काठमाडौं- सत्तारुढ ५ दलीय गठबन्धनले चितवनको भरतपुरमा आयोजना गरेको चुनावी सभामा महानगर मेयरकी प्रत्यासी रेणु दाहालले आफूले विगतमा गरेका कामका फेहरिस्त प्रस्तुत गरेकी छन्। प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्रीसमेत रहेका आफ्ना बुबा तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई साक्षी राखेर रेणुले आफ्ना फेहरिस्त प्रस्तुत गरेकी हुन्।
महानगरका चोकमा सडकबत्ती जडान गरेको, शिक्षा, स्वास्थ्य तथा कृषि र पर्यटनका क्षेत्रमा दीर्घकालीन काम गरेको उनको दाबी छ। धान रोप्ने मेसिन, धान काट्ने मेसिन, युवा कृषकलाई ब्याज अनुदान दिएको पनि उनले बताइन्।
भरतपुरका सामुदायिक विद्यालयमा ७ हजार विद्यार्थी बढाएको, कुल बजेटको १५ प्रतिशत शिक्षाका लागि विनियोजना गरेको, विद्यार्थीलाई साइकल वितरण गरेको, अल्पसंख्यक समुदायका विद्यार्थीलाई ३ हजार छात्रवृत्ति दिएको पनि फेहरिस्त सुनाइन्।
नारायणी नदी किनारमा स्वदेशी र विदेशी लगानीकर्तालाई आह्वान गरी इको पार्क बनाउन लागिएको उनको दाबी छ। 'हामीले धेरै राम्रो उपलब्धि गर्यौँ। यो कास्टिङ मात्र हो,' रेणुको दाबी छ, 'खास फिल्म त देखाउनै बाँकी छ।'
आफूले गरेका प्रतिबद्धता भन्दा पनि बढी काम गरेको उनको दाबी छ।