नेपालगन्ज- मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगन्ज नाकाबाट उद्धार गरेको छ।
पछिल्लो एक वर्षको अवधिमा नेपालगन्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका चार सय ९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगन्जका संयोजक केशवराज कोइरालाले जानकारी दिए।
उनका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल प्रहरी समेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो। यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ।
एक वर्षको अवधिमा पाँच सय २६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकामा दुई सय १३ जना फेला परेका छन्। घरेलु हिंसाका १८ घटनामा परामर्श प्रदान गरिएको माइती नेपालका संयोजक कोइरालाले बताए।