सोल (दक्षिण कोरिया) - उत्तर कोरियाले हालसम्मकै प्रभावशाली क्षेप्यास्त्रको परीक्षण सफल भएको दाबी गरेको छ। बिहीबार गरिएको अन्तरप्रादेशिक मार हान्न सक्ने क्षमताको ह्वासङ-२०१७ नाम दिइएको क्षेप्यास्त्रको परीक्षण सपल भएको उत्तर कोरियाले जानकारी दिएको छ। सन् २०१७ पछि उत्तर कोरियाले अन्तर्प्रादेशिक क्षमताको क्षेप्यास्त्र परीक्षण गरेको हो।
यो मिसाइलले अमेरिकासम्म प्रहार गर्न सक्ने दाबी गरिएको छ। क्षेप्यास्त्रको परीक्षण गर्न उत्तर कोरियालाई प्रतिबन्ध लगाइएको छ। तैपनि उत्तर कोरियाले हालसम्म क्षेप्यास्त्र परीक्षणलाई रोकेको छैन। यसकारण उसमाथि प्रतिबन्ध थप हुने क्रम जारी छ।
उत्तर कोरियाका सरकारी समाचार एजेन्सीका अनुसार सर्वोच्च नेता किम जोङ उनले बिहीबारको परीक्षणलाई प्रत्यक्ष रूपमा निर्देशन गरेका थिए।
उक्त मिसाइल ६ हजार किलोमिटर माथिसम्म पुगेको र जापानी समुद्रमा खसेको बताइएको छ। करिब एक घण्टाजति उक्त क्षेप्यास्त्र आकाशमा नै घुमेको दाबी गरिएको छ। जापानी र दक्षिण कोरियाली सेनाले उत्तरले गरेको मिसाइल परीक्षणलाई ट्र्याक गरिएको दाबी गरेका छन्।