काठमाडौं- छात्रामाथि यौन शोषणको आरोपमा पक्राउ परेका दुई शिक्षक पुर्पक्षका लागि कारागार चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दुई शिक्षकलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएपछि उनीहरू कारागार चलान भएका हुन्। उनीहरूलाई डिल्लीबजार कारागार पठाइएको छ।
कारागार चलान हुनेमा काभ्रेपलाञ्चोक जिल्ला भुम्लु गाउँपालिका-१ स्थायी ठेगाना भई काठमाडौं जिल्ला कागेश्वरी मनोहरा नगरपालिका-८ मा बस्दै आएका ४७ वर्षीय जनार्दन अधिकारी छन्। उनी कलेज को-अर्डिनेटर समेत हुन्। जिल्ला काठमाडौं कागेश्वरी मनोहरा नपा-७ का ५१ वर्षीय राजन कुमार पौडेल पनि कारागार चलान भएको प्रहरीले जानकारी दिएको छ। उनी पनि सोही कलेजका शिक्षक हुन्।
काठमाडौको चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा जेठ १० गते आफ्ना छोरीहरूमाथि यौन दुर्व्यवहार गरेको भन्दै अभिभावकले प्रहरीमा उजुरी दिएका थिए। तीन जना नाबालिकाको तर्फबाट निजका अभिभावकहरुले प्रहरी वृत्त गौशालामा जाहेरी दरखास्त दिएपछि उनीहरु दुवै जना पक्राउ परेका परेका थिए।
अधिकारी र राजन कुमार पौडेल उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को दफा २२५ को बाल यौन दुरुपयोग गर्न नहुने सम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो।