काठमाडौं- स्लो सिनेमा। अर्थात्, सामान्य भाषामा बुझ्दा कथालाई अल्छि पारामा भनिने 'लोसे सिनेमा'। धेरै पर पुग्नै पर्दैन, दुई वर्षअघिमात्रै संसारलाई नै चकित बनाउने गरी अस्कर अवार्ड जितेको ‘नोम्याडल्यान्ड’लाई सम्झिए हुन्छ। साँघुरो भ्यानमा चढेर, त्यहीँ रात बिताउँदै अमेरिकाको चिसो सडकमा यात्रा गरिरहने यायावरको कथा। क्लोई जाआले निर्देशन गरेको यो सिनेमामा हामीले एउटा फरक शैलीमा जीवन बाँच्ने मान्छेहरुको समय र शाखलाई परख गर्यौं। भ्यानलाई नै बासस्थान बनाएर स्वतन्त्र र निस्फिक्री बाँच्ने पात्रहरुलाई महसुस गर्यौं। जीवनलाई एउटा नयाँ दुरबिनबाट हेर्यौं। साँच्चै उनीहरुसँगै एउटा मिठो यात्रा गर्यौं।
तर सबै ‘लोसे सिनेमा’हरु सुन्दर कहाँ बन्छन्!
हलमा यतिखेर प्रदर्शनरत ‘चिसो मान्छे’ यस्तै एउटा सुस्त गतिमा भनिएको कमजोर फिल्म हो। जहाँ पात्रहरु काठमाडौंदेखि बाजुरासम्म यात्रा त गर्छन्, तर दर्शकलाई साथमा हिँडाउन सक्दैनन्।
झट्ट हेर्दा यो कोभिडकालको कथा हो। जतिबेला हामी कोराना कहरले निम्त्याएको परिबन्धमा थियौं। कतारमा धन कमाउन गएका श्रीमान् बाकसमा प्याक गरिएको शव बनेर एयरपोर्ट फर्किएका छन्। बाजुराबाट श्रीमान्को त्यही शव लिन ससुरा (देशभक्त खनाल)सहित काठमाडौं आइपुगेकी छिन्, पुष्पा (स्वस्तिमा खड्का)। र, त्यही शव लिएर बाजुरा फर्किँदाको यात्राको कथा हो- ‘चिसो मान्छे’।
यो यात्रामा अर्को चालक पात्र छ, अशोक (अर्पण थापा)। जो कुखुरा बोक्ने गाडीमा शव राखेर उनीहरुसँगै यात्रामा हिँडेको छ। तर विडम्बना पात्र, घटना र कथावस्तुबीचको अन्तरसम्बन्ध स्थापित हुन नसक्दा यी तीन पात्रको यात्राले दर्शकलाई साथमा लिएर हिँड्न सक्दैन। जबकी संसारभरकै मान्यता के हो भने यस्तो ‘रोड फिल्म’ हेर्दा दर्शकले गुडिरहेको गाडीमा आफू भएको महसुस गर्न सक्नुपर्छ। तर, निर्देशक दिपेन्द्र के खनालले यात्रामा सवार आफ्ना पात्रभित्र दर्शकलाई छिराउन सकेका छैनन्। त्यहीकारण, पात्रमा दर्शकको सम-संवेग जाग्दैन।
उनको यो सिनेमामा पात्रको परिकल्पना त छ, तर त्यसको बलियो स्थापना छैन। निर्देशकले गाडीमा रहेको श्रीमान्को शवसँग पुष्पाको द्वन्द्व देखाउन त खोजेका छन्, तर असफल छन्। पुष्पाले बोल्ने एउटा संवादमार्फत नै दर्शकले बुझिदिनुपर्छ, श्रीमान्बाट बलात्कृत भएर रगताम्मे भएपछि छाउगोठमा बस्नुपरेको घटनाका कारण उनलाई त्यो शवप्रति प्रेम छैन।
त्यही शव र ससुरालाई छाडेर कहिले उनी भाग्न खोज्छिन्, कहिले प्रकृतिसँग रमाउँदै गीत गाउँछिन्। शोकमा छिन्, तर चालकसँग सान्निध्य हुन खोज्छिन्। श्रीमान्को शवप्रति उनको थोरै पनि सहानुभुति छैन। सायद स्वतन्त्रता र स्वछन्दता चाहन्छिन्। तर, अचम्म श्रीमान्सँग त्यति घृणा हुँदाहुँदै पनि उनको शव लिन काठमाडौंसम्म आउँछिन् उनी। बाटोमा त्यही शवका लागि अवरोधसँग भिड्छिन। हुँदाहुँदा त्यही शवलाई काँधमा बोक्न पनि सहजै तयार हुन्छिन्, उनी। कस्तो विरोधाभाष!
जब कुर्ता सुरुवालबाहिर चोलो, गलामा पोते, नाकमा फुली लगाएर ठेट बाजुरेली पात्रका रुपमा स्वस्तिमाको 'फस्टलुक' सार्वजनिक भयो, त्यतिखेर लागेको थियो- नेपाली सिनेमामा सुदुरपश्चिमको सौन्दर्य हेर्न पाइने भइयो। जब ट्रेलरमा पात्रहरुको बाजुरेली लवज सुनियो, त्यो उत्सुकुताको ग्राफ झन् बढेको हो। तर, फिल्म अनुमानभन्दा फरक रहेछ। दर्शकले त्यही गेटअप र लवजबाहेक सुदूरपश्चिमको भूगोललाई सिनेमामा परख गर्न पाउँदैनन्। यस्तो लाग्छ, यो सिनेमाको यात्रा काठमाडौंबाट झापा भएको भए पनि कथामा केही फरक पर्थेन। पर्थ्यो भने त्यही लवज र गेटअपमामात्रै हो।
त्यस्तै सिनेमामा शवको उपस्थितिको पनि खास अर्थ स्थापित छैन। कोभिडकालमा मान्छेहरु यतिसम्म दूर र निष्ठुर भए कि उनीहरु लाससँग पनि डराए, फिल्म हेर्दा निर्देशकले यति सन्देश दिनकै लागि शवसहितको कथा बुनेको देखिन्छ। तर, शव नहुँदा पनि यत्तिको कष्टकर यात्रा त देखाउन सकिन्थ्यो।
सिनेमाका केही दृश्यहरु हेरेपछि बरु प्रश्न गर्न मन लाग्छ, हाम्रो समाज यति क्रुर भइसकेको हो, कि सेतो कफनले छोपेर लासलाई बाटैमा छाडिदिन्छ? कि श्रीमान् शोकमा परेका बेला पनि स्वच्छन्दता, स्वतन्त्रता र उच्छवास खोज्छ? अनि आफ्नो छोराको शव ल्याइरहेको शोकसन्तप्त परिवारप्रति उल्टै आक्रमण गर्छ?
संसारभर ‘रोड फिल्म’को चरित्र के हो भने त्यहाँ पात्रहरुबीच आन्तरिक द्वन्द्व हुन्छ। अनि यात्राका क्रममा ठोक्किने नयाँ-नयाँ घटना र परिघटनाहरुसँगै पात्रहरुमा आउने परिवर्तनले फिल्मलाई रोचक र जिज्ञासामुलक बनाउँछ। तर ‘चिसो मान्छे’को यात्रामा त्यस्तो कुनै घटना-परिघटनाहरु विशेष लाग्दैनन्, जसले यात्रालाई रोमाञ्चक, संघर्षपूर्ण या कौतहुल बनाओस्। केवल शव बोकेको गाडी रोक्ने घटना र उस्तै प्रकारको छिनाझपटीबाहेक फिल्ममा घटना-परिघटनाको विविधिकरण र तादाम्यता कहीँकतै तय गरिएको छैन। यो हिसाबले सिनेमामा न ‘चेजिङ’ नै छ, न स्पष्ट गन्तव्य।
‘रोड सिनेमा’हरुले प्रायःजसो मुलधारका सिनेमामा प्रयोग हुने ‘थ्रि एक्ट स्ट्रक्चर’लाई फलो गर्दैनन्, उनीहरुको कथ्य संरचना ‘ओपन इन्डेड’ पनि हुनसक्छ। निर्देशक खनाल पनि त्यही पथमा हिड्न खोजेका होलान् तर दर्शक ‘कन्भिन्स’ हुन सक्दैनन्।
सिनेमाका केही दृश्यहरु हेरेपछि बरु प्रश्न गर्न मन लाग्छ, हाम्रो समाज यति क्रुर भइसकेको हो, कि सेतो कफनले छोपेर लासलाई बाटैमा छाडिदिन्छ? कि श्रीमान् शोकमा परेका बेला पनि स्वच्छन्दता, स्वतन्त्रता र उच्छवास खोज्छ? अनि आफ्नो छोराको शव ल्याइरहेको शोकसन्तप्त परिवारप्रति उल्टै आक्रमण गर्छ? मलाई लाग्छ, सामाजिक यथार्थवादको दृष्टिमा पनि सायद हाम्रो समाज यदि निर्मम र अनुदार भइसकेको छैन। कथावाचनका लागि जोडजाड गरिएका यस्ता दृश्यहरुको सापेक्ष लेखाजोखा गर्ने हो भने फिल्मले कथा र कलाका नाममा एउटा भद्दा प्रयोग बाहेक अरु केही मुखरित गर्दैन।
भनिन्छ, सिनेमा दृश्य भाषाको माध्यम हो, त्यहाँ कराएर र चिच्याएर होइन, दृश्यमार्फत कथाको परिस्थिति, भौगोलिक अवस्थिति र पात्रको मनस्थिति देखाइन्छ। अझ युद्ध, महामारी र हिंसाको समय देखाउने सिनेमामा त झन् बढी लागु हुन्छ, यो। तर, निर्देशक खनालले यसमा पनि ख्याल गरेको देखिँदैन। पात्रहरुबीचको अन्तरसम्बन्ध र द्वन्द्व देखाउन जहाँ दृश्यहरु आवश्यक छ, त्यहाँ संवादले बुझाउन खोजिएको छ। अनि जहाँ दृश्य काफी छ, त्यहाँ संवाद बोलाइएको छ। अर्पण थापाको क्यारेक्टर कुनै दृष्टिबाट चालकजस्तो देखिँदैन। गह्रुँगो संवाद, संस्कृतका श्लोक र कविता वाचन पुरै असुहाउँदो छ। जस्तो कि श्रीमतीको निधनपछि ६ महिनाको छोरीलाई बहिनीको घर छोडेर आएका उनी यात्राको क्रममा एकपटक छोरीलाई सम्झिन्छिन्। रोइरहेकी छोरीलाई बहिनीले फकाइरहेको फोन सम्पर्कको दृश्य त्यसै भावुक थियो तर फोन राखेपछि जब उनी कविता भन्न थाल्छन्, त्यो पुरै अस्वभाविक लाग्छ।
त्यस्तै देशभक्त खनालको पात्रले गाडीको टायर बनाउँदै गर्दा एक दृश्यमा बोल्ने संवाद छ, ‘टायर टालटुल गरी चलाएजसरी मान्छेको जीवन पनि चलाउन मिल्ने भए...।’ झट्ट सुन्दा घतलाग्दो भए पनि यो आवश्यक लाग्दैन। किनभने भाषण, राजनीति दर्शन, सिनेमाको सन्देश पात्रहरुले फलाक्ने चिजै होइनन्, यो त सुसुप्त रुपमा ‘सब-टेक्स्ट’मा आउनुपर्छ। यदि एउटा लेखकले पात्र माथि हावी हुँदै आफ्नो 'फिलोसफी' पात्रलाई बोकाउँछ भने त्यो लेखकीय हिसाबले पनि राम्रो मानिँदैन, यो संसारभरकै मान्यता हो।
दृश्यका लागि हामी अहिले महँगो प्रविधिमा गइसक्यौं। डिजिटल 'एसआइ-टुके' देखि 'एरी फ्लेक्स'जस्ता विश्व सिनेमामा प्रचलित क्यामेरा चलाउने भइसक्यौं। अझ ‘चिसो मान्छे’का निर्देशक खनाल त आफैँ क्यामेराम्यान पनि। तैपनि क्यामरालाई संवाद र पट्यारलाग्दो 'रुन्चे न्यारेसन'ले बेस्सरी शिथिल बनाउनु विडम्बना हो। यद्यपि यो समस्या अहिलेको फिल्ममा उनका अघिल्ला फिल्महरु ‘धनपति’ र ‘आमा’मा जस्तो व्यापकचाँही छैन।
सिनेमामा स्वस्तिमाले निर्वाह गरेको पात्रको ‘गेटअप’, उनले बोल्ने सुदूरपश्चिमको भाषा र अभिनयको पक्षबाहेक ‘चिसो मान्छे’को समस्या यसको कथाको संरचनाबाट नै सुरु हुन्छ। विरोधाभाषपूर्ण कथाको जगमा बनेको पटकथा झन बढी फितलो हुनु स्वभाविक छ। त्यसैले कथा निर्माणदेखि नै चुकेका निर्देशक खनालले फिल्ममा कोभिडकालको विषय उठाउने जमर्को त गरे तर राम्ररी वाचन गर्न भने सकेनन्। अन्ततः सिनमाको डायलगजस्तै ‘टायर टालटुल’ पारेरै चलाएजस्तो हल्का बनिदियो, ‘चिसो मान्छे’।