टोकियो- भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जापानका तीन पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेका छन्।
जापान भ्रमणमा रहेका मोदीले जापानको राजधानी टोकियोमा मङ्गलबार तीन पूर्वप्रधानमन्त्रीहरुसँग भेटवार्ता गरेका हुन्।
पूर्व प्रधानमन्त्रीहरू योशिहिडे सुगा, सिन्जे आवे र योशिरो मोरीसँग उनले आपसी अनुभव आदान प्रदान गरेका थिए।
उनीहरूका बीचमा दुई देशको सम्बन्ध थप बलियो बनाउने, सहकार्यका नयाँ ढोकाहरू खोल्ने, आपसी सहयोग आदानप्रदान बढाउने लगायतका विषयमा पनि छलफल भएको बताइएको छ।
सबै जनाले एक अर्काप्रति हार्दिकता प्रकट गरेको र भेटघाट गर्न पाएकोमा खुशी लागेको बताएको अधिकारीहरूले जनाएका छन्।
जापान—भारत एसोसिएसन (जेआइए) का अध्यक्ष समेत रहनु भएका पूर्व प्रधानमन्त्री योशिरोसँग प्रधानमन्त्री मोदीले एसोसिएसनका बारेमा पनि कुराकानी गरेका थिए।
सन् १९०३ मा स्थापना भएको सो एसोसिएसनलाई अन्तरदेशीय मैत्रीपूर्ण संगठनहरू मध्ये सबैभन्दा पुरानो संगठन भएकाले पनि महत्वका साथ हेरिन्छ।
प्रधानमन्त्री मोदीले पनि योशिरो नेतृत्वको पुरानो सङ्गठनलाई अझ प्रभावकारी बनाउन र त्यस मार्फत गर्न सकिने कामहरूलाई विस्तार गर्न पनि जोड दिएका थिए।