काठमाडौं– आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउन इच्छा देखाएका ३३ वटा संघसंस्थासँग काठमाडौं महानगरपालिकाले सम्झौता गरेको छ। बैंक तथा वित्तीय संस्थाहरु, होटल–रेष्टुरेन्ट, स्कुल–कलेज, प्रकाशन गृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघसंस्थाका प्रतिनिधिहरुसँग सोमबार सम्झौता भएको हो।
महानगरका प्रमुख बालेन्द्र शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्यालको रोहवरमा भएको सम्झौतामा महानगरका तर्फबाट निर्देशक नुरनिधि न्यौपानेले हस्ताक्षर र दोस्रो पक्षका तर्फबाट प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन्। नबिल बैंकसँग भने यसअघि नै यस्तो सम्झौता भइसकेको छ।
यो सम्झौता आउँदो ५ वर्षका लागि हो। यस अवधिमा संघसंस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन्। यसरी उपलब्ध गराइएका शौचालयको मर्मतसम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा उनीहरुकै हुनेछ। यसबापत उनीहरुले सेवाग्राहीलाई आफ्नो सेवा लिन करकाप वा प्रोत्साहन गर्ने छैनन्।
यसरी सञ्चालन भएका शौचालयको अवस्था अनुगमन तथा मूल्यांकन गर्न दुवै पक्षबाट १–१ जना प्रतिनिधि तोकिनेछ।। उनीहरुले हरेक ४ महिनामा प्रतिवेदन दिनेछन्। काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रभित्रका होटल, रेष्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघसंस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरुलाई महानगरको सार्वजनिक निजी साझेदारी एकाईमा सम्पर्क राख्न सार्वजनिक आव्हान गरेको थियो।
प्रकाशित सूचनाका आधारमा ७ दिनमा ३८ वटा संघसंस्था सम्पर्कमा आएका थिए। तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माण गरिदिने बताएका छन् भने सम्पर्क गरेका मध्ये सम्झौताका बेला केहीसँग सम्पर्क हुन सकेको थिएन।
‘यो स्वतस्फूर्त कार्यक्रम हो। कसैलाई कर गरिएको छैन,’ सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका प्रमुख शाहले भने, ‘‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो। यसको म प्रशंशा गर्न चाहन्छु। यसमा कसैलाई दबाब छैन। अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ।’
कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले महानगरसँगको सहकार्यमा वृक्षरोपण, हरियाली प्रवर्द्धन, सम्पदाको पुनरुत्थानजस्ता क्षेत्रमा सहकार्य गर्न सकिने बताए।
सर्वसाधारण प्रयोगकर्तालाई सार्वजनिक शौचालय चिन्न सजिलो होस् र सबै सार्वजनिक शौचालयको पहिचान एउटै होस् भनेर संकेत चिन्ह तयार पारिएको छ। गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘‘सार्वजनिक शौचालय’ लेखिएको छ। बीच भागमा सेतो रङमै महिला र पुरुषको चिन्ह रहेको छ। संकेत चिन्हको पुछारमा अंग्रेजी भाषामा ‘पब्लिक ट्वाइलेट’ लेखिएको छ।
सम्झौता गरिएका कम्पनी तथा संघसंस्था
टाइम्स स्क्वायर, लाउन्ज एण्ड बार, बालुवाटार
पशुपति भ्यु होटल एण्ड रेष्टुरेन्ट, बालकुमारी टोल
डेन्टल भिल्ला, वडा नम्बर १४, बल्खु
पिजा हट, दरबारमार्ग
केएफसी, दरबारमार्ग
केएफसी, बौद्ध
डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर
होटल रत्नज्योती, पेरिसडाँडा
नेक्सस ग्लोबल भिसा एण्ड इमिग्रेसन प्रालि शंखमूल
खानेकुरा प्रालि गौशाला
सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
बेबिलोन नेशनल स्कूल, शान्तिनगर
ओटिसी किचेन रेष्टुरेन्ट, बालुवाटार
नेपालय पब्लिकेसन, डिल्लीबजार
बसुन्धरा एण्ड गोंगबु एरिया रेष्टुरेन्ट, बसुन्धरा
गोमा लक्ष्मी इन्टरनेशनल, ठमेल
घराना लाउन्ज एण्ड बार, बानेश्वर
कामना सेवा विकास बैंक कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड
सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक
आरडीएक्स बार प्रालि ठमेल
नेपालगञ्ज विरयानी, डिल्लीबजार पिपलबोट
कार्निभल रेष्ट्रो एण्ड मिटिङ, बिजुलीबजार
बार्दली रेष्ट्रो एण्ड मिटिङ, शंखमुल
नेशनल विजनेस ट्रेड सेन्टर, कलंकी
सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
बिन्का लाउन्ज छाउनी
प्रोग्रेसियो विस्ट्रो पिबीज रेष्टुरेन्ट, बौद्ध
मिलाल्याण्ड डेभलपमेन्ट प्रालि कलंकी
क्रिम्पजी एडभेन्चर हव, बौद्ध
बर्गर हब एण्ड केसीए चिकेन, बिजुलीबजार
अनुपम फुडल्याण्ड, बत्तीसपुतली
रिट्रिप क्याफे, बौद्ध
चिकेन स्टेशनका सबै आउटलेट
स्तुपा हब, बौद्ध