तनहुँ- तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन्। मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ।
‘पहिलोपटक भएकाले कसरी मत हाल्ने भन्नेबारेमा केही जानकारी छैन तर सिकेपछि मत हाल्ने तरिकाबारे जान्नेछु,’ उनले भनिन्। कुमालले स्थानीय तहमा हाम्राभन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्ने बताइन्।
‘अहिले घरदैलो अभियान चलिरहेको छ, दलका भन्दा पनि राम्रा उम्मेदवारले जित्नुपर्छ,’ उनले भनिन्। यसपटक मतदाता शिक्षा कार्यक्रम सञ्चालन नगरिएकाले मतदातालाई मत हाल्न अलमल हुने बन्दीपुर गाउँपालिका–४ का दुर्गाविलास भट्टराईले बताए। निर्वाचनमा राजनीतिक दलबीच गठबन्धन भएकाले मतदाता मत हाल्ने बेलामा झुक्किने भएकाले धेरै मत बदर हुनसक्ने उनले बताए।
‘मत कसरी हाल्ने भनेर गाउँगाउँमा मतदातालाई सिकाइएको छैन, गठबन्धनका कारण मत बदर हुनसक्ने सम्भावना उत्तिकै छ,’ उनले भने। गठबन्धन गरेका दलहरूले पनि मतदान गर्ने तरिकाबारे सिकाउन आवश्यक रहेको उनको भनाइ छ।
व्यास नगरपालिका–३ का मधुमाया पौडेलले उम्मेदवार भोट माग्न घरदैलोमा आए पनि मतदान गर्नेबारेमा भने कसैले सिकाउने नगरेको बताए। ‘भोट दिनुस् भन्दै आउँछन्, मतदान गर्ने तरिकाबारे पनि सिकाए मत बदर हुँदैनथ्यो होला!’ उनले भनिन्।
मतदातालाई मतदान गर्ने तरिकाबारे सिकाउने उद्देश्यसहित जिल्ला निर्वाचन कार्यालय तनहुँ र नेपाल पत्रकार महासंघ तनहुँ शाखाले नमूना मतदान कार्यक्रम गर्यो।
नमूना मतदानले मतदान प्रक्रियाबारे जानकारी गराएको र बदर मत कम गराउन सहयोग पुग्ने स्थानीय कृष्णराज वाग्लेले बताए। रासस