काठमाडौं– श्रीलंकामा चरम आर्थिक संकटसँगै खाद्यान्न, इन्धन तथा औषधि अभावका कारण सुरु भएको सरकारविरोधी प्रदर्शन चर्कंदै गएपछि सबै मन्त्रीले राजीनामा दिएका छन्। सोमबार श्रीलंकाका २६ जना मन्त्रीले राजीनामा दिएका हुन्।
मन्त्रीहरुले राजीनामा दिए पनि प्रधानमन्त्री महिन्द्रा राजापाक्षे र राष्ट्रपति गोटाभाया राजापाक्षे भने पदमै रहनेछन्। राष्ट्रपतिले रक्षा, प्रविधि मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्दै आएका छन् भने प्रधानमन्त्रीले धार्मिक तथा सांस्कृतिक, आर्थिक नीति तथा योजना कार्यान्वयन र सहरी विकास तथा भवन निर्माण मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्।
सरकारविरोधी प्रदर्शन रोक्न सरकारले कर्फ्यु आदेश जारी गरे पनि कैयौं सहरमा उल्लंघन भएको छ। राजधानी कोलम्बोमा प्रदर्शनकारी र सरकारी फौजबीच झडप भएको छ। प्रदर्शन अनियन्त्रित बन्दै गएपछि राष्ट्रपतिले ३६ घण्टाका लागि जारी गरेको कर्फ्यु अवधि स्थानीय समयअनुसार सोमबार बिहान ६ बजे सकिएको छ।
श्रीलंकामा सम्बन्धित निकायबाट लिखित अनुमतिबिना सडक, उद्यान, रेल वा समुद्री क्षेत्रमा जान रोक लगाइएको छ भने फेसबुक, ट्वीटर, इन्स्टाग्रामजस्ता सामाजिक सन्जाल बन्द गराइएको छ। यसअघि राजधानी कोलम्बोस्थित राष्ट्रपति निवासबाहिर विरोध प्रदर्शन गरिएपछि देशभर संकटकाल लागू गरिएको छ। पक्राउ पुर्जीबिना नै जोकोहीलाई पक्राउ गर्न सक्ने अधिकार सेनालाई दिइएको छ।
श्रीलंकाले पछिल्लो समय स्वतन्त्रतायताकै ठूलो आर्थिक संकट सामना गरिरहेको छ। विदेशी मुद्राको अभावसँगै इन्धन आपूर्ति लगभग ठप्प भएको छ भने खाद्यान्न तथा औषधिको चरम अभाव देखिएको छ। दैनिक उपभोग्य वस्तुको भाउ अकासिएका कारण जनजीवन कष्टकर बन्दै गएको छ। पछिल्लो समय विद्युत् आपूर्तिमा समेत समस्या देखिएको छ।