विश्व प्रसिद्ध गाीयका शाकिरा र फुटबल खेलाडी जेरार्ड पीकेले १२ वर्ष लामो सम्बन्ध विच्छेद गर्ने भएका छन्। गत शनिबार रोयटर्समार्फत संयुक्त विज्ञप्ति जारी गर्दै यो जोडीले सम्बन्ध अन्त्यको खबर पुष्टि गरेका हुन्।
उनीहरुले लेखेका थिए, 'हामी छुटिदैँछौँ र यो दुखद् खबर हो। हाम्रा छोराछोरी हाम्रा लागि प्राथमिकताका विषय हुन्। त्यसकारण उनीहरुको भलाइका निमित्त उनीहरुको गोपनियताको हकको सम्मान गरिदिनुहुनेछ भन्ने आशा राखेका छौँ।'
केही समयअगाडि पीकेलाई अर्की महिलासँग फेला पारेपछि शाकिराले यो सम्बन्ध तोड्ने निर्णय गरेकी हुन्। सन् २०१० को फिफा विश्वकपमा भेट भएर सन् २०११ देखि ‘डेटिङ’ सुरु गरेका शाकिरा र पीकेका दुई सन्तान छन्। दुई छोरा (९ र ७ वर्षिया) का मातापिता रहेका शाकिरा र पीके विवाह बन्धनमा भने बाँधिएनन्।
संयोगले जुराएको जोडी
युगकै कुशल जोडी मानिएका शाकिरा र पीकेको सम्बन्धमा अचम्मलाग्दा संयोगहरु छन्। खेलकुद र संगीतजस्ता फरक विधाका यी ‘एक्सपर्ट’हरुको भेट सन् २०१० को फिफा विश्वकपको गीत ‘वाका वाकाः दिस टाइम फर अफ्रिका’ गीतको सेटमा स्पेनमा भएको थियो।
स्पेनिस खेलाडी पीकेले कोलम्बियन गायिका शाकिरालाई देख्नेबित्तिकै बोल्न गएका थिए। पहिलो भेटमै ‘नम्बर’ मागेका पीकेले ‘म तिम्रो अन्तिम दिनको प्रस्तुति हेर्न भए पनि विश्वकपको अन्त्यसम्म पुग्छु’ समेत भनेका थिए। नभन्दै उनको टिम फाइनलमा मात्र पुगेन, ट्रफी हात पार्यो पनि।
विश्वकप सकिएको अर्को वर्ष सन् २०११ देखि पीके र शाकिराले आफू सम्बन्धमा रहेको 'अफिसियल्ली' घोषणा गरेपछि उनीहरुले प्रायजसो मिडिया तताइरहन्थे। दुवैको जन्म दश वर्षको अन्तरमा तर एकै दिन भएको थियो। सन् १९७७ र १९८७ को फेब्रुअरीमा जन्मेका शाकिरा र पीकेमध्ये शाकिरा जेठी हुन्।
एक दशकभन्दा बढी यिनको सुन्दर सम्बन्धले खुब चर्चा कमायो। 'जोडी होस् त पीके र शाकिराजस्तो' भन्ने समेत ख्याति कमाएका थिए यिनले। 'मेरा विचारमा भगवानको अस्तित्व कुनै पद्धतिबाट पुष्टि गर्न सकिन्छ भने त्यो प्रेम नै हो। म धर्मप्रति निकै आस्था राख्छु, अनि केहि समयका लागि मैले साँचो प्रेमजस्तो प्रेम नपाएको अनुभूति गरिरहेकी थिएँ। यसैबीच मेरो भेट पीकेसँग भयो। अनि पीके मेरो जीवनको लामो रात पछिको बिहानीको किरण बनेर उदाए,' एल्लीसँगको संवादमा सन् २०१३ मा शाकिराले भनेकी थिइन्।
प्रेमकहानीको सुरुवात
'म फुटबल प्रेमी थिइनँ, त्यसैले म पीकेलाई चिन्दैनथेँ,' एक अन्तरवार्तामा शाकिराले भनेकी थिइन्, 'अनि कसैले हाम्रो परिचय गराइदियो।' गीतको छायांकनको एकैछिनको भेट दुवैको जीवनका लागि प्रभावकारी बन्न पुगेको हो। मार्च २९ सन् २०११मा शाकिराले सामाजिक सञ्जालमार्फत बार्सिलोनाका डिफेन्डर पीकेसँगको सम्बन्ध सार्वजनिक गरेकी हुन्।
स्पेनिस भाषामा 'लेस प्रेजेन्तो ए मी सोलु अर्थात प्रस्तुत छ मेरो सूर्य' क्याप्सन सहित शाकिराले दुवैको तस्विर पोष्ट गरेकी थिइन्। तस्विरमा पीकेले शाकिरालाई पछाडिबाट अंकमाल गरिरहेका छन्।
स्टेजमै चुम्बन
शाकिराको 'द सन कम्स आउट वर्ल्ड टुर' माझ बार्सिलोना छँदा शाकिराले पीकेलाई स्टेजमै आफ्ना 'सिग्नेचर स्टेप' सिकाउने निधो गरिन्। पीकेसँगै म्यान्चेष्टरसँग जित हासिल गरेर खुसी उनका केही बार्सिलोनाका साथीहरु पनि मञ्चमा नृत्य सिक्न चढे। उनीहरुको नाच सिकाइ भने विशाल तथा उत्साहित भीडका सामु पीके र शाकिराको चुम्बन र गाढा अंकमालपछि मात्र सुरु भएको थियो।
पहिलो रेड कार्पेट
स्विट्जरल्याण्डस्थित सन् २०११ को ब्यालन डीओर वितरण समारोहमा यस जोडीलाई पहिलो पटक रेड कार्पेटमा देखिएको थियो। समारोहमा प्रवेश गर्नुअघि रातो ड्रेसमा सजिएकी शाकिरा र पीके एकअर्काको नजरमा डुब्ने फुर्सद पनि निकालेका थिए।
पहिलो सन्तान
ग्रामी विजेता शाकिरालेले इन्स्टाग्राममा फोटो हाल्दै आफू गर्भवति भएको खबर सार्वजनिक गरेकी थिइन्। उनले लेखेकी थिइन्,'तपाईँहरुमध्ये कतिपयलाई थाहै होला, जेरार्ड र म हाम्रो पहिलो बच्चाको आगमनको खबरले निकै हर्षित छौँ। त्यसैले, केहि समयका लागि हामीले कार्यक्रमहरु स्थगित गरेर पूर्ण रुपमा नयाँ सदस्यलाई प्राथमिकता दिने निधो गरेका छौँ।'
सन् २०१२ को जनवरी २२ मा बार्सिलोमा पीके र शाकिराको पहिलो सन्तान मिलन पीके मेबारकको जन्म भयो। उनीहरुले वेबसाइटमार्फत उनीहरुको छोरा मिलनको नामको अर्थ पनि खुलाएका थिए। स्लाभिक र प्राचिन रोमन भाषामा मिलनको अर्थ उत्सुक तथा मेहनती अनि संस्कृतमा भेट र एकता हुन्छ। मिलन जन्मँदै एफसी बार्सिलोनाका सदस्य बनेका हुन्। शाकिराले मातृत्व कठिन भएको तर पीकेका कारण उनलाई निकै राहत मिलेको बताएकी थिइन्।
दोस्रो सन्तान
पीके र शाकिराको दोस्रो सन्तानका रुपमा साशा पीके मेबारकको जन्म सन् २०१५, जनवरी २९ मा भयो। उनका जेठा दाजुजस्तै साशा पनि बार्सिलोनामै जन्मेका हुन्। साशाको अर्थ 'लडाकुु' हुन्छ। सुरुमा उनीहरुको दोस्रो सन्तान छोरा हो कि छोरी भनेर खुलाइएको थिएन तर शाकिराका बुवाआमाले स्पेन भ्रमणका दौरान सो खबर लिक गरेका थिए।
बोस्टनमा फेमिली टाइम
दुई सन्तानसहित शाकिरा र पीकेलाई सन् २०१७ को मेमा अमेरिकाको बोस्टनमा देखियो। उनीहरु बोस्टनमा पारिवारिक समय बिताउँदै रमाइलो गर्नका लागि गएका थिए। दुवै आआफ्नो करिअरका कारण व्यस्त रहने भएकाले सायद परिवारलाई समय छुट्याएर रमाइलो गर्न गाह्रै पर्दो हो। बोस्टन भ्रमणमा पीके परिवारले त्यहाँका प्रमुख पर्यटकीय स्थलहरु भ्रमण गरे।
ग्रामीको खुसियाली, मायाको गीत
सन् २०१८ को ६०औँ ग्रामी अवार्डमा शाकिराले उत्कृष्ट लेटिन पप एल्बमका लागि ट्रफी जितिन्। मेडिसन स्क्वायर गार्डेनमा भएको सो समारोहमा उपस्थित हुन नसके पनि उनले पीकेसँग खुसियाली मनाइन्। उनीहरु भेट र प्रेम बारेको गीत 'मी एनामो' गाउँदै दुवैले जित मनाए।
पीकेको संन्यास
एमेच्योर फुटबलबाट पीकेले सन् २०१८ अगस्ट ११ मा संन्यासको घोषणा गरेका थिए। रसिया विश्वकप खेलेपछि उनले संन्यासको घोषणा गरेका थिए। पीकेको संन्यासबारे शाकिराले समर्थन तथा सहयोग जनाएकी थिइन्। उनले पीकेको फोटो पोष्ट गर्दै आफ्ना पुराना दिन सम्झेकी थिइन्।
शाकिरा र पीकेको प्रगाढ प्रेमबारे थप खुलासा
सन् २०१७ पछि आवाज नलीमा समस्या आएका कारण शाकिरा मानसिक रुपमा तनावग्रस्त थिइन्। उनले गाउन नसक्नु उनका लागि असह्य पीडा बनेको थियो। त्यहि समस्याका कारण उनी आफ्नो परिवारसँग राम्रोसँग बोल्न पनि सक्दिन थिइन्।
'पीकेले श्रीमती चुप लागे जीवन कति आनन्द हुन्थ्यो जस्तो ठट्टा गरिरहन्थे, तर म साँच्चै बोल्न नसक्दा उनी एउटा अपराधीजस्तै भएका छन्। यस्तो अपराधी जसलाई स्वतन्त्रता दिइएको छ अनि उसलाई थाहा छैन त्यो स्वतन्त्रताको के गर्ने,' द गार्जियनसँगको संवादमा शाकिराले भनेकी थिइन्।
'म कदापि सकारात्मक थिइनँ। म धेरै निराशावादी थिएँ। कसैका वरिपरि बस्नका लागि पनि म तीतो मान्छे बनेकी थिएँ,' उनले थपिन्, 'पीकेले मलाई मेरो जीवनको सबैभन्दा प्रतिकूल समयमा साथ दिएका छन्।'
शाकिराले बिहे नगर्नुको कारण
सन् २०२० मा ६० मिनेट्ससँग पीके र शाकिराको संयुक्त अन्तरवार्तामा शाकिराले बिहे नगर्नुको कारण बताएकी थिइन्। 'साँच्चै भन्ने हो भने वैवाहिक बन्धनदेखि मलाई डर लाग्छ। म चाहँदिन कि पीकेले मलाई श्रीमतीका रुपमा मात्र देखून्। उनले मलाई आफ्नी प्रेमिका, गर्लफ्रेन्डका रुपमा देखुन्। निषेधित फल जस्तै, बुझ्नु हुन्छ नि,' उनले जिस्किँदै भनेकी थिइन्, 'म उनलाई खुट्टाको बुढी औँला टेकेर हिँडेको देख्न चाहन्छु, व्यवहारको आधारमा सबै कुरा सम्भव भएजस्तो महसुस गराउन चाहन्छु।'
खटपटको खुलासा
सन् २०२२ को फेब्रुअरीमा शाकिराले उनी र पीकेको झगडा परिरहने कारणको खुलासा गरिन्। कारण थियो शाकिरामा समयनिष्ठताको कमी। शाकिराले बताए अनुसार पीकेले शाकिरालाई लामो समय कुर्नुपर्छ।
स्पेनिस टिमका खेलाडी पीकेका लागि समय निकै महत्वपूर्ण छ अनि उनी आफ्नो रुटिन कडाइका साथ फलो गर्छन्। तर शाकिरा भने समयको विषयमा धेरै नै फ्लेक्सिबल छिन्।
'उनको दिमाग नै त्यस्तै बनिसकेको छ समयको पालना गर्ने तर मेरो...। उनीसँग भेट भएपछि म धेरै पङ्चुअल बनेकी छु। तर हाम्रो झगडा पर्ने विषय पनि उही हो, उनी पर्खिरहेका हुन्छन् अनि म ढिलो पुग्छु।'
स्पेनी सञ्चारमाध्यम एल पिरियोडिकोले पीके छुट्टै बसिरहेको खबर सार्वजनिक गरेपछि पीके र शाकिराको सम्बन्ध विच्छेदबारे खबर बाहिरिन थालेका हुन्। हल्ला सुरु भएको केहि दिनपछि जुन ४ सन् २०२२ मा पीके र शाकिराले संयुक्त विज्ञप्तिमार्फत सो खबर पुष्टि गरे।
बार्सिलोनाका सबैभन्दा कान्छा (१७ वर्षिय) खेलाडी गाभीकी आमासँग पीकेको सम्बन्धबारे खुलासा भएपछि शाकिराले पीकेसँग ब्रेकअप गर्ने निधो गरेकी हुन्। गाभी अन्तर्राष्ट्रिय स्पेनी सिनियर टोलीबाट खेल्ने पहिलो खेलाडी समेत हुन्।
शाकिराले गत अप्रिलमा रिलिज भएको आफ्नो गीतमा आफ्नो बिग्रेको सम्बन्धबारे लेखेकी थिइन्। स्पेनिस भाषाको सो गीतको नेपाली गितांश
तिम्रै कारण रुँदारुँदै मेरा आँखा राता भए,
माफी माग्यौ, ठीकै छ, तर ढाँट्छौ भनी थाहा पाएँ।