काठमाडौं- नेपालको पूर्वी पहाडी जिल्ला खोटाङ अनि पृथ्वीको अर्को कुनो अमेरिका। धेरै नेपालीका लागि अमेरिका सपनाको देश हो। अमेरिका छिर्न केसम्म गर्दैनन् नेपाली ! सपनाको देशमा पाइला टेक्न हुने संघर्षका कथा हामीले सुनेका–पढेका नै छौं। अवैधानिक रुपमा अमेरिका छिर्न खोज्दा कैयौंले ज्यान गुमाएका घटना पनि बारम्बार बाहिर आइरहेका हुन्छन्।
शिक्षा, स्वास्थ्य, प्रविधि, जीवनशैली हरेक हिसाबले अग्रणि मुलुक अमेरिका पुग्ने र त्यहाँ बसोबास गर्ने इच्छा कसलाई नहोला र। आफ्नै क्षमता र मिहिनेतले अमेरिका पुगेर त्यहीँ आफ्नो कर्मभूमि बनाएका थोरैमात्र नेपाली छन्, जसले आफ्नो माटो पनि बिर्सेका छैनन्।
यस्तै हुन् डा. चन्द्र गिरी। नेपालको दुर्गम पहाडी जिल्लाको पनि दुर्गम गाउँमा जन्मेर कठिन बाल्यकाल बिताएका गिरीको सफलता लोभलाग्दो छ। आफ्नो संघर्ष र सफलतालाई उनले हालै सार्वजनिकीकरण गरेका छन्– ‘मैले नदेखेको सपना’ नामक पुस्तकमार्फत्।
पुस्तकमा गिरी खोटाङदेखि झापासम्म अनि थाइल्याण्डदेखि नर्थ क्यारोलाइनासम्म खुलेर पोखिएका छन्। एउटा पहाड उक्लेपछि झन् अर्को पहाड चढ्न हौसिने अथक यात्री लाग्छन् गिरी। रिमोट सेन्सिङ र जिआइएसमा उनको विशिष्ट क्षमताका साथै विश्व वातावरण र विज्ञानको क्षेत्रमा समर्पित गरेको जोश, जाँगर र उत्साह पुस्तकमा पढ्न पाइन्छ।
गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्। पुस्तकमा जातभात र छुवाछुतप्रति चर्को विरोध छ। वर्ण व्यवस्थाप्रति गिरी सहमत छैनन्। उनलाई धर्मभन्दा कर्मप्रति विश्वास छ। कर्ममा निष्ठावान भएकै कारण उनले एकपछि अर्को सफलता हात पारेका छन्। आफूले पाएको कार्यभारलाई सधैं संवेदनशील भएर पूरा गरेका छन् र त हरेक परीक्षामा खरो उत्रिए। यो कुरा हामीमा पनि लागू हुन्छ। बूढापाकाले त्यसै भनेका होइनन्– भाग्यमा छ भनेर डोकोमा दूध दुहे अडिँदैन।
एउटा कर्मशील व्यक्तिको जीवनमा घटेका सुख–दुःखका घटना, साहस, त्याग, सफलता–असफलता र उपलब्धिको रोमाञ्चक विवरण पुस्तकमा छ। युवालाई आफूले रोजेको बाटोमा अगाडि बढ्न, आफ्नो क्षमतामा विश्वास गर्न र अनवरत रुपमा आफ्नो गन्तव्य पछ्याइराख्न यो पुस्तकले प्रेरणा दिन्छ। वृत्ति विकासका लागि भौंतारिरहेका कतिपय युवाका लागि प्रेरणाको स्रोत बन्न सक्छ डा. गिरीको जीवनकथा। किनभने एकले भोगेको जीवन धेरैका निम्ति मार्गदर्शन बन्न सक्छ। १० वर्षको कलिलो उमेरमा ६ दिन पैदल हिँडेर पहिलो पटक बस चढेको बालक विश्वकै प्रतिष्ठित वैज्ञानिक बनेर १२५ देशको भ्रमण गर्नु पक्कै पनि चानचुने कुरा होइन।
बजारमा छ्यापछ्याप्ती पाइने आत्मकथाका पुस्तक पल्टायौं भने अक्सर आफ्नै बखान पाइन्छ। धेरैजसो आत्मकथा आत्मप्रसंशाका ठेली लाग्छन्। सत्य बोल्न हिम्मतिलो छाती हुँदैन सबैसँग। डा. गिरीले भने आफूले गरेका गल्ती र असफलता निर्धक्कसाथ लेखेका छन् पुस्तकमा। पुस्तकमा उनले आफ्नो बखानभन्दा बढी अरुलाई चिनाएका छन्, विभिन्न ठाउँको जानकारी दिएका छन्।
गिरीको आत्मकथाले उनको मात्रै कथा भन्दैन, समाज र देश पनि बोल्छ। एक हिसाबले भन्दा शैक्षिक खुराक पनि हो मैले नदेखेको सपना। गिरीको पुस्तक पढेपछि लाग्छ– निरन्तरको लगन र मेहनतले उचाइमा पुर्याउँछ, इमानदार साथीको साथ र शुभचिन्तकको हौसलाले अघि बढ्न प्रेरणा मिल्छ अनि माटोसँगको सान्नीध्यताले देशका लागि केही गरौं भन्ने हुटहुटी जगाइरहन्छ। अनुभवले खारिएका गिरीको भोगाइ पढिरहँदा उनमा उच्च देशप्रेम भेटिन्छ। देशप्रतिको उनको प्रेम ओठे होइन, उनले काम नै गरेर देशप्रतिको माया दर्शाएका छन्। परदेशमा रहँदा पनि उनले हृदयमा देश बोकेका छन्। सँगै गिरीमा देशमा विद्यमान विकृति–विसंगतिप्रति आक्रोश पनि छ।
बूढापाका भन्छन्– दुःखमा नआत्तिनु, सुखमा नआत्तिनु। यो कथनलाई आफ्नो जीवनमा लागू गरेका छन् डा. गिरीले। तमाम अनिश्चयका बाबजुद निर्णायक घडीमा उचित निर्णय लिँदै अघि बढेका छन् गिरी। समयले दिएको चुनौतीलाई स्वीकार गर्दै बुद्धिमतापूवर्क त्यसको समाधान खोजेका छन्। स–साना घटनाले पनि कसरी जीवनको सत्य बोध गराउँछ भन्ने कुरा पुस्तक पढेपछि महसुस हुन्छ।
बाधा–व्यवधान कसको जीवनमा आउँदैन र। अझ नेपालको सामान्य किसान परिवारमा जन्मे–हुर्केको जोकोहीले अनेक उल्झनहरु खेप्नुपर्छ। कतिपय यिनै व्यवधानमा अल्झिन्छन् अनि कोहीचाहिँ काँडाहरु पन्छाउँदै अघि बढ्छन्। काँडाले गन्तव्यलाई नरोक्नेमा पर्छन् गिरी। त्यसैले त ६ दशकको उमेरमा पृथ्वीको ठूलै भूगोलको यात्रा गरिसकेका छन् अनि पेशागत हिसाबले उल्लेख्य उचाइ नापिसकेका छन्।