सुर्खेत- मुगु जिल्लाको छायानाथ रारा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ। विशेष अदालतमा आयोगले बुधबार आरोपपत्र दायर गरेको हो।
अधिकृत पीताम्बर सारू, असिस्टेन्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल र इन्जिनियर महेश सिंह कठायतविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। यस्तै उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्ना देवी हमालविरुद्ध पनि मुद्दा दायर गरिएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
उनीहरू ५ जना विरुद्ध २९ लाख ७७ हजार ८२१ रुपैयाँ ११ पैसा भ्रष्टाचार गरेको भन्दै अख्तियारले आरोप पत्र अदालतमा दर्ता गराएको हो।
यस्तो छ अख्तियारको विज्ञप्ति
जिल्ला मुगु, छायानाथ रारा, नगरपालिकाले वडा नं. २ मा पर्ने पैदल बाटोमा पक्की सिँढी निर्माण गर्ने गरी आ.व. २०७४/०७५ मा विनियोजन भएको रकम हिनामिना गरेको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा छायानाथ रारा, नगरपालिका वडा नं. २ स्थित अदालत चोकदेखि प्रशासनसम्मको सडक निर्माणको कार्यमा सब–इन्जिनियर तथा इन्जिनियरले वास्तविक कार्यभन्दा बढी कार्य भएको देखाई तयार पारेको नापी किताबमा प्रमुख प्रशासकीय अधिकृत पीताम्बर सारूले सही गरी नापीको विवरणमा सहमति जनाई, प्रतिवादी द्वय असिस्टेन्ट सब–इन्जिनियर हस्त बहादुर मल्ल र इन्जिनियर महेश सिंह कठायतले फिल्डमा कम काम भएकोमा बढी काम भएको भनी नापी किताबमा मूल्यांकन गरी झुट्टा नाप जाँच विवरण चढाई गलत सिफारिस गरी रकम रु.२९,७७,८२१।११ सरकारी हानि नोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय खण्ड (ग) र (ङ) को कसुर गरेको देखिँदा निजहरूलाई सोही ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन माग दाबी लिने साथै प्रतिवादीहरू उपभोक्ता समितिका अध्यक्ष राममाया मल्ल र कोषाध्यक्ष रत्ना देवी हमालले गैरकानूनी लाभ हानी पुर्याउने बदनियतले वास्तविक रूपमा भएको कार्यभन्दा बढी मूल्याङ्कन गराई भुक्तानी माग गरी बिगो रु.२९,७७,८२१।११ हानि नोक्सानी पुर्याई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) को कसुर गरेको देखिँदा निज प्रतिवादीहरूलाई सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम सजाय हुन एवं प्रतिवादीहरूबाट असुल तथा जफत गरिएको बिगो छायानाथ रारा नगरपालिका, मुगुलाई उपलब्ध गराई पाउन माग दाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको छ।
प्रकाशित: May 04, 2022| 20:15 बुधबार, वैशाख २१, २०७९