काठमाडौं– पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र उनका म्यानेजर कृष्ण जोशीलाई धरौटीमा छाड्ने दुवै थुनेछक आदेशलाई सँगै राखेर पेश गर्न उच्च अदालत पोखराले आदेश दिएको छ। धरौटीमा छाड्ने आदेशविरुद्ध जिल्ला सरकारी वकिलको कार्यलय तनहुँले पनि निवेदन दिएको पाइएपछि न्यायाधीशद्धय उज्ज्वल शुक्ल र श्रीधरा कुमारी पुडासैनीको संयुक्त इजलासले यस्तो आदेश दिएको हो।
‘बिहीबारको सुनुवाइले पल शाहलाई पुर्पक्षका लागि थुनामा पठाउने र मतियार बनाइएका कृष्ण जोशीलाई धरौटीमा छाड्ने दुवै आदेश सँगै राखेर हेर्ने आदेश दिएको छ,’ उच्च अदालत पोखराका रजिष्ट्रार श्रीलाल पौडेलले नेपाल समयसँग भने, ‘जोशी पनि यही मुद्दासँग जोडिएका हुनाले सरकारी वकिलको निवेदनलाई पनि सँगै राखेर हेर्ने आदेश भएको हो। अब अर्को पेशी आउँदो बिहीबारलाई तोकिएको छ।’
उच्च अदालतले अघिल्लो साता पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न आदेश दिएको थियो। दुवै मुद्दामा पीडक र पीडित पनि समान व्यक्ति भएको र कसुरको प्रकृति पनि एकैखाले भएकाले सँगै राखेर हेर्न आदेश दिइएको थियो।
नबालिग गायिकामाथि पटकपटक जबरजस्ती करणी गरेको आरोपमा शाहविरुद्ध तनहुँ र पूर्वी नवलपरासी जिल्ला अदालतमा मुद्दा दायर भएर थुनछेक बहस पनि सकिएको छ। विपक्षी पल पुर्पक्षका लागि जेल चलान भएका छन्। पीडित एकै भए पनि घटनास्थल र घटना फरक भएकाले दुवैतिर मुद्दा चलिरहेको छ। दुवै जिल्लाका अदालतले पललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेपछि पल शाहले उच्च अदालत पोखरामा जिल्लाको थुनेछक आदेशविरुद्ध निवेदन दिएका थिए।
उच्च अदालतले अघिल्लो साता पल शाहलाई विपक्षी बनाएर दुई जिल्ला अदालतमा दायर भएका मुद्दालाई सँगै राखेर हेर्न आदेश दिएको थियो।
शाहका तर्फबाट कानुन व्यवसायीले दुवै जिल्लाको आदेश बदर गरेर साधारण तारेख या धरौटीमा रिहाइको माग गर्दै उच्च अदालतमा छुट्टाछुट्टै निवेदन दिएका थिए। गत चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा बलात्कार मतियारको अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटी तिराएर छाड्न आदेश भएको थियो।
त्यसको केही दिनपछि पूर्व नवलपरासी जिल्ला अदालतले पनि पललाई पुर्पक्षका लागि थुनामै पठाउने आदेश दिएको थियो। तर, पुर्पक्षका लागि थुनामा पठाउन गरिएको आदेश कानुनसम्मत, मिसिल र तथ्यगत प्रमाणसम्मत नभएको भन्दै पलका कानुन व्यवसायीले उच्च अदालतमा पुनरावेदन चढाएका थिए।
नाबालिग गायिकाका बुबाले गत फागुनको फरकफरक मितिमा छोरीमाथि पलले बिहेको प्रलोभन देखाउँदै पटकपटक करणी गरेको दुवै जिल्लाको प्रहरी कार्यलयमा जाहेरी दिएका थिए। पलले अन्तिम पटक करणी गरेको घटनास्थल गत वैशाख १४ गते तनहुँ शुक्लागण्डकी नगरपालिका–४ दुलेगौँडास्थित प्रदीप थापाको घरमा भएको भन्दै पीडित परिवार सुरुमा जाहेरी लिएर तनहुँ प्रहरीमा पुगेको थियो।
त्यसपछि म्युजिक भिडियो सुटिङको क्रममा पूर्वी नवलपरासीको क्षेत्रभित्र पर्ने गैँडाकोट रिसोर्टमा पनि सुटिङ नै लम्ब्याएर छोरीलाई जबर्जस्ती करणी गरेको भन्दै पीडितका बुबाले गैँडाकोट प्रहरीमा जाहेरी दिएका थिए।
पीडित र पीडितका बुबाले बयान फेरे
दुवै जिल्ला अदालतमा पीडित र पीडितका बुबाको बकपत्र चलिरहेका कारण पनि उच्च अदालत पोखरामा परेको पुनरावेदनउपर सुनुवाइ रोकिएको थियो। यो मुद्दाकी नाबालिग पीडित र पीडितका बुबा दुवैले अदालतमा बकपत्र गर्ने क्रममा बयान नै फेरेका छन्। पलले बिहे गर्ने आश्वासन दिएपछि पीडितले ‘होस्टाइल’ भएर बयान फेरेको उनीहरुका कानुन व्यवसायीको आशंका छ।
दुवै अदालतमा बकपत्र गर्ने क्रममा पीडितले आफूलाई पलले जबर्जस्ती करणी नगरेको र अरुको उक्साहटमा जाहेरी दिएको व्यहोराको बयान दिएकी छिन्। पीडितका बुबाले पनि ‘पछि बुझ्दै जाँदा त्यस्तो केही नभएको रैछ’ आशयको बकपत्र गर्दै आफ्नो बयान फेरेका छन्।