मस्को- उडड्यन पारखीहरुका लागि एक उत्सुकताको विषय बनेको छ, विश्वकै ठूलो हवाइजहाजले फेरि उडान भर्ला? जारी रुस-युक्रेन युद्धका क्रममा एएन-२२५ कलसाइन रहेको विश्वकै ठूलो हवाइजहाज एन्टोनभ क्षतविक्षत बनेको छ। रुसी आक्रमणबाट क्षतविक्षत यस हवाइजहाजको भग्नावशेष उड्डयन पारखीहरुका निम्ति दु:खद स्मृति बनेका छन्। एन्टोनभले शीत युद्धपछि दोस्रो जीवन पाएको थियो।
सन् १९८० को दशकमा सोभियत संघका निम्ति अन्तरिक्षमा उडान भर्न तयार गरिएको जहाजले शीतयुद्धपछि दोस्रो जीवन पाएको थियो। सामान ढुवानी गर्ने विश्वकै ठूलो हवाइजहाज एन-२२५ घरेलु विमानस्थल होस्टेमलमा रुसी आक्रमणको सिकार बन्यो। त्यसलगत्तै विमान निर्माण गर्ने कम्पनी एन्टोनभले ट्विट गरेको थियो- 'सपना कहिल्यै मर्नेछैन'।
हवाइजहाजको स्थिति हेर्दा मर्मत सम्भार असम्भव नै देखिन्छ। रुसी आक्रमणबाट जहाजको अग्रभाग सम्पूर्ण रुपले ध्वस्त भएको छ। त्यसबाहेक पंखा र इन्जिनमा पनि असर पुगेको छ भने जहाजको पछाडिको भागमा पनि ठूला भ्वाङ परेका छन्। प्राविधिकसँगै जहाज अवलोकनमा पुगेका सीएनएनका पत्रकार भास्को कोतोभियो भन्छन्, 'जहाजको अग्रभागमा मात्रै क्षति पुगेको भए मर्मत सम्भव नै हुने थियो। विमान पूरै गोलीले घेरिएझैँ देखिन्छ।'
सन् १९८७ देखि एन्टोनोभ कम्पनीका लागि कार्यरत उड्डयन इन्जिनियर एन्ड्री सोभेनकोले क्षतिको प्राविधिक विवरण तयार गरेका छन्। जहाजको अग्रभाग सम्पूर्ण रुपले क्षति हुँदा जहाजको यान्त्रिक प्रणाली र अन्य उपकरणहरुमा नराम्रोसँग क्षति पुगेको उनले बताएका छन्। 'अब तिनीहरुलाई मर्मत गर्नु निकै कठिन काम हो। यसको प्रणाली निकै पुरानो छ,' उनले भनेका छन्।
अब यसलाई सन् १९८० कै स्थितिमा फर्काउन असम्भव रहेको उनको भनाई छ। 'यसलाई मर्मत गरे पनि पुरानै अवस्थामा फर्काउन सम्भव छैन, जहाजमा रहेका ६ वटै इन्जिनमा क्षति पुगेको छ। हवाइजहाज निकै असामान्य अवस्थामा छ,' उनले भने।
एन्टोनोभको इतिहासबारे पुस्तक नै लेखेका सोभेनको होस्टेमोलमा क्षतविक्षत जहाज बनाउनै नसकिने निष्कर्षमा पुगेका छन्। 'हामी अर्को म्रिया बनाउने कोशिस गरौँला तर पुरानोलाई पुनर्जीवन दिन अब सम्भव छैन,' उनले भने।
किभमा एन-२२५ जस्तै जहाज बनाउने विषयमा निकै पहिले कार्यशाला पनि भएको थियो। त्यसको निष्कर्ष थियो- उस्तै बनावट र उपकरणसहित जहाज बनाउन असम्भव छ।
सोभेनको अध्ययनमा यसका निम्ति दुई कठिनाई छन्। पहिलो, नयाँ जहाज निर्माण पुरानै यान्त्रिक उपकरणको प्रयोग र दोस्रो हालको नियम अनुसार त्यसले पाउने स्वीकृति रहेका छन्। पहिलोका निम्ति एन्टोनोभ अनुभवी छ। उसले एन-२२५ लाई चुस्तदुस्त राखेको थियो। सोभियतकालीन जहाजलाई उसले युक्रेनी नयाँ प्रविधिसँगै समकक्षिता दिलाउन सक्षम बनेको थियो। तर यसका निम्ति कम्पनीले समय र सम्पत्ति दुबै अत्यधिक खर्चिनुपरेको थियो।
४० वर्षअघिको गर्विलो इतिहासलाई बर्करार राख्न अब सम्भव नरहेको विज्ञहरुको निष्कर्ष छ। अब यस्तै जहाज बनाउने हो भने कम खर्चिलो हुनेछैन। एन-२२५ जस्तै जहाज निर्माणका निम्ति खर्च प्रक्षेपण गर्दा सन् २०१८ मै ३५० अर्ब अमेरिकी डलर खर्च हुने अनुमान गरिएको थियो। अहिले त्यसको निर्माण खर्च झन् बढ्ने अनुमान छ। 'जहाजको निर्माण खर्च ५ सय अर्ब अमेरिकी डलर पुग्नसक्छ,' सोभनेकोले भनेका छन्।
जहाजको परीक्षण र प्रमाणीकरणका क्रममा खर्च अझै बढ्ने सोभेनको बताउँछन्। उडड्यन विश्लेषक रिचार्ड अबलफिया भन्छन्, 'अर्बौँ अमेरिकी डलर अब कसले व्यहोर्छ र अब यो हवाइजहाज व्यवसायिक प्रयोजनका निम्ति पनि धेरै उपयुक्त छैन । उपयुक्त नहुने स्थितिमा यत्तिको पैसा कसले खर्च गर्ला?', उनको प्रश्न छ।
यो जहाजको खर्च एन्टोनोभले नै व्यहोर्नुपर्ने हुन्छ। तर यो कम्पनीको आर्थिक अवस्था त्यति सुदृढ छैन। धेरै एयरक्राफ्ट गुमाए पनि कम्पनी त चलिरहेको छ, तर कहिलेसम्म चल्छ भन्ने निश्चित छैन। 'म आशावादी मानिस हुँ। मेरो सद्धभाव एन्टोनोभ जहाजले छिट्टै उडान भरोस् भन्ने नै हो। तर म यथार्थवादी पनि भएकाले यत्ति भन्छु, दोस्रो जहाज बनाउनका निम्ति एन्टोनोभको आर्थिक रुपले सक्षम छैन। अझ युद्धपछि त उसको स्थिति झनै नाजुक बनेको छ।' - सीएनएन