काठमाडौं– चरम आर्थिक संकटबाट गुज्रिरहेको श्रीलंकामा सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाइएको छ। त्यहाँ हुन सक्ने प्रदर्शनलाई रोक्न सरकारले आइतबारदेखि फेसबुक, ट्विटर, ह्वाट्सएपलगायत सामाजिक सञ्जाल चलाउन देशभर प्रतिबन्ध लगाएको हो।
श्रीलंकामा राष्ट्रपति र सरकारविरूद्ध प्रदर्शनहरू बढ्न थालेपछि शुक्रबार राति संकटकाल घोषणा गरिएको थियो। संकटकालसँगै सरकारले शनिबार साँझ देशभरि ३६ घन्टे कर्फ्यु लगाएको छ।
स्थानीय समयअनुसार शनिबार साँझ ६ बजेदेखि सोमबार बिहान ६ बजेसम्मका लागि देशव्यापी कर्फ्यु लगाइएको छ। श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बढ्दो अशान्तिलाई सम्बोधन गर्न कडा कानुन लगाउनुपर्ने बताउँदै आएका छन्।
त्यहाँ शुक्रबारदेखि नै आपतकाल घोषणा गरिएको छ। सार्वजनिक व्यवस्थाको रक्षा गर्न र अत्यावश्यक आपूर्ति र सेवाहरू कायम राख्न आपतकालिन अवस्था आवश्यक रहेको राजापाक्षेले बताएका छन्।