काठमाडौं- तीन दिने नेपाल भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गर्ने भएका छन्। आइतबार बिहान १० बजे चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा शिष्टाचार भेटवार्ता गर्नेछन्।
चिनियाँ विदेशमन्त्रीले पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री तथा सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई होटल हायातमा आइतबार भेट्ने कार्यक्रम छ।
बिहान ११:१० देखि ११:४० सम्म पूर्व प्रधानमन्त्री ओलीसँग चिनियाँ विदेशमन्त्रीले होटल हायातमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ।
चिनियाँ विदेशमन्त्री वाङले अन्तिममा सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने तय भएको छ। उनले ११:४५ देखि १२:१५ सम्म प्रचण्डलाई होटल हायातमा भेट्नेछन्।
चिनियाँ विदेशमन्त्री आइतबार बेलुका ३ बजे बेइजिङका लागि उड्ने कार्यक्रम छ। शुक्रकार साँझ काठमाडौं ओर्लिएका विदेशमन्त्री वाङ यीले शुक्रबार साँझ काठमाडौंस्थिति चिनियाँ दूतावासको ब्रिफिङ लिएका थिए। त्यसैगरी शनिबार बिहान शिवपुरी हाइकिङ गएका थिए भने शनिबार दिउँसो परराष्ट्र मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरेर बेलुका प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका थिए।
नेपाल र चीनबीच विभिन्न नौ वटा समझदारी पत्रमा हस्ताक्षर गर्नुका साथै चिनियाँ सहयोगमा बनिरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पनि नेपाल सरकारलाई हस्तान्तरण गरेका थिए।