काठमाडौं- सरकारले मतदान केन्द्रमै कोरोनाविरुद्धको खोप लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमै लगाउने तयारी गरेको हो।
मन्त्रालयले मतदान केन्द्र नजिक नै खोप केन्द्र स्थापना गरी कोरोना भाइरसविरुद्धको खोप लगाइने मन्त्रालयले जनाएको छ।
मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले वैशाख ३० गते मतदान केन्द्र नजिक खोप केन्द्र स्थापना गरी खोप लगाउन छुटेकालाई कोरोना भाइरसविरुद्धको खोप लगाइने जानकारी दिएकी छन्।
उनका अनुसार मतदान गरिसकेपछि १८ वर्षभन्दा माथिका पहिलो, दोस्रो र बुस्टर डोज प्रदान गरिनेछ। खोप लगाउन छुटेका र बुस्टर डोज लगाउन बाँकी रहेकालाई मतदान गर्न जाँदा खोप कार्ड लिएर जानसमेत मन्त्रालयले अनुरोध गरेको छ।