इस्लामावाद- पाकिस्तानका प्रधानमन्त्री इमरान खानले राष्ट्रिय सभा विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरेपछि प्रमुख प्रतिपक्षी दलले अदालत जाने चेतावनी दिएको छ। पाकिस्तान मुस्लिम लिगका प्रवक्ता मरियम औरंगजेबले यस्तो चेतावनी दिएकी हुन्।
'यो निकै हास्यास्पद कुरा हो। संविधानको निर्मम उल्लंघन हो,' उनले भनिन् ,'यसले मुलुकमा हिंसा र अराजकता निम्त्याउने र संवैधानिक संकट आउँछ।' उनले सरकारको निर्णयविरुद्ध अदालत जाने चेतावनीसमेत दिएकी छन्।
प्रधानमन्त्री खानको पार्टीका सांसदहरुले भने विदेशी षड्यन्त्रमा आएर प्रधानमन्त्री खानलाई हटाउन खोजेको कारण संसद् विघटनको सिफारिस गर्नुपरेको बताएका छन्।
यसअघि राष्ट्रिय सभाका उपसभामुख कासिम खान सुरीले प्रधानमन्त्री खानविरुद्धको अविश्वासको प्रस्ताव खारेज गरिदिएका थिए। उनले अविश्वासको प्रस्ताव खारेज गरेपछि आइतबार खान अझै पनि प्रधानमन्त्री भएको र संसद विघटनको सिफारिस गर्ने अधिकार रहेको बताएका थिए।
प्रधानमन्त्री खानविरुद्ध दर्ता भएको अविश्वास प्रस्ताव पारित हुने आकलन भइरहेको समयमा प्रधानमन्त्री खानले राष्ट्रपति समक्ष संसद् विघटनको सिफारिस गरेका थिए।
प्रधानमन्त्री खानको पार्टीको बैठकले पनि संसद् विघटन गरी चुनावमा जाने निर्णय गरेको छ। यद्पि तत्काल प्रधानमन्त्री खानले गरेको निर्णयले आधिकारिता पाउँछ भन्ने निश्चित भइसकेको छैन। पाकिस्तानको संविधानको धारा ५८ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले ४८ घण्टाभित्र संसद् विघटन गर्नसक्ने प्रावधान रहेको छ।