बुधबार, असार १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेटबारे विनोद चौधरी– अर्थतन्त्रमा दोस्रो चरणको सुधार सुरु भएको छ

बजेटबारे विनोद चौधरी– अर्थतन्त्रमा दोस्रो चरणको सुधार सुरु भएको छ

नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले अब अर्थतन्त्रको दोस्रो चरणको सुधार सुरु हुने बताएका छन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोद चौधरीले अब अर्थतन्त्रको दोस्रो चरणको सुधार सुरु हुने बताएका छन्। प्रतिनिधिसभामा आगामी आर्थिक वर्षको बजेट छलफलमा भाग लिँदै उनले २०४८ सालपछि अर्थतन्त्रमा अब दोस्रो चरणको सुधारको सुरुवात हुने बताए। 

National life

पटक पटक आफूले यस विषयमा कुरा उठाए पनि त्यसप्रति सुनुवाइ नभएको उनको गुनासो छ। पटक पटक हचुवाको निर्णयका कारण भत्किएको संरचनालाई बदल्ने प्रत्साहन विन्दुको रुपमा अहिलेको बजेटलाई लिनुपर्ने चौधरीको भनाइ छ।  

चौधरीले भने, ‘मलाई लाग्छ यो बजेटले २०४८ सालपछि राज्यले कुरेर बसेको दोस्रो चरणको सुधारको सुरुवात गरेको छ। विश्व बदलिँदैछ, छिमेकी राष्ट्रहरु बदलिँदै छन्। नेपालमा काम गर्ने वातावरण बदलिँदै छ, प्रवधि बदलिँदैछ। ती सबैको पृष्ठभूमिमा अर्थमन्त्रीज्यूले बजेटमार्फत निजी क्षेत्रलाई विकासको इन्जिनको रुपमा स्वीकार गर्नु, मेक इन नेपाल जस्तो १० वर्षे उद्योग सम्बन्धी रणनीतिलाई अंगाल्नुले दोस्रो चरणको सुधारतर्फको संकेत गरेको छ।’

स्थिरता, उत्पादनशिलता र  रोजगारी वृद्धि, आफ्नै उत्पादन तथा आफ्नै उपभोग, वैदेशिक लगानी जस्ता क्षेत्रहरुमा बजेटले महत्वपूर्ण सुधारको प्रयास भएको चौधरीले दाबी गरे। वैदेशिक लगानीका लागि महिनौंसम्म कुर्दै सरकारी कार्यालयका ढोका–ढोका चाहार्नुपर्ने अवस्थाको अन्त्य गर्नै १० करोडसम्मको लगानी डिजिटल माध्यमबाट स्वीकृति पाइने व्यवस्था, रोजगार तथा स्वरोजगारको नाममा राजनीतिक कार्यकर्तालाई पैसा बाँड्नुको सट्टा प्रदेशलाई शक्तिशाली बनाएर युवालाई इन्क्युभेटर दिने कार्यक्रम बजेटमामा समावेश गर्नु प्रशंसनीय रहेको चौधरीले बताए।

पैसा विकासको बाधक नभएको विगतका आयोजनाहरुबाट प्रष्ट भइसकेको भन्दै चौधरीले भने, ‘पैसा समस्या होइन रहेछ भन्ने कुरा विगतका आयोजना, विगतका कार्यक्रमबाट प्रष्ट भइसकेको छ। सातभन्दा बढी कार्यक्रम योजना आयोग, प्रधानमन्त्री रोजगार कार्यक्रमदेखि लिएर विभिन्न शीर्षकमा विनियोजन भएका बजेट खेर गए वा कार्यकर्तालाई बाँडियो।’

Shivam cement

कोभिड–१९ को समयमा राहत कार्यक्रममा स्थानीय तथा प्रदेशलाई भूमिका नदिएको भए कोभिडविरुद्धको लडाइँ सफल नहुने दावी गर्दै उनले रोजगारी र उत्पादन वृद्धिमा स्थानीय तहलाई अधिकार दिनुपर्नेमा जोड दिए। रोजगारी पनि कोभिड महामारी जस्तै समस्या भएकाले प्रदेशलाई शक्तिशाली बनाउनुपर्ने चौधरीले बताए।

बजेटबाट सरकारले स्वदेशी उत्पादन बढाउन स्पष्ट योजना अघि सारेको उनले बताए। आयात प्रतिस्थापन गर्नेगरी उत्पादन बढाउन बजेटले स्पष्ट दिशा लिएको उनको तर्क छ।

उनले भने, ‘नेपालमा उत्पादन हुने वस्तु छिमेकी मुलुकमा लग्नका लागि ८ प्रतिशत अनुदान दिने व्यवस्था आउनु स्वागतयोग्य विषय हो। नेपालको ३० प्रतिशत आयात घटाउने र स्वदेशमा उत्पादित कृषि उत्पादनलाई प्राथमिकता दिनेगरी आयातित वस्तुमा करका दर हेरफेर गरिएको छ। यो नीति समेत उत्कृष्ट छ।’ १० करोड रुपैयाँसम्म विदेशी लगानी डिजिटल माध्यमबाट स्वीकृति दिने व्यवस्था समेत राम्रो भएको चौधरीले बताए। 

यसका साथै पूर्वाधार क्षेत्रलाई बजेटले दिएको प्राथमिकता समेत स्वागतयोग्य रहेको चौधरीको भनाइ छ। ‘पूर्व–पश्चिम राजमार्गलाई ३० अर्ब विनियोजन हुनु र ४ लेनको बनाउनु स्वागतयोग्य छ। पोखरा र भैरहवा विमानस्थल सुरू हुन लागेको स्थिति छ। नेपालले भारत र चीनबाट मात्रै वार्षिक ५० लाख पर्यटक ल्याउन सक्छ। बजेटले त्यही दृष्टिकोण लिएको छ,’ उनले भने।

प्रकाशित: May 31, 2022| 14:35 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्