व्यापरिक हिसाबले सफल सावित हुँदै गएको चलचित्र ‘कबड्डी ४’ विवादमा फस्न पुग्यो। चलचित्रको टिम र अर्काे पक्षले बेलैमा मेलमिलाप गरेर द्वन्द्वको निर्क्योल गरे। तर यसकै लेखकले यही विवादमा जोडेर पहिचानको आन्दोलन खराब रहेछ भनिदिए। अहिले मूलधारे मिडियामा यसको खासै चर्चा छैन। तर सामाजिक सञ्जाल र पहिचान पक्षधरमा यसको चर्चा राम्रै भइरहेको छ।
उपेन्द्र सुब्बा स्वयंको लेखकीय पहिचान आदिवासी संस्कृति, जीवनशैली र अनुभवसँग जोडिएर आउँछ। उनका धेरै कविता र कथा लिम्बू संस्कृति र जीवनशैलीसँग नजिक छन्। लेखक स्वयं लामो समय सिर्जनशील अराजकताको आन्दोलनमा रहे। कुन मनोदशामा लेखकले पहिचानको आन्दोलन खराब भने? त्यसको रहस्य बाहिर आउने अपेक्षा नराखेकै राम्रो। तर सिर्जनशील अराजकताको उद्देश्य किनाराकृत समुदायको सौन्दर्य शास्त्र पनि साहित्यमा समेटिनुपर्छ भन्ने हो। यी कुरा यसका अभियन्ताबाटै बेलामौकामा सुन्दै आएको हो।
सिर्जनशील अराजकता पहिचानको आन्दोलनको एक रुप हो। कुनैपनि आन्दोलन उत्पीडित, उपेक्षित र किनाराकृतको अधिकार वा उन्नतिको लागि हुन्छ। कुनै पनि सम्भ्रान्त वर्गको हितको लागि आन्दोलनको जरुरी हुँदैन। किनभने राज्यको शक्ति यहि वर्गसँग हुन्छ। यस अर्थमा पहिचानको आन्दोलन भनेको पनि उपेक्षित र सिमान्तकृतको जाति, भाषा, धर्म तथा संस्कृतिलाई उकास्न गरिएको आन्दोलन हो। यो समान र सहअस्तित्वको लडाइँ हो। यसले लोकतन्त्रको विश्वव्यापी मान्यतामा आधारित स्वतन्त्रता, समानता र मानव अधिकारको वकालत गर्छ। लोकतन्त्रको विश्वव्यापी मूल्यमान्यतामा आधारित आन्दोलन कसरी खराब हुन सक्छ?
मानवता, स्वतन्त्रता र समानताको लडाइँ कहिले पनि खराब हुँदैन। यस अर्थमा पहिचानको आन्दोलन कहिले पनि खराब हुन सक्दैन। यो मानव संसारलाई सुन्दर र समृद्ध बनाउने लडाइँ हो। पहिचानको आन्दोलन भनेको सहअस्तित्वको खोजी हो। यो निषेधको राजनीति हैन। सिद्धान्ततः यो कहिले पनि खराब हुन सक्दैन। भलै, यसलाई अगाडि बढाउने क्रममा गल्ती कमजोरी भएका हुन सक्छन्। कुनै पनि आन्दोलन तथा मुद्दा सिद्धान्त अनुरुप नहुँदा खराब परिणामहरु निस्कन सक्छन्। यसको अर्थ यो हैन कि मुद्दा वा आन्दोलन गलत थियो। गलत त सहि ढंगले आन्दोलन अघि बढाउन नसक्नु हो। साथै, आन्दोलनको नाममा देखिने कमजोरी वा समस्याको हल खोज्न नसक्नु हो।
सिर्जनशील अराजकता पहिचानको आन्दोलनको एक रुप हो। कुनैपनि आन्दोलन उत्पीडित, उपेक्षित र किनाराकृतको अधिकार वा उन्नतिको लागि हुन्छ। कुनै पनि सम्भ्रान्त वर्गको हितको लागि आन्दोलनको जरुरी हुँदैन। किनभने राज्यको शक्ति यहि वर्गसँग हुन्छ।
नेपालमा अहिले कम्युनिष्ट भनाउँदाहरुको वर्चश्व छ। उनीहरुको सैद्धान्तिक धरातल मार्क्सवाद हो। तर उनीहरुमा चरम पुँजीवादी मोह देखिएको छ। आफूले वकालत गर्ने सिद्धान्तलाई व्यवहारमा उतार्न नसक्नु नेपालको कम्युनिष्टहरुको समस्या हो। यसको आधारमा मार्क्सवाद ढोंग हो भन्न मिल्दैन। नेपालमा अहिले संसदीय व्यवस्थाको अभ्यास भइरहेको छ। नेपालको संसदीय व्यवस्थामा दुई तिहाइ बहुमत हुँदा पनि सरकार सञ्चालनमा समस्या आएका छन्। कहिले दरबारको हस्तक्षेत त कहिले ठूलो दलको नेताको दम्भले यो व्यवस्थामा धावा बोल्ने काम भएको छ।
यसको मतलब नेपालमा संसदीय व्यवस्था फाप्दैन भन्नु पूर्वाग्राही सोच हुन्छ। व्यवस्था कति प्रभावकारी हुन्छ भन्ने कुरा व्यक्तिको नियतमा पनि भर पर्छ। व्यक्तिको नियतमै खोट भएपछि कुनैपनि व्यवस्था अफापशिद्ध नै हुन्छ। यहि कुरा पहिचानको आन्दोलनमा पनि लागू हुन्छ। सिद्धान्ततः पहिचानको आन्दोलनमा कुनै खराबी छैन। यो आन्दोलन दबितहरुको हितमा गरिएको प्रयास हो।
कुनै पनि समुदाय विशेषमा आफ्नो गल्ती ढाकछोप गरिने कामप्रति चिन्ता प्रकट गरिँदै आएको छ। यो घटना र गुनासो दुवै पहिलो हैनन्। कुनैपनि समुदायले आफ्नो समुदायको व्यक्तिमाथिको कुनैपनि आक्षेप सुन्न चाहँदैन। यो समस्या हाम्रो नेपाली समाजमा व्याप्त छ। तर यो पहिचानको आन्दोलनको परिणाम भने हैन। कसैले पहिचानको आन्दोलनको परिणाम भएको दाबी गर्छ भने उसले नेपाली समाजको अध्ययन राम्रोसँग गरेको छैन भनेर बुझ्नुपर्छ। यी समस्यामा हाम्रो सामाजिकरणको गहिरो भूमिका छ। सामाजिक, सांस्कृतिक स्तरिकरणले आफ्नोको गल्ती ढाकछोप गर्नलाई प्रेरित गरेको छ। धेरै हदसम्म सामाजिक संरचनाले पनि भूमिका खेलेको छ।
हाम्रो सामाजिकरणमा सामाजिक तथा सांस्कृतिक स्तरिकरणको भूमिका महत्वपूर्ण रहँदै आएको छ। हाम्रो समाजमा विभिन्न जाति, समुदायहरु छन्। ती समुदायहरु एक अर्कासँग फरक मात्र भनिएको छैन, ती जातिहरु एकभन्दा अर्काे ठूलो वा सानो भनेर स्तरिकरण पनि गरिएको छ। जात व्यवस्थामा आधारित समुदायमा कुनैपनि जाति मिहिनेत र प्रयासले उच्च हुन सक्दैन। आफू कुन जातमा जन्मियो, त्यसको आधारमा उनको तह निर्माण हुन्छ। यसरी माथि जान नपाएपछि आफू तल परिने चिन्तामा पिरोलिएको छ हाम्रा जाति तथा समुदायहरु। यसले गर्दा समुदायहरुबिच एकअर्कासँग सहकार्यको भावना विकास भएको छैन। केही हदसम्म विकास भएको छ तर पूर्ण रुपमा छैन।
हिजोको दिनमा एकअर्कासँग भएको असुरक्षाको भावना आज पनि कायम छ। साथै आफू ठिक हुँ भन्ने अभिमान हरेक जाति र समुदायमा छ। सही छु भन्ने अभिमान तथा असुरक्षाको भावनाले कुनै पनि समुदायले आफ्नो गल्ती देखिरहेको हुँदैन। गल्ती नै भए पनि ठूलो स्वरमा प्रतिरोध गरेर आफ्नो गल्ती लुकाउने प्रयास गर्छ। यो हाम्रो सामाजिकरणको परिणााम हो, पहिचानको आन्दोलनको हैन। यो समस्या पहिचानको आन्दोलन शुरु हुनुभन्दा धेरै अघि देखिको हो। त्यसैले पहिचानको आन्दोलनले हामीबाट मेरो भन्नेमा पुर्यायो भन्नु सही विष्लेषण हुन सक्दैन।
हाम्रो सामाजिक संरचना र अभ्यासले फरक जाति समुदायसँग फरक ज्ञान र दर्शन हुन्छ भनेर सिकाएन। आफूमा जे छ, त्यो नै उत्तम ज्ञान र दर्शन भन्ने सिकायो। हामीलाई अरु जाति र समुदायसँग अन्तरक्रिया र सहकार्य गर्नुपर्छ भन्ने सिकाएन। तर पहिचानको आन्दोलनले कम्तिमा किनाराकृतबीच सहकार्यको अभ्यास शुरु भएको छ।
साथै, पहिचानको आन्दोलनले स्थापितको कला, धर्म तथा संस्कृतिलाई अस्वीकार गरेको हैन। यसले आफ्नो कला, संस्कृति, भाषा तथा धर्मको पनि सम्मान हुनुपर्छ भनेको मात्र हो। अरुको भाषा, धर्म, कला तथा संस्कृतिलाई निषेध गर्नुपर्छ भनेको छैन। तसर्थ, हामीबाट मेरो भन्ने भावना पहिचानको आन्दोलनको परिणाम हैन।
पहिचानको आन्दोलनका नाममा आफ्नो दुनो सोझ्याउने काम नभएका हैनन्। पहिचानको आन्दोलनलाई अतिरञ्जित गर्ने प्रयास पनि भएको छ। हरचिज राजनीतिकरण भएको ठाउँमा पहिचानको आन्दोलन राजनीतिबाट अछूतो छ भन्नु कोरा आदर्श हुन्छ। यद्यपि सिद्धान्त त पहिचानको आन्दोलन अधिकारको आन्दोलन पनि हो। अधिकारको आन्दोलनले सदैव जिम्मेवारी बोधको अपेक्षा राख्छ। यसले अपराधलाई ढाकछोप गर्ने परिकल्पना गर्दैन।