काठमाडौं– अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा प्रस्तुत गरेको बजेटमाथि संसद्मा छलफल जारी छ। सत्ता तथा प्रतिपक्षी सांसदहरुले बजेटको विषयमा धारणा राखिरहेका छन्।
छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री तथा नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेट सरकारको सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रमको सिद्धान्तभित्र रहेर आएकाले बजेट राम्रो रहेको बताए। बजेट कार्यान्वयन पनि हुन सक्ने उनको दाबी छ।
प्रस्तुत बजेट निर्धारित समयभित्र नै कार्यान्वयन हुने र अपेक्षित लक्ष्य हासिल हुने दावी उनले गरे। ‘निश्चित उद्देश्य, सिद्धान्त र प्राथमिकता सरकारले जुन प्रस्तुत गरेको थियो। त्यसैलाई पछ्याएर अर्थमन्त्रीले बजेट प्रस्तुत गर्नुभएकोमा बधाई तथा शुभकामना,’ उनले भने।
बजेटको उद्देश्यमा उत्पादनमा आधारित अर्थतन्त्र, रोजगारी सिर्जना र गरिबी निवारण, संघीयतालाई समृद्धिको संवाहकको रुपमा स्थापित गर्ने, सन्तुलित समावेशी आत्मनिर्भर र समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने लगायतका ४ वटा पक्षले अर्थतन्त्रको संरचनात्मक परिवर्तनमा सहयोग पुर्याउने पुनको भनाइ छ। ‘हाम्रो संरचनात्मक समस्यालाई परिवर्तन र रुपान्तरण गर्ने बजेटले राम्रो कोसिस गरेको छ। हाम्रो अर्थतन्त्र भनेको निर्वाहमुखी कृषिमा आधारित अर्थतन्त्र हो। आज पनि ६१ प्रतिशत जनता कृषिमा निर्भर रहेका छन्,’ पुनले भने।
नेपालमा प्रत्येक आर्थिक वर्ष ५ लाख जनशक्ति श्रम बजारमा आउने तर देशभित्रै ५० हजारमात्रै रोजगारी सिर्जना हुने भएकाले बाँकी ४ लाख ५० हजार जनशक्ति बाहिरिनुपर्ने बाध्यात्मक अवस्था रहेको बताउँदै पुनले कृषि क्षेत्रको संरचनात्मक परिवर्तन गरी कृषि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए।
कृषि अन्तर्गत धान, गहुँ, मकै, फलफूल तथा तरकारीको उत्पादन ३० प्रतिशतले बढाउने र आयात २० प्रतिशतले घटाउने , ५ वर्षमा व्यापार सन्तुलन कायम गर्ने, वार्षिक मर्यादित रोजगारी ३० प्रतिशतले बढाउने, भूमिहिन दलितलाई ३ वर्षमा आवास उपलव्ध गराउने ,८ लाख निरपेक्ष गरिबीभित्र रहकालाई माथि उठाउने र शिक्षा तथा स्वावस्थ्यमा सुधार गर्ने कुराहरु बजेटमा समावेश गरिएको राम्रा पक्ष भएको पुनले बताए।