आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बर्खा नलाग्दै बन्द गरियो मेलम्चीको सुरुङ, अब कात्तिकमा मात्रै पानी आउने

बर्खा नलाग्दै बन्द गरियो मेलम्चीको सुरुङ, अब कात्तिकमा मात्रै पानी आउने

सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द गरेको छ। सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको सुरुङको मूल ढोका बन्द गरिएको हो।
 |  मंगलबार, जेठ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ १७, २०७९

काठमाडौं– सरकारले मेलम्ची खानेपानी आयोजनाको सुरुङ बन्द गरेको छ। सिन्धुपाल्चोकस्थित अम्बाथानमा रहेको सुरुङको मूल ढोका बन्द गरिएको हो। 

मूल गेट बन्द भएसँगै अब काठमाडौंमा मेलम्चीबाट पानी आउन बन्द भएको छ। प्रि–मनुसन सुरु भएसँगै मेलम्ची खानेपानी विकास समितिले सुरुङको ढोका बन्द गरेको हो। बाढी आउने गरी वर्षा हुन थालेपछि बर्खा सुरु नहुँदै मेलम्ची बन्द भएको हो। 

गत ११ वैशाखबाट सरकारले सिन्धुपाल्चोकस्थित बाँधस्थलमा अस्थायी संरचना तयार गरेर काठमाडौंमा मेलम्चीको पानी वितरण थालेको थियो। अस्थायी बाँध बाँधेर सिधै सुरुङमा पानी हालिएकाले बर्खामा सुरुङमा हुन सक्ने जोखिमलाई ध्यान दिएर सुरुङ बन्द गरिएको आयोजनाका एक अधिकारीले बताएका छन्।

जल तथा मौसम विज्ञान विभागसँग मौसमी अवस्थाबारे परामर्श लिएर सुरुङ बन्द गरिएको हो। असोज मसान्तसम्मका लागि सुरुङ बन्द गरिएको र त्यसपछि अवस्था हेरेर खोलिने आयोजनाले बताएको छ। 

जानकारहरुका अनुसार मेलम्चीको तटीय क्षेत्रमा अझै पहिरोको जोखिम छ भने लेदोसहितको बाढीको जोखिम टरेको छैन। त्यसैले मनसुन सक्रिय भएपछि मेलम्चीको पानी काठमाडौं ल्याउन नसकिएको हो।

१ असार २०७८ मा आएको बाढीले क्षतिग्रस्त भएको आयोजनाको मुहानस्थल सफा गरेर हालै मेलम्चीको पानी सुरुङभित्र सोझै हालिएको थियो। 

प्रकाशित: May 31, 2022| 12:34 मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्