शुक्रबार, वैशाख २१, २०८१

शिक्षक यौन दुर्व्यवहार प्रकरण : १५ दिनपछि खुल्यो लेटाङको शिक्षा विकास मावि

यौन दुर्व्यवहारका आरोपित शिक्षक पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएपछि बन्द रहेको लेटाङ ५ खेरुवाको शिक्षा विकास मावि दुई सातापछि सञ्चालनमा आएको छ।
 |  सोमबार, चैत २१, २०७८

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

सोमबार, चैत २१, २०७८

विराटनगर- यौन दुर्व्यवहारका आरोपित शिक्षक पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रोशित भीडको आक्रमणबाट एक महिला प्रहरीको मृत्यु भएपछि बन्द रहेको लेटाङ ५ खेरुवाको शिक्षा विकास मावि दुई सातापछि सञ्चालनमा आएको छ। 

triton college

विद्यालयमा गरिएको तोडफोड तथा झडपपछि शिक्षक र विद्यार्थीमा फैलिएको डर र त्रासले विद्यालय सञ्चालन हुन सकिरहेको थिएन। 

महिला प्रहरीको मृत्युको घटनापछि चैत ६ गतेदेखि बन्द भएको विद्यालयको पठनपाठन आइतबार सुरु भएको विद्यालयले जनाएको छ। दुई सातापछि खुलेको विद्यालयमा करिब ६० प्रतिशत विद्यार्थी उपस्थित भएको प्रधानाध्यापक लक्ष्मीप्रसाद मिश्रले जानकारी दिए। 

विद्यालयमा ७ सय ४१ विद्यार्थी अध्ययनरत छन्। घटनापछि तत्कालै विद्यालय सञ्चालनको वातावरण नभएको, शिक्षक, कर्मचारीहरू नै घाइते भएको उनले बताए। विद्यार्थीले पनि तत्कालै विद्यालय आउने मन नगरेको उनको भनाई छ। 

प्रधानाध्यापक मिश्रले भने, ‘शिक्षकले पढाउन सक्ने अवस्था नै थिएन।’ अभिभावक, सरोकारवाला बोलाएर छलफल गरी विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक मिश्रले बताए। विद्यालयमा फालिएका शिशा, ढुङ्गाहरू सबै सफाइ गरिएको उनले बताए। 

corrent noodles
Metro Mart

प्रधानाध्यापक मिश्रले भने, ‘विद्यालयका कागजात, सामाग्री क्षत विक्षत थिए। सबैलाई व्यवस्थित गरिएको छ।’ विद्यालय पुरानै अवस्थामा फर्किने प्रयासमा रहेको लेटाङ नगरपालिका उपप्रमुख कृष्णकुमारी निरौलाले बताइन्। 

विद्यालयमा मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने तयारी लेटाङ नगरपालिकाले गरिरहेको उनको भनाइ छ। विद्यालयले विद्यार्थी र शिक्षकका लागि मनोपरामर्श कार्यक्रम सञ्चालनको माग नगरपालिकासँग गरिसकेको प्रधानाध्यापक मिश्रले बताए। उनले कक्षा १० को टेस्ट परीक्षा पनि सञ्चालन गरिएको बताए। चैत ६ गते सुरु भएर रोकिएको परीक्षा सुरु गरिएको उनले बताए। 

उत्तरी मोरङको नमुना एवं उत्कृष्टभित्र पर्ने सरकारी विद्यालयको पढाइ पनि राम्रो रहेको प्रधानाध्यापक मिश्रको भनाई छ। 

लेटाङका नगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव कृष्णराज राईले विद्यालयमा तोडफोड गरिँदा ११ लाख ६७ हजार ५ सय रुपैयाँ बराबरको क्षति भएको बताए। विद्यालय सञ्चालनका लागि नगरपालिकाले नगद र सामग्री गरेर ३ लाख रुपैयाँ बराबरको सहयोग गरेको उनले बताए। 

कक्षा ७ मा अध्ययनरत १४ वर्षीया छात्रालाई ५६ वर्षीय शिक्षक मनोज पौडेलले गत चैत ४ गते होलीका दिन दुर्व्यवहार गरेको घटना बाहिरिएपछि सुरु भएको आन्दोलन हिंसामा परिणत हुँदा ६ गते महिला प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको हत्या भएको थियो। आक्रोशित भीडले प्रअ मिश्र लगायतका शिक्षकलाई आक्रमण गर्नुका साथै तोडफोड र आगजनी गरेको थियो। 

घटनामा संलग्न भएको आरोपमा प्रहरीले हालसम्म ५७ जनालाई पक्राउ गरिसकेको छ। २० जनाविरुद्ध कर्तव्य ज्यान र ३७ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। छात्रा दुर्व्यवहारको आरोप लागेका शिक्षक पौडेलविरुद्ध जबरजस्ती करणी उद्योगको मुद्दामा अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। 

प्रहरीले घटनाबारे पूर्व मूल्याङ्कन गर्न नसक्दा ठुलो क्षति भएको स्थानीयवासीको भनाई छ। क्षणभरमै उग्र रूप लिएको आन्दोलनलाई प्रहरीले गम्भीरतापूर्वक नलिएको स्थानीयवासीको भनाई छ। 

उनीहरूका अनुसार प्रहरीले समयमै आरोपित शिक्षकलाई विद्यालयबाट लग्न सकेको भएको घटनाले उग्र रूप लिन सक्ने थिएन र विद्यालय दुई सातासम्म बन्द हुने थिएन। विद्यालयलाई पुरानै अवस्थामा पुर्‍याउन सवैजना लाग्नुपर्ने स्थानीय कृष्ण लम्सालले बताए।

प्रकाशित: Apr 04, 2022| 09:19 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्