शुक्रबार, फागुन २२, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पश्‍चिमाले प्रतिबन्ध लगाएका पुटिनका 'भित्रिया'ले यसरी लुकाए अर्बौंको सम्पत्ति

पश्‍चिमाले प्रतिबन्ध लगाएका पुटिनका 'भित्रिया'ले यसरी लुकाए अर्बौंको सम्पत्ति

यस घटनाले एक स्वीस ट्याटु कलाकारलाई कसरी कम्पनीको मालिकका रुपमा झुठो नाम दिइयो भन्‍ने कुरा बाहिर ल्याएको छ। ट्याटु कलाकारलाई झुटो मालिकका रुपमा स्थापना गरिएको कम्पनीले सुलेमान केरिमोभसँग सम्बन्धित अन्य कम्पनीहरुलाई रु ३६ अर्बभन्दा बढी रकम दिएको रहेछ।
 |  बुधबार, चैत ३०, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, चैत ३०, २०७८

मस्को- रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग नजिक एक धनाड्यले कसरी आफ्नो सम्पत्ति लुकाए भन्‍ने कुरा ‘लीक’ भएको बीबीसीले पुष्टी गरेको छ।

यस घटनाले एक स्वीस ट्याटु कलाकारलाई कसरी कम्पनीको मालिकका रुपमा झुठो नाम दिइयो भन्‍ने कुरा बाहिर ल्याएको छ। ट्याटु कलाकारलाई झुटो मालिकका रुपमा स्थापना गरिएको कम्पनीले सुलेमान केरिमोभसँग सम्बन्धित अन्य कम्पनीहरुलाई रु ३६ अर्बभन्दा बढी रकम दिएको रहेछ।

बाहिरिएका डकुमेन्टले पत्ता नलागेको ८५ अर्ब रुपैँया बराबरको लेनदेन अनि गोप्य स्वामित्वमा रहेका विलासी सम्पत्तिहरुको समेत खुलासा गरेका छन्।

अनुसन्धानले बैंकिङ प्रणालीको असफलता र पश्चिमी प्रतिबन्धमा पर्ने बाधाहरुलाई उजागर गरेको छ।

०००

kumari

खोज पत्रकारहरुको अन्तर्राष्ट्रिय संघ आईसीआईजेको नेतृत्वमा रहेको पान्डोरा पेपर्सको रुसी अनुसन्धान परियोजना अन्तर्गत रही बीबीसीले निम्‍न प्रमाणहरु फेला पारेको छः

१. सन् २०१० देखि सन् २०१५ को अनतरालमा सुलेमान केरिमोभ र उनका निकटतम व्यापारीहरुबीच भएको करिब ८५ अर्ब रुपैँयाभन्दा बढी रकमको लेनदेनलाई बैंकहरुले 'शंकास्पद' बताएको। 

२. केरिमोभको स्वामित्वमा रहेका सम्पत्तिहरुको मालिकका रुपमा स्वीस लेखापाल अलेक्जेन्डर स्टुडाल्टर प्रस्तुत भएको।

३. फ्रान्सेली रिभिएरा र लन्डनमा भएका सम्पत्तिहरुको केरिमोभ गोप्य मालिक भएको, जसमा बेलायतकै सबैभन्दा महँगा घरहरुको बिक्री पनि समावेश

गत फेब्रुअरीमा रुसी ‘ट्यांक’हरुले युक्रेन प्रवेश गरेपछि राष्ट्रपति पुटिनलाई केरिमोभलगायत दर्जनौँ अन्य अर्बपतिहरुसँग देखिएका थिए। 

रुसको तल्लो र माथिल्लो दुवै सदनका सदस्य भइसकेको अनि रुसी संघको अधिकारी भएका कारण अमेरिकाले सन् २०१८ देखि सुलेमानमाथि प्रतिबन्ध जारी गरेको हो। यसै वर्षको मार्च १५ देखि बेलायत तथा युरोपेली संघले पनि ‘पुटिनका निकटम रहेको भित्रि घेराका सदस्य’ भएको आरोपमा उनीमाथि प्रतिबन्ध लगाएका हुन्।

केरिमोभ सोभियत युगका कुशल अर्थशास्त्रीका रुपमा उदाएका हुन्। हाल उनी रुसकै सबैभन्दा धनाड्य अनि कूलिन वर्गहरुमध्ये एक बन्न पुगेका छन्।

केरिमोभले उर्जा तथा बैंकिङ क्षेत्रमा लगानी गरेर आफ्नो भाग्य चम्काएका हुन्। उनीमाथि गरिएको अनुसन्धानले अन्तर्राष्ट्रिय बैंकिङ प्रणालीको असफलतालाई नराम्ररी उजागर गरेको छ। सयौं अर्ब रुपैँयाको  लेनदेनका पछाडि को छ भनेर पत्ता लगाउनको साटो बैंकहरुले ती कारोबारलाई 'शंकास्पद' मात्र बताएका थिए।

पान्डोरा पेपर्सको रुसी छानबिनमा केरिमोभको नामसँगै अन्य ४ हजार रुसीको नाम पनि जोडिएको छ। कर्पोरेटका रेकर्ड अनुसार यसरी गोप्यताका निमित्त कसैलाई नक्कली मालिकका रुपमा प्रस्तुत गरिँदो रहेछ। अनि बैंक तथा वित्तिय संस्थाहरु पनि कारोबारका पछाडि खास को छ भन्ने कुरामा अज्ञात हुने रहेछन्।

यसले आक्रमणपछि लक्षित रुपमा गैरकानुनी सम्पत्तिको पहिचान र जफत गर्ने सरकारको क्षमतामाथि शंका उत्पन्न गरेको छ। अमेरिकी सरकारद्वारा वर्षको अन्तमा गरिने वार्षिक ‘स्टेट अफ द युनियनमा बोल्दै राष्ट्रपति जो बाइडेनले आफू कालो धन नियन्त्रणमा लागिपरेको घोषणा गरेका थिए। उनले यसका लागि अन्तर्राष्ट्रिय स्तरको कार्यक्रम समेत सुरु भएको उद्घोष गरेका थिए। तर, केरिमोभको यस मुद्दाले बाइडेनको कार्यक्रम सहज नहुने कुरा प्रस्ट्याएको छ।

विज्ञका अनुसार पश्चिमी राष्ट्रहरुको लापरबाहपूर्ण नीतिका कारण वर्षौँ देखि कालो धन थुप्रिएको हो। पश्चिमी मुलुकहरुलाई यस्ता सम्पत्तिको सामना गर्न अझ मुस्किल पर्ने उनीहरुको धारणा रहेको छ।

 फ्रान्सेली अनुसन्धान

केरिमोभले कसरी आफ्ना घनिष्ट व्यापारीहरुको सहयोगमा आफ्नो धन लुकाएका छन् भन्ने कुरा फ्रान्सेली अदालतबाट बाहिरिएका 'गोप्य' दस्तावेजले प्रमाणित गरेको छ।  

उनलाई सन् २०१७ मा कर छलीको आरोपमा फ्रान्समा पक्राउ गरिएको थियो। सन् २००६ देखि २०१० का बीचमा फ्रान्सेली रिभिएरामा भएका 'लक्जरी'का खरिद-बिक्रीको मुद्दालाई लिएर उनलाई पक्राउ गरिएको थियो। विशेषतः सो मुद्दा चलचित्र छायांकनका लागि प्रयोग गरिएको 'भिल्ला'को बिक्रीसँग सम्बन्धित थियो। करिब साढे चार अर्ब रुपैँयामा बिक्री भएको भनिएको सो भिल्ला कर छली गरी १६ अर्ब रुपैँयाभन्दा बढीमा बिक्री गरिएको अनुसन्धानले खुलासा गरेको छ।

उक्त बिक्री सन् २००८ मा स्वीस कम्पनी 'स्वरू होल्डिङ एजी'लाई गरिएको थियो। 'स्वरु होल्डिङ'का नक्कली मालिक बनेका स्वीस लेखापाल अलेक्जेन्डर स्टुडाल्टरलाई पनि पक्राउ गरिएको थियो। किनभने फ्रान्सेली अनुसन्धानकर्ताले ती सम्पत्ति रुसी व्यापारीको स्वामित्वमा रहेको थाहा पाएका थिए। सन् २०२० मा 'स्वरू होल्डिङ'ले कर छली गरेको स्वीकार गरेसँगै भारी जरिवाना तिर्नु परेको थियो।

लन्डनका सम्पत्ति

केरिमोभले स्वरु होल्डिङको प्रयोग गरी फ्रान्समा मात्र नभएर लन्डनमा पनि गोप्य कारोबार गरेका थिए। दक्षिण फ्रान्समा सम्पत्ति जोड्दै गर्दा केरिमोभले लन्डनमा पनि गोप्य कारोबार चलाइरहेका थिए। सो गोप्य कारोबारमा लन्डनको रेजेन्ट पार्कस्थित सुविधासम्पन्‍न चार तले हवेली कर्नवाल टेरेस सामेल छ।

१० अर्ब रुपैँयाभन्दा बढीमा सन् २०१३ मा उक्त हवेली बिक्री भएपछि बेलायतमा कारोबार भएको सबैभन्दा महंगो घरमध्ये एक बनेको थियो।

पैसाको लेनदेन

केरिमोभको कारोबार घर-जग्गा खरिद-बिक्रीमा मात्र सीमित छैन। पान्डोरा पेपर्सले सार्वजनिक गरेको रिपोर्ट अनुसार स्वरु होल्डिङले केरिमोभसँग सम्बन्धित थुप्रै कम्पनीहरुलाई सयौँ अर्ब रुपैँया लेनदेन गरेको छ।

यसै बीच बाहिरिएको रिपोर्टले ३६ अर्बभन्दा बढी रुपैँया अरुलाई पठाएको कम्पनीका नक्कली मालिकको नाम समेत सार्वजनिक गरेको छ। स्वीस सहर लुसेर्नका ट्याटु कलाकार रेनाटो कोप्पोको नाम सो कारोबारमा जोडिएको हो। उनको 'स्टुडियो' पनि लेखापाल अलेक्जेन्डरकै सहरमा रहेको छ। 

सन् २०१६मा अलेक्जेन्डरले हस्ताक्षर गरेको कागजातका अनुसार कोप्पो स्वरू होल्डिङको मातहत ब्रिटिश भर्जिन टापुमा रहेको फ्लेचर भेन्चर्सका मालिक हुन्।

ट्याटु कलाकारको नाममा रहेको कम्पनी फ्लेचर भेन्चर्स पनि ठूलो आर्थिक कारोबारमा सामेल छ। सन् २०१३ मा उक्त कम्पनीले एलटी नामक अर्को कम्पनीलाई १३ अर्ब रुपैयाँ पठाएको थियो।

अरु पनि यस्तै ठूला कारोबार भएको देखिएपछि बैँकले 'शंकास्पद घटना' भन्दै छानबिनको पहल गरेको थियो। तर त्यस बेला रेनाटो कोप्पो पत्ता लागेनन् अनि पैसा कहाँ जाँदै थियो पनि थाहा पाउन सकेनन्।

बैंकको अनुसन्धानले कम्पनीको ठेगाना त पत्ता लागेको थियो तर पान्डोरा पेपर्सले उक्त कम्पनीसँग ती कारोबारको कुनै सम्बन्ध नरहेको पुष्टि गरिदियो।

बाहिरिएका दस्तावेज अनुसार फ्लेचर भेन्चर्सबाट पनि यस्ता थुप्रै ठूला आर्थिक कारोबार भएका छन्।

गत वर्ष सोही कारोबारहरु बारे प्रश्‍न गरिँदा फ्लेचरका कोप्पो जवाफ दिन असमर्थ भए। उनले उल्टै स्टुडाल्टरलाई औँल्याए। कोप्पोलाई कम्पनीका लाभार्थी मालिक बताएको कागजातमा हस्ताक्षर गरेको स्टुडाल्टरले आफूले गल्तीले सो हस्ताक्षर गरेको बताए। उनले फ्लेचर भेन्चर्सका मालिक कोप्पो नभई आफू भएको समेत दाबी गरे।

स्वरु होल्डिङको नाममा रहेका केरिमोभका समपत्तिमा कस्टम-निर्मित बोइङ ७३७ हवाईजहाज अनि करिब १९ अर्ब बराबरको 'सुपर-याट' पनि रहेका छन्। फ्रान्सेली अनुसन्धान बाहेकका अन्य कुरामा टिप्पणी गर्न अनुरोध गरि तापनि केरिमोभले केही जवाफ दिएनन्। गत साता फ्रान्सेली अधिकारीहरुबाट आएको जानकारी अनुसार मुद्दामा थप अनुसन्धान भइरहेको छ। 

(बीबीसीमा प्रकाशित यो सामग्री नेपाल समयका लागि विनायक कार्कीले भावानुवाद गरेका हुन्।)

प्रकाशित: Apr 13, 2022| 08:12 बुधबार, चैत ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।