काठमाडौं– जेठ महिनाको १५ दिनमा निक्षेप १३ अर्ब रुपैयाँ बढेको छ। वैशाखको अन्तिम साता ४ अर्ब रुपैयाँले घटेको निक्षेप जेठको पहिलो साता ७ र दोस्रो साता ६ अर्ब रुपैयाँले बढेको हो।
नेपाल बैंकर्स संघका अनुसार आर्थिक वर्ष सकिन लागेपछि बढ्दै गएको पुँजीगत खर्च र चुनावको समयमा दलहरुले गरेको खर्च बैंकिङ प्रणालीमा आउन थालेपछि वाणिज्य बैंकहरुमा निक्षेप बढ्न थालेको हो।
संघले यो अवधिमा ६ अर्ब रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको जनाएको छ। जेठ पहिलो साता २ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेका वाणिज्य बैंकहरुले दोस्रो साता भने ४ अर्ब रुपैयाँ बराबरको ऋण प्रवाह गरेका छन्। जेठ महिनाको दुई सातामा विदेशी मुद्राको निक्षेपमा भने खासै परिवर्तन भएको छैन।