आइतबार, असोज ११, २०८३

संसद्‍मा विष्णु पौडेललाई मीनेन्द्रको कटाक्ष

नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले भूमिका बदलिँदैमा आकाश जमिनको फरक नहुने भन्दै पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि कटाक्ष गरेका छन्।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– नेपाली कांग्रेसका सांसद डा. मीनेन्द्र रिजालले भूमिका बदलिँदैमा आकाश जमिनको फरक नहुने भन्दै पूर्वअर्थमन्त्री विष्णु पौडेलमाथि कटाक्ष गरेका छन्। 

प्रतिनिधिसभामा जारी बजेट छलफलमा भाग लिँदै उनले पौडेललाई जवाफ दिएका हुन्। एमाले सांसद पौडेलले सरकारले ल्याएको बजेट चुनावी घोषणापत्र जस्तो भएको र हावादारी लक्ष्य प्रस्तुत गरेको आरोप लगाएका थिए। पौडेलपछि बोलेका रिजालले बजेटको मूल दिशा ठिक भएको भन्दै अहिलेको अवस्थामा बजेट योभन्दा राम्रो आउने ठाउँ नरहेको दावी गरे। आफूलाई बजेटमाथि केहि टिप्पणी गर्ने मन भए पनि विष्णु पौडेलको टिप्पणीपछि त्यसको कुनै आवश्यक नरहेको रिजालले बताए।  

‘पोहोर साल उहाँले बजेटको विवरण संसदको सट्टा संसदभन्दा बाहिर प्रस्तुत गर्दा आज बोलेकै कुरा सम्झेर प्रस्तुत गरेको भए कति राम्रो हुन्थ्यो। उहाँले त्यसबेला अर्थतन्त्र ६.५ प्रतिशतले वृद्धि हुन्छ भन्नुभयो। कोभिडले थलिएको थियो मुलुक। खोप लगाउन सुरु पनि भएको थिएन। आज ८ प्रतिशतभन्दा उहाँलाई अचम्मैजस्तो लाग्यो। उहाँले ६.५ प्रतिशतले मुद्रास्फीति हुन्छ भन्नुभयो, अहिले ७ प्रतिशत हुन्छ भन्दा उहाँलाई त्यतिले पनि पुगेको छैन। भूमिका बदलिएको छ उहाँको तर भूमिका बदलिएको छ भन्दैमा कुरामा आकास जमिनको पनि फरक हुनु हुँदैन,’ रिजालले भने।

संशोधित अनुमानभन्दा चालू खर्च ३० प्रतिशतले, अन्य तहमा जाने खर्च १० प्रतिशतले, समग्र चालू खर्च २१.७ प्रतिशतले, पुँजीगत खर्च २६.७ प्रतिशतले, वित्तीय व्यवस्था ३२.७ ले बढाइएको उनले बताए। प्रस्तुत लक्ष्य कार्यान्वयनका लागि चुनौतीपूर्ण भए पनि असम्भव भने नभएको रिजालले बताए। 

चालू आर्थिक वर्षको बजेट मार्फत राजस्व लक्ष्यको वृद्धिदर गत वर्षकै बजेटको हाराहारीमा राखिएको रिजालले बताए। सांसद पौडेलले राजस्व लक्ष्य वृद्धिदर २१.८ प्रतिशत भएको बताएका थिए। त्यसको प्रत्युत्तरमा रिजालले पौडेलले प्रस्तुत गरेको बजेट र डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा पनि राजस्व वृद्धिको लक्ष्य त्यो भन्दा कम नभएको दाबी गरे।

अर्थतन्त्रको स्वाभाविक गति, प्रचलित मूल्यवृद्धिको असर र कर उठाउने क्षमताको वृद्धिबाट पनि बजेटमा प्रस्तुत लक्ष्यको राजस्व उठाउन सकिने रिजालले दाबी गरे।

यसैगरी आन्तरिक ऋण बढ्दै जानु चिन्ताको विषय भए पनि ऋण विरासतमा प्राप्त भएको उनले बताए। ‘ऋण उठाउनुपर्ने वा आवश्यक वित्तीय व्यवस्था हामीले सिर्जना गरेको होइन। विगतलाई फर्केर हेर्ने हो भने यो संसद् निर्वाचित भएर आउँदै गर्दा आन्तरिक र वैदेशिक ऋण कहाँ थियो? हामीले तिर्नुपर्ने वित्तीय व्यवस्थाको अवस्था के थियो र तपाईंहरुले छोड्ने बेलामा कहाँ पुग्यो, त्यसलाई ठन्डा दिमागले हेर्नुभयो भने त त्यसमा हामीलाई जिम्मा लगाउन त सक्नुहुन्न नि। अरु बाँकी सबै जिम्मा हामीलाई दिए हुन्छ,’ उनले भने।

प्रकाशित: May 31, 2022| 12:47 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्