काठमाडौं– ‘नेपालमा नीतिगत स्थायित्व छैन। कतिबेला सरकारको नीति परिवर्तन हुन्छ र उद्योग बन्द गर्नुपर्ने अवस्था आउँछ। कसैलाई पत्तै हुँदैन।’
इस्टर्न टेक्सटाइल इन्डस्ट्रिज कम्पनीका सञ्चालक मुकुल लोहियाको गुनासो हो, यो। बारास्थित वीरगञ्जको जितपुरमा रहेको पथलैया औद्योगिक करिडोरमा उनको उद्योग राम्रै चलिरहेको थियो। तर, २०७२ कात्तिकमा उद्योग बन्द भयो। इस्टर्न टेक्सटाइल स्थापना मुकुलका बुबा राजकुमारले २०३९ तिर गरेका थिए।
सुरुमा उद्योग कति लगानीमा स्थापना भएको हो भन्ने सम्झना मुकुललाई छैन। सन् २००० मा अध्ययन पूरा गरेपछि मुकुल आफ्नै उद्योगकै काममा लागे। मारवाडी परिवार भएकाले जागिर खानेभन्दा बाबुसँगै मिलेर आफ्नै उद्योगलाई थप उचाइमा पुर्याउने हुटहुटी उनमा थियो। ३२ वर्षको उमेरमै उनी उद्योग सञ्चालनमा लागे। सुरुमा उद्योग स्थापनामा गरिएको लगानीबारे जानकार नभए पनि थपिएको लगानी भने उनलाई सम्झना रहेछ। उनले सन् २००४–५ मा उद्योगमा १५ करोड रुपैयाँ लगानी थपे। १५ करोडमध्ये १० करोड रुपैयाँबाट उनले ४० लुमसहितको धागो कारखाना र बाँकी टेक्सटाइलमा लगानी गरे।
‘सुरुमा गरिएको लगानीबारे सम्झना नभए पनि सन् २००४–०५ मा १५ करोड लगानी थपेर उद्योग विस्तार गर्यौं। ५ करोड जति उद्योगमा लगाएर १० करोड धागोमा लगानी थपेका थियौं। धागो उत्पादनका लागि ४० वटा लुम पनि थप्यौं’, लोहिया भन्छन्, ‘लगानी थप्न बैंकले पनि सपोर्ट गरे।’
त्यतिबेला नेपालमा ४ वटा धागो उद्योग सञ्चालनमा थिए। टेक्सटाइल उद्योगीले उनीहरूकै उद्योगबाट धागो खरिद गर्थे। रिलायन्स, जगदम्बालगायत चार वटा उद्योगबाट उत्पादित कपडाका लागि धागो खरिद हुने गरेको थियो। भारतबाट कच्चा पदार्थ खरिद गर्न नपाएपछि त्यसको लागत बढ्न गई मुकुलले धागो कारखाना सञ्चालन गरे।
त्यतिबेला वीरगञ्जमा इस्टर्न टेक्सटाइल चर्चित कपडा उद्योगमध्येमा पर्थ्यो। नेपालभरका कपडा व्यापारीदेखि खुद्रा पसलेसम्म सबै इस्टर्नको नामबाट परिचित थिए। कम्पनीको कपडाको ब्रान्ड, बजार र बिक्री राम्रै थियो। तर भारतसँगको खुला सीमा र दुवै छिमेकी मुलुकले कपडामा मारेको फड्कोका अगाडि इस्टर्नले प्रतिस्पर्धा गर्न नसकेर उद्योग बन्द गर्ने अवस्था आयो। भारतीय कपडासँग प्रतिस्पर्धा गर्न नसक्नुका पछाडि उनले यसरी विभिन्न फेहरिस्त प्रस्तुत गरे।
लगानीको तुलनामा प्रतिफल घट्दै गएपछि चिन्तित बन्नुपर्ने अवस्था आयो। फेसनमा हुँदै गएको परिवर्तनका कारण उत्पादनमा असर पर्यो। इस्टर्नले त्यसबेला पोलिस्टरमा आधारित कपडा उत्पादन गर्थ्यो। त्यसबेलासम्म भारत र चीन कपडा उद्योगमा प्रविधि तथा लगानीमा फड्को मार्दै ठूलो मात्रामा कटनबाट बनेका तयारी पोसाक उत्पादन गरिरहेका थिए। यसको प्रभाव नेपालमा पर्ने नै भयो। भारत र चीनबाट कटनबाट बनेका तयारी पोसाक नेपाल भित्रिन थाले। यसले नेपालमा पुरानै प्रविधिमा उत्पादित पोलिस्टर कपडा उत्पादन गरिरहेको इस्टर्न टेक्सटाइल प्रभावित नहुने कुरै भएन।
भारत र चीनबाट उत्पादित कटनबाट बनेका तयारी पोसाकमा नेपाली ग्राहक आकर्षित हुँदै गए। २०७२ तिर नेपालमा वैदेशिक रोजगारीमा जाने क्रम बाक्लियो थियो। विदेश गएकाहरूले पठाउने रेमिट रकमका कारण नेपालीको उपभोग क्षमतामा बढ्दै गयो। निम्नवर्गीय व्यक्तिसमेत कटनबाट बनेका तयारी पोसाकमा आकर्षित हुन थाले। आम्दानीमा भएको परिवर्तनले फेसनमा पनि प्रभाव पा¥यो। यसको मारमा परे, पुरानो फेसनमा आधारित कपडा उत्पादन गरिरहेका इस्टर्नजस्ता उद्योग।
‘नेपालमा आजको दिनमा पोलिस्टर कपडा लगाउने कति छन्? तपाईं आफैंले अन्तिम पटक सर्ट, पाइन्टको कपडा किनेर सिलाएर लगाउनुभएको सम्झिनुस्। रेडिमेडको जमानासँगै सबै जना रेडिमेड भए। कपडा किनेर सिलाउने कति नै छन् ?’ उनको प्रश्न छ।
नेपालमा विपन्न वर्गबाहेक मध्यम वर्ग र हुनेखानेहरू कटनबाटै बनेका तयारी पोसाकतर्फ आकर्षित भएकाले पनि नेपालका कपडा उद्योग धराशयी हुँदै गएको उनको बुझाइ छ। नेपालमा फर्निसिङ, स्कुल झोलामा प्रयोग हुने कपडाको बजार माग भए पनि उत्पादनमा विविधीकरण नभएको उनी ठान्छन्। एउटा उद्योगले एउटै प्रकृतिका वस्तु मात्रै उत्पादन गर्ने क्षमता राख्छन्। तर, छिमेकी मुलुकमा आवश्यकतानुसारका डिजाइनका वस्तु उत्पादन हुने र डिजाइनर पठाएर आयात गर्न सजिलो हुने मुकुलको तर्क छ।
‘पोलिस्टर कति बेच्ने? कुनै बेला फर्निसिङ आइटममा पोलिस्टर चल्थ्यो। धेरै वस्तु विविधीकरण गरेर वस्तु बजारमा ल्याउन सकेनौं। भारतमा यसमा धेरै विविधीकरण छ। एउटा डिजाइनरको टिम पठायो भने आवश्यकतानुसार फर्निसिङ नेपाल आइपुग्छ,’ मुकुलले सुनाए।
प्रविधि ‘अपग्रेड’ का लागि आवश्यक पुँजी कोषको व्यवस्था नगरिनु नै आफ्नो उद्योग र समग्र इन्डस्ट्रिजका लागि दुर्भाग्य भएको उनी बताउँछन्। यसको सिकार इस्टर्न टेक्सटाइल पनि भयो। पोलिस्टर उद्योगबाट कटनमा आधारित उद्योगमा रुपान्तरण गर्न आवश्यक पर्ने पुँजी नभएपछि उद्योग नै बन्द गर्नुपरेको विगत उनले कोट्याए।
‘सरकारले दीर्घकालीन सोच राखेर प्रविधि आयात गर्दा छुट व्यवस्था गर्न सक्नुपर्थ्यो। भन्सारका दरमा होइन, लगानीमा छुट दिएर छुट्टै टेक्सटाइल फण्ड’ बनाइदिएको भए हाम्रो उद्योग बन्द गर्नुपर्ने अवस्था आउने थिएन,’ उनी भन्छन्। आफ्नो उद्योग श्रमप्रधान रहेको र सञ्चालन लागत उच्च भई नाफा निरन्तर घटेपछि बन्द गर्नुपरेको उनको भनाइ छ।
भारतमा उत्पादित कपडाको मूल्यसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यात्मक अवस्थाका कारण उद्योगलाई अधोगतितर्फ धकेल्न सहयोग गर्यो। उच्च उत्पादन लागतका कारण इस्टर्नले उत्पादन गरेको सर्टिङ कपडा करिब ६० रुपैयाँ प्रतिमिटर बिक्री मूल्य तोक्नुपर्ने बाध्यता थियो। अर्कोतर्फ उपभोक्ताले गुणस्तर खोज्ने नै भए। लागत उठाउन धौ–धौ भएको हाम्रो उद्योगले छिमेकीको गुणस्तरमा ध्यान दिन सक्ने कुरै भएन।
भारतबाट निर्यात भएका कपडा ६० रुपैयाँभन्दा कम मूल्यमा उपभोक्ताले पाउन थाले। त्यो पनि इस्टर्नको भन्दा बढी गुणस्तरीय हुन्थे।
इस्टर्नको मात्रै होइन, समग्र कपडा उद्योगका समस्या यिनै हुन्। सोही कारण पछिल्लो समय नेपालमा सञ्चालित सयौंै कपडा उद्योग बन्द भइसकेका छन्। केही बन्द हुने क्रममा छन्। भर्खरै मात्रै नेपालकै ठूलो त्रिवेणी टेक्सटाइल उद्योग बन्द हुनुमा पनि यिनै कारणले काम गरेको हो।
भारतबाट हुने अवैध आयात तथा त्यतिबेलादेखि सुरु भएको आयातसम्बन्धी गलत नीतिको असर नेपाली उद्योगमा परेको उनी सुनाउँछन्। ‘नेपालमा मिटरमा कपडा बिक्री हुन्छ तर आयात केजीमा हुन्छ। यसबाटै अनुमान लगाउन सकिन्छ, केजीमा आयात गरेर मिटरमा कपडा बेच्दा उद्योग स्थापना गर्नेलाई कति मार पर्छ। यो अर्को असफलताको कारण थियो,’ उनी भन्छन्।
१० करोड रुपैयाँ लगानीको आफ्नो धागो कारखाना बन्द गर्नुपर्ने अवस्था आएपछि समग्र उद्योग नै बन्द हुन पुगेको उनी सुनाउँछन्। त्यतिबेला १८ घन्टासम्म हुने लोडसेडिङको मारमा परेपछि धागो कारखाना बन्द भएसँगै उद्योगमा थप लगानी गर्न नसकिएको उनी बताउँछन्।
टेक्सटाइलका लागि धागो कच्चा पदार्थ हो। नेपालमा धागो उद्योगको कार्टेलिङका कारण आफैंले धागो कारखाना सञ्चालनमा ल्याएका उनले ४० धागो उत्पादन गर्ने मेसिन (लुम) जडान गरे। धागो उत्पादन गर्ने मेसिनलाई उत्पादन अवधिभर निरन्तर विद्युत् आवश्यक हुन्छ। उत्पादन अवधिमा विद्युत् आपूर्ति प्रभावित भए तानमा लगाएको धागो उत्पादनका लागि प्रयोग हुने कच्चा पदार्थ (कपास) सबै खेर जान्छ। नयाँ तान लगाउनुपर्ने हुन्छ। यसले उत्पादकलाई नोक्सानी भई लागत बढ्छ।
त्यसबेला नेपालमा भएको १८ घन्टासम्म लोडसेडिङले मुकुलको धागो कारखानामा ठूलै क्षति पुग्यो। नियमित विद्युत् आपूर्ति नहुँदा उनले जेनेरेटर राखेर उद्योग सञ्चालन गर्ने प्रयास गरे। डिजेलको मूल्य उच्च भएकाले आफ्नो उत्पादन लागत घटाउन नसकेपछि धागो कारखाना नै बन्द गर्ने निर्णयमा पुगेको उनी बताउँछन्। जेनेरेटरबाट उद्योग सञ्चालन गर्दा प्रतियुनिट विद्युत् लागत ३० रुपैयाँसम्म पर्न गयो। कारखाना बन्द गर्नुपर्ने बाध्यता एकार्तफ रह्यो भने अर्कोतर्फ राज्यबाट उद्योग सञ्चालन गर्न कुनै पनि सहुलियत नपाएको उनको गुनासो छ।
लोडसेडिङले धागो उद्योगमा लगाएको १० करोड लगानी डुब्यो। त्यसको असर कपडा उद्योगमा पनि पर्यो। कपडा उद्योग सञ्चालनमा उनले कुनै सहुलियत पाउन सकेनन्। डुबेको रकमको ब्याज खर्च उनले कपडामै जोड्न थाले। यसले गर्दा उनको उद्योगबाट उत्पादित कपडाको लागत बढ्न थाल्यो। कपडाको लागत घटाउन उनले क्षमता बढाउनुपर्ने थियो।
उद्योगको क्षमता २५ हजार मिटर उत्पादन गर्ने भए पनि लागत घटाउन प्रत्येक वर्ष १० प्रतिशतले क्षमता अभिवृद्धि गर्नुपर्ने दबाब रह्यो। क्षमता बढाउन एकातर्फ लगानी अभाव र अर्कोतर्फ प्रतिफलको ग्यारेन्टी हुन सकेन। उद्योग सञ्चालन गर्न न्यून प्रतिफल जोखिम बढेपछि त्यसपछि लगानी थप्न नसकिएको उनी बताउँछन्। त्यसपछि उद्योग नै बन्द गर्ने सोचमा पुगे, उनी।
‘१० करोड लगानी डुब्यो। यो झन्झट नगरी भारतबाट १० करोडको कपडा आयात गरेको भए कम्तीमा सुरक्षित हुन्थ्यो। लगानी नै सुरक्षित नभएपछि उद्योग किन लगाउने ?’ ७ वर्ष अगाडि उद्योग बन्द गर्नुपरेको पीडा उनको अनुहारमा छर्लंगै देखिन्थ्यो। लगानी प्रतिफल सुनिश्चित नभएपछि उद्योग बन्द गर्नुपर्ने बाध्यता आइलाग्यो। नेपालमा टेक्सटाइल सबैभन्दा बढी जोखिमयुक्त उद्यम रहेको उनको अनुभव छ।
उद्योग सञ्चालनमा अर्को समस्या श्रमसम्बन्धी रहेको उनी औंल्याउँछन्। नेपालमा उत्पादनका आधारमा नभई मासिक रूपमा श्रमिक राख्नुपर्ने व्यवस्था छ। यसले गर्दा उद्योगले रातीको समय अतिरिक्त कर्मचारी राख्नुपर्ने हुन्छ। त्यसबेला राती उद्योगले विद्युत् पाउने र विद्युत् महसुल सस्तो हुने भए पनि सरकारको श्रम नीति, न्यूनतम पारिश्रमिक र सेवा–सुविधाका कारण उनले समयमा श्रमिक राख्न सकेनन्। सोही कारण उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन नसकेको उनी सुनाउँछन्।
टेक्साइटल उद्योगसँग घ्यू, तेल, स्टिल र सिमेन्टको तुलनै नहुने उनले बताए। ती उद्योगमा सरकारले दिएको सहुलियतले निर्यात राम्रो रहेको, निर्माण फस्टाउँदै गए पनि टेक्सटाइलमा कुनै पनि भविष्य नभएको उनको अनुभव छ। नेपालमा पछिल्लो समय पोलिस्टर उत्पादन गर्ने गार्मेन्टमा समेत कुनै सम्भावना देख्दैनन्, मुकुल। कटनमा आधारित गार्मेन्ट उद्योगको भने भविष्य सुरक्षित भएको उनको कथन छ।
टेक्सटाइल उद्योगलाई छाडेर लगानीका लागि नेपालमा थुप्रै क्षेत्र भएको सुनाउँदै उनी भन्छन्, ‘नेपालमा धेरै पुँजीपति छन्। किन उनीहरूको ध्यान टेक्सटाइलमा जाँदैन? यसमा मुख्य ३ कारण छन्। पहिलो, श्रमप्रधान उद्योग, दोस्रो, पुँजीप्रधान र तेस्रो, लगानी अभिवृद्धि। अहिले १० वटा क्षेत्र उच्च प्रतिफल प्राप्त हुनेमध्येमा छन् तर टेक्सटाइल छैन। सोही कारण टेक्सटाइलमा लगानी गर्नुहुन्न।’
नेपालमा उद्योग सञ्चालन गर्नेको अन्तिम रोजाइमा कपडा उद्योग पर्ने गरेको उनले सुनाए। कपडामा दिने उधारो बिक्री पनि उनको उद्योग बन्द हुने अर्को कारण रहेछ। ९० दिनसम्म दिइएको उधारो सुविधाले चालू पुँजी लामो समयसम्म फसेको पीडा उनले सुनाए। छिमेकी भारतमा कपडामा उधारो अवधि नहुने उनी बताउँछन्।
समस्याको जालोमा फसेपछि आफू उद्योग बन्द गर्ने निर्णयमा पुगेको उनको भनाइ छ। उद्योग बन्द गर्न बाबु राजकुमारसँग झगडा नै गर्नुपरेको उनले सुनाए। ‘टेक्साइटलमा एक पैसा पनि लगानी थप्ने होइन। बरु भएको पैसाबाट नयाँ व्यवसाय सुरु गर्नुपर्छ। यसको खर्च हामीले धान्न सक्दैनौं भनेर सम्झाएपछि बुबा राजकुमारलाई उद्योग बन्द गर्न सहमत गराएँ,’ मुकुल भन्छन्।
नेपालमा उद्योग सञ्चालन गर्न र घाटामा गएपछि पनि बन्द गर्न निकै अप्ठेरो अवस्था रहेको उनको अनुभव छ। उद्योग बन्द गर्दा थुप्रै सरकारी प्रक्रिया पार गर्नुपर्ने हुन्छ। सबैभन्दा ठूलो मुद्दा श्रमिक व्यवस्थापनको हुन्छ। उनीहरूले उद्योगमा गरेको योगदान तथा पारिश्रमिकसहित चित्त बुझाउनुपर्छ। त्यसपछि बैंक तथा ऋणी र अन्य दायित्व व्यवस्थापन पनि उत्तिकै झन्झटिलो हुने गर्छ। इस्टर्नमा ३२२ जना कामदार कार्यरत थिए। श्रमिकसँग उद्योगको सम्बन्ध निकै राम्रो भएकाले साढे ३ महिनाभित्रै श्रमिकको दायित्व व्यवस्थापनमा सफल भएको मुकुल बताउँछन्।
‘श्रमिकसँग मेरो सम्बन्ध निकै राम्रो थियो। साढे ३ महिनाभित्र श्रमिकको पारिश्रमिक भुक्तानी र राजीनामा गराई सहज वातावरणमै उनीहरूलाई बिदाइ गर्न सकेँ’, मुकुल भन्छन्।’त्यतिबेला अन्नपूर्ण, गणेश टेक्सटाइललगायत उद्योगमा लामो समयसम्म उद्योगी र श्रमिकबीच किचलो थियो।
तर, आफ्नो उद्योग निरन्तर सञ्चालन गर्ने भए श्रमिकलाई उद्योग लिजमा लिएर चलाउनसमेत सुझाएको उनी बताउँछन्। श्रमिकले उद्योग लिजमा लिँदा बिदालगायत सुविधा नपाउने देखिएपछि उनीहरूले नै अस्वीकार गरेको मुकुल सम्झिन्छन्।
श्रमिकलाई सहजै व्यवस्थापन गरेकाले जग्गा बिक्री गर्नसमेत उद्योगलाई सहज भयो। ‘अक्सन’ मार्फत उद्योगको ५६ कट्ठा जग्गा मोतीलाल दुगडले खरिद गरे। उद्योगले चर्चेको जग्गामा हाल दुगडले जोन डियर ट्रयाक्टरको सोरुम सञ्चालन गरिरहेका छन्। साढे २ करोड रुपैयाँमा उद्योगको मेसिनरी उपकरण कोहिनुर टेक्साइटलले खरिद गरेको थियो।
उद्योगको सम्पूर्ण सम्पत्ति बिक्री गर्दा पनि श्रमिक र बैंकलाई तिर्नुपर्ने रकम अपुग भएको उनी बताउँछन्। अपुग रकम आफ्नै खल्तीबाट भुक्तानी गरेको उनले सुनाए। उनले दायित्व भुक्तानी गरेको कुल २५ करोडमध्ये ३ करोड रुपैयाँ श्रमिकले पाएका थिए।
उद्योग बन्द गर्दा विद्युत्का लाइन काटे पनि विद्युत् प्राधिकरणले मिटर बन्द गर्नेबारेको जानकारी भने उनले चार वर्षपछि मात्र पाएका रहेछन्। त्यसलगत्तै प्राधिकरणको न्यूनतम चार्ज र हर्जनाबापत मात्रै ६४ लाख रकम भुक्तानी गरेको उनी सुनाउँछन्।
उद्योगबाट विस्थापित भएपछि हाल उनी निर्माण र सोलार व्यापारमा संलग्न छन्। ७५ वर्ष पुगेका उनका पिता राजकुमार भारतमा बस्छन्। उनका भाइले वीरगञ्जमा निर्माणमा प्रयोग हुने फिनिसिङ पाइप उद्योग सञ्चालन गरिरहेका छन्।
छिमेकी मुलुकसँगको प्रतिस्पर्धा, प्रविधि परिवर्तनमा लगानी थप गर्न नसक्नु, सरकारले उद्योग सञ्चालनका लागि प्रोत्साहन नदिनु, उचित श्रम नीतिको अभाव, लोडसेडिङ, फेसनमा भएको परिवर्तन, ब्याजदरलगायतले करिब ३२ वर्षदेखि सञ्चालनमा रहेको उद्योग बन्द भयो। यसको मारमा उद्योगीसँगै श्रमिकले पनि रोजगारी गुमाउनुपर्यो। उद्योग सञ्चालन गरेको समय श्रमिकमैत्री हुनुको कारण नै होला, केही श्रमिकले अझै पनि फोनबाटै कुनै व्यवसाय गरेको भए आफूलाई जागिर लगाइदिन आग्रह गर्दै आएको मुकुल सुनाउँछन्।
उनले टेक्सटाइल उद्योग छाडेको ७ वर्ष भइसक्यो। उद्योग सञ्चालन गर्दा घाटा बेहोर्नुपरे पनि बेदाग बन्द गरिएकै कारण मुकुल सन्तुष्ट देखिन्छन्। ‘उद्योग चलाएर मेरो परिवार अहिले सम्पन्न भएको छ। मैले उद्योगबाट पैसाभन्दा बढी इज्जत र सम्मान कमाएँ,’ उनले खुसी साटे।