र लामा संसारमा कहीँ नभएको कलाकारको वर्गीकरण नेपालमा भइरहेको देखेर चकित छन्। ‘विशिष्ट चलचित्रकर्मीहरु भएको विश्वको एकमात्र देश नेपाल नै हुन पुगेको छ,’ उनी भन्छन्, ‘यो त कहीँ नभएको रमिता नेपालमै भयो। खासमा कलाकारलाई विशेष ट्रिट गर्नुपर्ने अवधारणा नै गलत हो। बरु यो तमाशा मन्चन गर्नुभन्दा चलचित्र विकास बोर्डले नेपाली चलचित्र उद्योगलाई नै विशिष्ट घोषणा गरिदिए टन्टै साफ हुन्थ्यो।’

जतिबेला यो परिचयपत्र वितरणको अवधारणा आयो, त्यतिबेला केही कलाकारको गुनासो सुनिन्थ्यो– ‘हामी कलाकारको सम्मान नै भएन। एयरपोर्टमा पनि भिआइपी ट्रिट भएन।’ अनि बोर्डको तर्क थियो, ‘कलाकारको यस्तै गुनासो सम्बोधन गर्न हामीले यो कार्यक्रम ल्याएका हौं।’  

तर, चलचित्र समीक्षक समाजका अध्यक्ष समेत रहेका दीपेन्द्र लामा नेपालमा त्यस्तो अवस्था नै देख्दैनन्। ‘हामीकहाँ कुनै पनि कलाकार त्यस्तो छैनन् जसलाई एयरपोर्टमा जाँदा असहज हुने गरी बस्नै नमिल्ने अवस्था भएको होस्,’ उनी भन्छन्, ‘जहाँ छ, त्यहाँ कार्ड बाँड्नुपरेकै छैन, एयरपोर्ट आफैंले त्यो सम्मान दिएको छ। अझ हामी पर्दापछाडिका डिरेक्टर, लेखकलाई झन् त्यस्तो समस्या हुँदै हुँदैन। अनि हामीलाई किन चाहियो त्यस्तो भिआइपी ट्रिट?’

नेसनल अवार्ड विजेता फिल्म अभिनेता विपिन कार्की पनि लामाको तर्कमा सहमत देखिए। ‘कागजमा परिचयपत्र दिएर कलाकार हुनु र जनताले स्वीकार्नु नितान्त फरक कुरा हुन्,’ उनी भन्छन्, ‘हेर्नुस् त म विशिष्ट चलचित्रकर्मी हुँ, मलाई चिन्नुभयो?’ भन्दै आफूलाई कार्डमार्फत चिनाउनुपर्ने अवस्था आउनु साँच्चै लाजमर्दो कुरा हो। आफ्नो कलाप्रति अलिकति पनि सम्मान छ भने ज–जसले लिनुभयो उहाँहरुलाई लाज लाग्नुपर्ने हो। म त भन्छु, यसरी कार्ड देखाएर चिनाउनु पर्ने सेलिब्रेटी कोही पनि बन्नु नपरोस्।’

विपिनका अनुसार आफ्नो जीवनकालमा विदेश जान नपाएका र केही गर्न नसक्दा उत्पन्न भएको कुण्ठित मनोविज्ञान हो यो। ‘एयरपोर्टमा हामीलाई सम्मान नै गर्छन् त,’ उनी भन्छन्, ‘त्यस्तो असहज कहिल्यै महसुस भएको छैन। कार्ड पनि देखाउनुपरेको छैन। अनि किन चाहियो यस्तो वर्गीकरण? मैले सुनेअनुसार रिटायर्ड लाइफ बिताइरहेका चलचित्रकर्मी जो विदेश जान चाहिरहेका छन्, उनीहरुलाई टार्गेट गरेर यस्तो कार्ड बाँडिदै छ रे!’ 

यी ३६ जना कलाकारले प्रयोग गर्न पाउनेछन् विमानस्थलको विशिष्ट र अति विशिष्ट कक्ष [सूचीसहित]

चलचित्रकर्मी परिचयपत्र वितरण सम्बन्धि कार्यविधि, २०७२ का अनुसार चलचित्रको कलाकर्ममार्फत राष्ट्रमा पुर्याएको योगदानको कदर स्वरुप यो परिचयपत्र वितरण सुरु गरिएको हो। अनि परिचयपत्र पाउनेहरुलाई राज्यका तर्फबाट सम्मान एवं सुविधाका लागि सिफारिस गर्ने पनि यसको उद्देश्य हो। 

तर, निर्देशक मनोज पण्डितको दाबी छ, यो कुण्ठाग्रस्त मनोविज्ञान बोकेको चलचित्रकर्मीको स्वार्थमा शासकहरुले बाँडेको परिचयपत्र हो। ‘विशिष्ट र कनिष्ठ छुट्याउने प्रणाली सामन्तवादी प्रणाली हो,’ उनी भन्छन्, ‘यो परिचयपत्र वितरणले सिनेमा क्षेत्र अहिले पनि सामन्तवादी प्रणालीमा छ भन्ने बुझाउँछ। यसरी बाँड्नु भनेको हाइरार्की सिर्जना गर्नु हो। कलालाई यसरी परिचयपत्रका आधारमा वर्गीकरण गर्र्नु खोज्नु नितान्त गलत हो। किनभने चलचित्रकर्मी सबैको उत्तिकै महत्व हुन्छ। तर विडम्बना हामीकहाँ विकास बोर्डभन्दा पनि चलचित्रकर्मीकै रुचीमा यो वितरण भइरहेको छ।’

‘खासगरी कुण्ठाग्रस्त मनोविज्ञान बोकेका चलचित्रकर्मी,’ उनी अझै स्पष्ट पार्दै भन्छन्, ‘जसले सिर्जनाबाट दर्शकको मन जित्न सकेनन्, उनीहरुलाई पद र परिचयपत्र चाहिएको छ। डरलाग्दो रोग त के आयो भने अब पदको पछाडि लाग्ने प्रवृत्ति चलचित्र क्षेत्रमा प्रवेश भइसक्यो। जो यो वरिष्ठता र विशिष्टताको पछि लागेका छन्, उनीहरु त मनोरोगी हुन् नै, तर यसले पदको पछाडि लाग्ने प्रणालीको पनि विकास गरिदियो।’

कार्यविधि भन्छ– २५ वर्ष काम गर्ने विशिष्ट 

चलचित्रकर्मी परिचयपत्र वितरण सम्बन्धी कार्यविधिले चलचित्रकर्मीलाई तीन तहमा वर्गीकरण गरेको छ– विशिष्ट चलचित्रकर्मी, वरिष्ठ चलचित्रकर्मी र चलचित्रकर्मी। कार्यविधीअनुसार विशिष्ट ती हुन्, जसले चलचित्रको कुनै एक विधामा स्वदेश तथा विदेशमा रही स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर २५ वर्ष योगदान पुर्याई सर्वोत्कृष्ठता हासिल गरेका छन्। यतिमात्रै होइन, उनीहरुले वरिष्ठ चलचित्रकर्मी भई पाँच वर्ष काम गरेको पनि हुनुपर्नेछ। 

त्यस्तै चलचित्रको कुनै एक विधामा स्वदेश तथा विदेशमा रही स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर २० वर्ष योगदान पुर्याएको व्यक्ति वा परिचयपत्र प्राप्त गरी दश वर्ष काम गरेको व्यक्ति वरिष्ठ चलचित्रकर्मीको परिचयपत्र पाउन योग्य हुनेछ। अनि चलचित्रकर्मीको कार्ड पाउन चाहिँ चलचित्रको कुनै एक विधामा स्वदेश तथा विदेशमा रही स्वदेशी चलचित्र क्षेत्रमा कम्तीमा निरन्तर १० वर्ष योगदान पुर्याएको व्यक्ति हुनुपर्ने उल्लेख छ। 

हास्य अभिनेता दीपकराज गिरी चलचित्रकर्मीको यस्तो वर्गीकरण पूर्णतः गलत भएको तर्क गर्छन्। ‘कोही सिनियर होला, कोही जुनियर तर सबै चलचित्रकर्मी हुन्। विशिष्टता भनेको उमेरले होइन कामले हुने हो,’ उनी भन्छन्, ‘तर, हाम्रो देशमा जति जति बूढो भए त्यति त्यति वरिष्ठ हुने चलन भयो, जबकी विदेशमा लिजेन्ड हुन्छन्। विदेशमा जति जति बूढो भयो, उति उति राम्रो कर्म गर्छन्, ७०–८० वर्षमा पनि सक्रिय निर्देशन गर्छन्, अभिनय गर्छन्। उनीहरुलाई कुनै पनि कार्ड चाहिँदैन, उनीहरुको नाम नै परिचयपत्र हुन्छ। तर हाम्रोमा बूढो भएपछि रिटायर्ड हुँदै जान्छन्, अनि उनीहरुलाई चिनाउन वरिष्ठ र विशिष्टको कार्ड चाहिन्छ।’ 

चलचित्र क्षेत्र व्यावसायिक नभएकाले यहाँ चलचित्रकर्मीहरु ग्रिन कार्ड भर्नतिर लागिरहेका छन्, तर चलचित्र विकास बोर्ड वरिष्ठ र विशिष्टको परिचयपत्र बाँड्नमै रमाउनु दुखद् देख्छन्, अभिनेता गिरी। ‘कोही कलाकार एयरपोर्ट छिर्न कार्ड बनाउँदैछन्, कोही अमेरिका छिर्न,’ उनको सुझाव छ, ‘तर, यथार्थ के हो भने मान्छे कर्मले विशिष्ट हुने हो, कसैले परिचयपत्र दिइरहनु पर्दैन। बरु पुराना योगदान पुर्याएका चलचित्रकर्मी जो अहिले घर बसेका छन्, राज्यले तिनीहरुलाई सम्मान नै गर्न चाहेको हो भने परिचयपत्र होइन, रासन कार्ड देऊ। महिनाको दुई बोरा चामल भएपनि निःशुल्क देऊ। उनीहरुको औषधी उपचारमा सहयोग गर।’

‘त्यसो भए तपाईं यो परिचयपत्र नलिने?’ 

नेपाल समयको प्रश्नमा गिरीले आफूले परिचयपत्र लिने त परको कुरा, त्यसका लागि फारम भर्नुपर्ने प्रक्रियामै सामेल नहुने बताए। ‘बरु बुढेसकालसम्म चलचित्र बनाउन सकुँ। तर, फारम भरेर परिचयमार्फत मेरो स्तर पत्ता लगाउने काम गर्दिनँ। मलाई थाहा छ, दर्शकले दिएको परिचयपत्रभन्दा ठूलो केही पनि हुँदैन।’

पत्रकार पनि चलचित्रकर्मी!

बिहीबार चलचित्र विकास बोर्डमा बाँडिएको परिचयपत्र नामावालीको सूची हेर्नुभयो भने आम दर्शकले खुट्याउन सक्ने नाम विरलै भेटिन्छन्। त्यसमा पनि रमाइलो त्यतिबेला भयो जतिबेला टेलिभिजन प्रस्तोता प्रकाश सुवेदीले ‘विशिष्ट चलचित्रकर्मी’को परिचयपत्र थापे। 

पत्रकार पनि चलचित्रकर्मी, धेरैलाई अचम्म पनि लाग्यो। तर, चलचित्रकर्मी परिचयपत्र वितरण सम्बन्धी कार्यविधि हेर्दा चलचित्र पत्रकारलाई पनि चलचित्रकर्मीको परिभाषामा राखिएको रहेछ। अनि त्यही परिभाषालाई टेकेर उनलाई विशिष्ट चलचित्रकर्मीको परिचयपत्र दिइएको रहेछ। पत्रकारबाहेक फिल्म निर्माता, निर्देशक, कलाकार , प्रदर्शक, वितरक, प्राविधिक , लेखक, नृत्यकार, चलचित्रको गीतकार, संगितकार, गायक–गायिका सबै यो परिभाषाभित्र परेका छन्। 

नेपाल पत्रकार महासंघ अन्र्तगत रहेको फिल्म समीक्षक समाजका अध्यक्ष दीपेन्द्र लामा यसरी फिल्म पत्रकारलाई चलचित्रकर्मीको परिभाषाभित्र राखेर परिचयपत्र दिनुलाई सम्मानभन्दा पनि अपमान ठान्छन्। ‘यो चलचित्र पत्रकारको आफ्नो पहिचानमाथिको हमला हो,’ उनी भन्छन्, ‘संसारमा कहीँ पनि पत्रकार र फिल्म समीक्षकलाई चलचित्रकर्मी मानिँदैन उनीहरुको विशुद्ध पत्रकार महासंघ, संघसँग सरोकार हुन्छ। पत्रकार महासंघ, प्रेस काउन्सिलले त पत्रकारको यसरी वर्गीकरण गरेको छैन, चलचित्र विकास बोर्डलाई कसले दियो अधिकार? के अब खेलकुद पत्रकारलाई खेलाडी भन्ने? आर्थिक पत्रकारलाई बिजनेसम्यान भन्ने? राजनीतिक पत्रकारलाई नेताको परिचयपत्र दिने? खासमा हामीविरुद्ध कलम नचलाओस् भनेर विकास बोर्डले यस्तो गरेको हो। खासमा आफूलाई पत्रकार भन्नेले यसरी परिचय पत्र थाप्न पनि लाज मान्नुपर्ने हो।’

अन्तर्राष्ट्रिय अभ्यास नै हेर्ने हो भने पनि त्यहाँ यसरी चलचित्रकर्मीको परिभाषा गरिएको छ। न वरिष्ठ, विशिष्ट भन्दै परिचयपत्र नै बाँडिएको छ। बरु राज्यले विशुद्ध उनीहरुको कामको मूल्यांकनका आधारमा पुरस्कृतचाहिँ गर्ने गर्छ। उदाहरणका लागि छिमेकी मुलुक भारतकै पद्मश्री सम्मानलाई लिन सकिन्छ। तर, हाम्रोमा शासकहरुले आफ्नो मान्छेलाई खुशी बनाउन पदक र परिचयपत्रमात्रै बाँडिरहेको फिल्म निर्देशक मनोज पण्डितको तर्क छ। ‘राज्यले सम्मान गर्नु कलाकारका लागि आवश्यक कुरा हो,’ उनी भन्छन्, ‘तर, शासकले आफ्नाहरुलाई पदक र परिचयपत्र बाड्नु लज्जाजनक कुरा हो। राज्यले र शासकले सम्मान गर्ने कुरामा आकाश जमिनमा फरक छ। दुर्भाग्यवश हाम्रोमा राज्यले होइन, शासकले सम्मान गर्छ। त्यो पनि आफ्ना वरिपरिका मान्छेलाई रिझाउनमात्रै। उनीहरुलाई को चलचत्रिकर्मी, को पत्रकार, केही मतलब हुँदैन, बस् आफ्नो मान्छे भए पुग्यो।’

पुराना चलचित्रकर्मीलाई इतिहासले सम्मान गर्ने जुन भावना हुन्थ्यो, यो वर्गीकरण अवधारणाले त्यसलाई पनि मार्नेमा चिन्ता व्यक्त गर्दै पण्डित भन्छन्, ‘त्यसैले अलिकति पनि इमान छ भने म त्यो परिचयपत्र फिर्ता गर्न सम्पुर्ण चलचित्रकर्मीलाई अनुरोध गर्छु ताकि यो चलचित्र क्षेत्र सम्मानजनक पेशा रहिरहोस्। यो मेरो विनम्र अनुरोध हो।’ 

प्रकाशित: Jul 04, 2022| 18:24 सोमबार, असार २०, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

यी नेपाली चलचित्रले पानी पनि भन्न पाएनन् २०७९ मा

वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन्। तिनीहरूको टिकट एक हजारसमेत बिक्री भएको छैन।
जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

जो आमा बनेपछि पनि अभिनयमा जमिरहे

‘फ्यान फलोइङ’ घट्छ, बच्चा जन्मिएपछि काम पाइँदैन भन्ने बुझाइलाई केही सेलिब्रेटीले गलत सावित गरेका छन्।
चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

चलचित्र कमाइको रिपोर्ट गलत दिएभन्दै भुवन केसीप्रति दीपक आक्रोशित

कलाकार दीपकराज गिरी चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीप्रति आक्रोशीत भएका छन्।