काठमाडौं– जेलमा रहेका व्यवसायी इच्छाराज तामाङको मुद्दामा ‘आर्थिक डिल’ गरेको आरोप लागेका जिल्ला अदालत काठमाडौंका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित काम नभएको बताएका छन्।
कानुन व्यवसायी रुद्रप्रसाद कोइरालासँगको टेलिफोन कुराकानीमा व्यवसायी तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा १० करोड रुपैयाँको डिल गरेको विषय बाहिरिएपछि कोइरालाले फेसबुकमा यस्तो प्रष्टीकरण दिएका हुन्।
विभिन्न दबाब र प्रभावका बाबजुद पनि आफूले निष्पक्ष भूमिका निर्वाह गरेको पनि कोइरालले उल्लेख गरेका छन्। आफूमाथि न्याय परिषद्बाट छानबिन भए पूर्ण सहयोग गर्ने कोइरालाको भनाइ छ।
‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ। मबाट कुनै अनुचित कार्य भएको छैन। विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भुमिका निर्वाह गरेको छु। ममाथि न्याय परिषद्बाट छानबिन होस्, सहयोग गर्ने पूर्ण प्रतिबद्धता वयक्त गर्दछु,’ कोइरालाले फेसबुकमा लेखेका छन्।
सिभिल बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताको निक्षेप हिनामिना गरेको अभियोगमा हाल पुर्पक्षका लागि थुनामा रहेका इच्छाराज तामाङसहितलाई धरौटीमा छुटाउने विषयमा न्यायाधीश कोइराला र कानुन व्यवसायी पोखरेलबीच कुराकानी भएको अडियो सार्वजनिक भएको छ। अडियोमा पोखरेलले कोइरालालाई १० करोड धरौटी माग गरी इच्छाराजलाई रिहा गर्ने आदेश जारी गर्न अफर गरेको सुनिन्छ।
कोइरालाले त्यस्तो आदेश जारी गर्दा आफू बर्बाद हुने चिन्ता व्यक्त गरिरहँदा कानुन व्यवसायी पोखरेलले माथिबाटै मिलाउन सकिने बताएका छन्।