काठमाडौं– निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मंसिर १० गतेभित्रै प्रदेश र संघीय संसद्को निर्वाचन सम्पन्न गर्ने आयोगले तयारी थालेको बताएका छन्। संसद्को महिला तथा सामाजिक समितिको शुक्रबारको बैठकमा उपस्थित भएका थपलियाले आयोगले निर्वाचनको तयारी गरिरहेको जानकारी दिएका हुन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले दलहरूलाई कम्तीमा ३३ प्रतिशत महिला उम्मेदवारी दर्ता हुने प्रावधानलाई पालना गर्न आग्रह गरे।
स्थानीय तह निर्वाचन ऐनले प्रमुख, उप–प्रमुखमा ५० प्रतिशत महिला सहभागिताको कुरा गरे पनि एक पदमा मात्र उम्मेदवारी दिँदा जो भए पनि हुने व्यवस्था भएकाले स्थानीय निर्वाचनमा ५० प्रतिशत महिला सहभागिता हुन नसकेको उनले जानकारी दिए।
समानुपातिक सहभागिताको विषयमा केही कानुनी र व्यावहारिक विषय मिलाउँदा संविधानको मर्मअनुसार हुने उनको दाबी छ। थपलियाले भने, ‘कुनै एक पदमा मात्रै उम्मेदवारी दिए महिलाको नै मनोनयन दर्ता गराउनुपर्ने व्यवस्था गर्छौं। त्यसका लागि सहयोग चाहियो।’
आयोगले निर्वाचन खर्चिलो र भड्किलो गराएको भन्ने आलोचना सही नभएको उनले जिकिर गरे। ‘राजनीतिक दलहरू आफैं खर्चको सीमा तय गर्ने, आफैं कानुन बनाउने तर आफैं नियम पालना नगर्ने ?’ उनले भने, ‘अझ आयोगमा उम्मेदवार आफैंले बुझाएको खर्चको विवरण सही होइन भन्ने ?’
आयोगले नियम बनाएर मात्र निर्वाचन हुने ठूलो खर्च नियन्त्रण गर्न नसक्ने र त्यसका लागि राजनीतिक दलबाटै पहल हुनुपर्ने उनले सुझाए।