पहिलो संविधानसभाको कार्यकालभरि दम्भमा उफ्रिएको माओवादी त्यसपछि निरन्तर आफू दुब्लाउँदै गएको चिन्ताबाट प्रताडित छ।
यस्तो चिन्ता विभिन्न शैलीमा प्रकट हुँदै आएका छन्। माओवादीले समाधानको उपाय खोजे जस्तो गर्छ तर व्यवहारमा उतार्न सक्दैन। आउटसाइडरलाई लाग्छ कि माओवादीले पार्टीलाई उकास्नको लागि ल्याएको योजना वा दिएको अभिव्यक्ति कार्यकर्ता थुमथुम्याउने प्रयासमात्र हो।
वास्तवमा माओवादीको बदलिएको व्यवहार र सत्ता स्वार्थकै कारण आफ्नो समस्याको उपचार खोज्न सकिरहेको छैन। पछिल्लो समय माओवादीलाई सशक्त बनाउने अभिव्यक्ति पार्टीका एक उममहासचिव जनार्दन शर्माबाट आएको छ। उनले कर्णाली प्रदेश पुगेर माओवादीलाई पुनर्गठन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्। यसको लागि पार्टीभित्रको बेरोजगारी समस्या हल गर्नुपर्ने उनले तर्क गरेका छन्। निश्चय नै कार्यकर्ताको संरक्षण तेश्रो विश्वको राजनीतिमा अति महत्त्वपूर्ण छ।
अझ क्याडर बेस्ड पार्टीको लागि त कार्यकर्ताको संरक्षण अति नै महत्त्वपूर्ण हुन्छ। नेपालमा कम्युनिष्ट सिद्धान्तको जगमा उभिएका दलहरूले कार्यकर्ताको संख्यालाई पार्टीको मेरुदण्ड मान्छन्। माओवादीले १० वर्षको युद्धमा नेताको योजना, विचार वा रणनीतिले मात्र सिंगो देशलाई प्रभावित गरेको थिएन। सिद्धान्तमा समर्पित भएर बलिदान हुन तयार कार्यकर्ताको योगदान पनि उत्तिकै महत्त्वपूर्ण थियो। माओवादी खुला राजनीतिमा आएपछि ती कार्यकर्तालाई जोगाएर राख्न सकेन। यसको एउटै कारण हो कि माओवादीका नेता पुँजीवादको चास्नीमा भुलिँदै गए।
पुँजीवादको विशेषता भनेको यसले मानिसलाई अति नै सुखसयल दिन सक्छ। तर, दुर्भाग्य यो सुखसयल सबैको लागि हुँदैन। केहीका लागिमात्र हुन्छ। पुँजीवादको चास्नीमा डुब्दै गर्दा माओवादीका उपल्लो तहका नेताले उच्चतम आनन्द पाए। यति आनन्द पाए कि हिजो युद्धकालमा गरेको दुःख त बिर्सिए नै, साथै युद्धकालमा आफैंले देखाएको सपना पनि त्यागे। सार्वजनिक मञ्चमा समाजवादको कुरा गर्छन्, जो उनीहरूको युद्धकालदेखिकै सपना हो। तर, अब पार्टीको नाम बदल्न तयार भएको माओवादीले सिद्धान्तको वकालत गर्नु सार्वजनिक खपतको कुरामात्र हो।
माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन छन्।
उनीहरूको मनमा सिद्धान्तप्रतिको लगाव छैन। आफूमाथि प्रश्न तेर्सिने हिसाबले सार्वजनिक रूपमा सिद्धान्त भुलेका छैनौं भनेका मात्र हुन्। सिद्धान्त कति आत्मसात् गरेका छन् भन्ने कुरा बुझ्न उनीहरूले अंगालेको जीवनशैली नै पर्याप्त छ। राजनीतिमा शक्ति आर्जनको लागि उनीहरूले पार्टीभित्र र बाहिर अपनाइरहेको षड्यन्त्रको सिद्धान्त र दुई जिब्रे तर्क अझ अर्को प्रमाण हो।
जनार्दन शर्मा अर्थमन्त्री रहिसकेका माओवादी नेता हुन्। उनले नै पार्टीमा बेरोजगारीको समस्या औंल्याएपछि केही प्रश्नहरू उठ्छ्न्। माओवादीका नेताहरू आर्थिक रुपले सहज जीवन बाँच्दै गर्दा किन उनीहरूका कार्यकर्ताको अवस्था विजोग भयो। कार्यकर्ताको हित तथा उन्नतिको लागि मार्क्सवादभित्र रहेर किन बाटो पहिल्याउन सकेनन्। अर्थमन्त्रीको रुपमा जनार्दनको छवि जगजाहेर छ। माओवादीका धेरै नेताहरू कहाँदेखि कहाँ पुगिसकेका छन्? कतिले पार्टी छोडेका छन्। कति अर्को पार्टीमा विराजमान भएका छन्।
उनीहरूले पार्टी छोडेर जाँदै गर्नुमा दुई कुराले काम गरेको छ। एक- जडसूत्रवादी कम्युनिष्ट सिदान्तलाई परिवर्तित समय र त्यसको आवश्यकता अनुरुप सोच्न नसक्नु। अर्को भनेको कम्युनिष्ट सिद्धान्तलाई तिलाञ्जली दिएर केवल अवसर खोज्नु। समय अनुसार आफू परिवर्तन नहुनेले समाजलाई पनि परिवर्तन गर्न सक्दैन। साथै, सिद्धान्त र व्यवहारमा एकरूपता नहुनु भनेको ढोंग हो। जडसूत्रवाद र ढोंग दुवै राजनीतिज्ञ र दलको लागि राम्रो होइन। राजनीतिको आदर्श सिद्धान्त पूरै व्यवहारमा उत्रिन्छ भनेर अपेक्षा राख्नु पनि भुल हो। तर, यसो भन्दैमा राजनीतिक दलमा आवद्ध नेतालाई जडसूत्रवादी वा ढोंगी हुने छुट पनि हुँदैन।
माओवादीले अलाप्ने सिद्धान्त र उनीहरूको व्यवहारमा तालमेल छैन। यसको अर्थ यो नलागोस् कि अन्य दलको सिद्धान्त र नेताको व्यवहारमा तादाम्यता छ। यतिचाहिँ हो कि उनीहरूले कार्यकर्ताको लागि पनि कुनै न कुनै व्यवस्था गरेका छन्। माओवादीको उपल्लो नेता तथा उनीहरूको नजिक रहेका बाहेक धेरै कार्यकर्ताको समस्या विकराल छ। यसमा कहिँकतै माओवादी चुकेकै हो।
हिजोका दिनमा बहिर्गमनमा परेका लडाकुको नाममा राज्यकोषको पैसा कार्यकर्तालाई दिलाउन माओवादी सफल भयो। त्यसलाई लगानीको रुपमा प्रयोग गर्न भने माओवादी चुक्यो। लगानीको रुपमा प्रयोग गर्न सफल भएको भए आज माओवादी कार्यकर्तामा यति धेरै वितृष्णा हुँदैन थियो। उल्टै त्यो रकमको केही हिस्सा पार्टीले राख्न खोजेको भनेर समाचार आएको थियो। यसले कार्यकर्ताको चित्त दुखाउने काम गर्यो।
वर्तमान प्रधानमन्त्री प्रचण्डले अयोग्य लडाकुलाई दुई लाख दिने घोषणा गरेका छन्। सत्तारुढ दलहरुबाट यसको कतै पनि विरोध भएको देखिँदैन। यसको अर्थ राज्यकोषको पैसा बाँड्न माओवादी सफल हुनेछ। तर, व्यक्तिलाई लगानीको कुनै सीप र ज्ञानबिना दुई लाखमात्र दिएर केही हुनेवाला छैन। दुई/चार दिन रकम पाउनेको मुहार उज्यालो होला तर यसले उसको जीवन बदलिँदैन। राज्यकोषको पैसा खर्च हुने मात्र हो। शान्ति प्रक्रियापछि दलको कार्यकर्तालाई वैधानिक राज्यकोषको पैसा दिलाउने दल भनेको माओवादी मात्र हो।
यद्यपि किन उसले आफ्ना कार्यकर्तालाई पार्टीमा थमाएर राख्न सकेको छैन। किनभने नेताहरू सहरमुखी र सुविधा भोगी भइसके। माओवादी नेतालाई अहिले गाउँ जान सकस लाग्छ। कुनै पनि हालतमा शक्तिमा पुग्नमात्र ध्याउन्न हुन्छ। कार्यकर्ता र जनताको हितमा दिइने अभिव्यक्ति सार्वजनिक खपतका खुराकमात्र हुन्। आफ्नो राजनीतिक प्रयास र प्राथमिकताका कुरा होइनन्। हिजो युद्धकालमा त्यो प्राथमिकता थियो होला, तर सत्ता र शक्तिको सुखसयलले माओवादीको नेतालाई यति बदल्यो कि उनीहरू व्यक्तिवादी बन्न पुगे।
गाउँघरमा एउटा उखान छ- खाएको चिजको रस पाइन्छ। युद्धकालमा माओवादी पुँजीवादी व्यवस्थाको घोर विरोधी थियो। शान्ति प्रकृयामा आएपछि भने पुँजीवादको रसास्वादन गर्दै गयो। डेढ दशकभन्दा बढीको खुला राजनीतिमा माओवादीले पुँजीवादको स्वाद चिनिसक्यो। पुँजीवादले मान्छेलाई ब्यक्तिवादी बनाउँछ। माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ।
उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन छन्। प्रचण्ड स्वयं भने यो वा त्यो रुपमा सत्ताको फेरोमात्र लगाउँछन्। आफूमा गणेश प्रवृति मौलाएको माओवादी नेताले कार्यकर्ताको जीवनमा अभाव र दुःखले निरन्तर फेरो हालेको देख्दैनन्। माओवादी खस्किनुको मूल कारण यति नै हो।