काठमाडौं- युक्रेनमाथि रुसले आक्रमण थालेको एक महिना पूरा भइसकेको छ। यस एक महिनाको अवधिमा युक्रेन रुसी सेनासँगै कयौं बाधाहरुसँग लडेको छ।
ट्यांक, सेना, विमान लगायतका सबै मामिलामा रुसभन्दा धेरै पछाडि रहेको युक्रेनमा राष्ट्रिय स्वाधिनता र सार्वभौमिकताको रक्षाका लागि आमनागरिकहरुले सेनालाई साथ दिएका छन्। कयौं ठाउँहरुमा त युक्रेनका नागरिकहरु नै रुसी सेनासँग भिडिरहेका छन्।
युक्रेनले धेरै भूभागहरू गुमाएको छ। विशेष गरी क्रिमिया वरपरको क्षेत्र। क्रिमिया सन् २०१४ मा रुसले आफ्नो कब्जामा लिएको थियो। हालको आक्रमणमा रुसको वास्तविक उद्देश्य युक्रेनको राजधानी किभ र अन्य प्रमुख सहरहरु कब्जा गर्ने र अहिलेको सरकारलाई अपदस्थ गर्ने रहेको छ। यद्पि एक महिनासम्म निरन्तर आक्रमण गर्दा पनि युक्रेन नगलेपछि मनोवैज्ञानिकरुपमा रुस पराजित भइसकेको छ।
अझै युक्रेनविरुद्ध पासा पल्टिनसक्ने आँकलनहरु गरिरहेका छन्। युक्रेनको सेनाले लगातार बढ्दो रुसी सेनालाई रोक्न आवश्यक एन्टिट्यांक, एन्टि-एयरक्राफ्ट, मिसाइलजस्ता हतियारहरुको अभावको सामना गरिरहेको छ। युक्रेनको पूर्वी भागमा रहेका सैनिकहरु घेरिएर मारिने खतरामा छन्। यहीबीच युक्रेनको एक चौथाई जनसंख्याले आफ्नो घर छोडेका छन्। जो बाँकी रहेकाहरू पनि रुसी हतियार र बमबारीको निशानामा छन्। यी सबै कारकहरुका बाबजुद पनि युक्रेनी सेनाले युद्धमा रुसी सेनाको बलियोरुपमा सामना गरिरहेका छन्।
यस हप्ता अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता जोन किर्बीले युक्रेनी सेना र नागरिकले आफ्नो भू-भागहरुको सुरक्षा गर्ने चालेको चतुर, फुर्तिलो र रचनात्मक कदमको प्रशंसा गरेका छन्।
युक्रेनको सफलताको रहस्य के हो?
प्रेरणा
रुस र युक्रेन दुबैको सेनाको मनोबलमा ठूलो भिन्नता छ। युक्रेनका जनता आफ्नो देशको अस्तित्वको लागि लडिरहेका छन्। उनीहरु आफ्नो देशलाई सार्वभौम राष्ट्रको रुपमा हेर्न चाहन्छन्।
युद्ध सुरु हुनुभन्दा ठिकअघि पुटिनले आफ्नो भाषणमा भने कि युक्रेन मूलतः केवल एक कृत्रिम रूसी सिर्जना भएको बताएका थिए। युक्रेनका जनता आफ्नो सरकार र राष्ट्रपतिको साथमा छन्। रुसी पक्षबाट भारी फायरिङको सामना गरिरहँदा पनि अनुभव नभएका सामान्य नागरिक हतियार उठाएर आफ्ना सहरको रक्षा गर्न लडिरहेका छन्।
शीतयुद्धको समयमा जर्मनीमा ३५ वर्ष बेलायती सैन्य अधिकारीको रुपमा सेवा गरेका ब्रिगेडियर टम फक्स भन्छन्, ‘मानिसहरू आफ्नो अस्तित्वको लागि यसरी लड्छन्। यसरी उनीहरुले आफ्नो मातृभूमि र परिवारको रक्षा गर्छन्। उनको साहस अचम्मको छ।’
अर्कोतर्फ धेरैजसो रुसीहरु सैनिक स्कुलबाट भर्खरै उत्तीर्ण भएका युवाहरु हुन्। उनीहरु युद्ध कौशलमा पोख्त नभएका देखिएको फक्सको विश्लेषण छ। धेरैजसो रुसी सैनिकहरु या त तयार थिएनन् वा यस प्रकारको युद्धको लागि अनुभवको कमी थियो। यस्तो अवस्थामा खाद्यान्न अभाव, लुटपाट जस्ता समाचार बाहिर आइरहेका छन्।
आदेश र नियन्त्रण
रुसी साइबर आक्रमणका कारण युक्रेनको सञ्चार प्रणाली पूर्णरुपमा ध्वस्त हुने अनुमान गरिएको थियो तर त्यसो भएन। बरु युक्रेनले युद्धको मोर्चामा प्रभावकारी समन्वय कायम गर्न सफल भएको छ।
युक्रेनको सरकार किभमा सक्रिय देखिन्छ र निरन्तर निगरानीमा पनि छ। एकै समयमा रुसी सेनासँग कुनै पनि प्रकारको एकिकृत नेतृत्व छैन। विभिन्न युद्ध मोर्चाबीच समन्वयको अभाव पनि छ। यसले रुसी सैनिकको मनोबलमा नकारात्मक असर पार्ने अपेक्षा गरिएको छ।
यो विश्वास गरिन्छ कि कम्तिमा पाँच रुसी जनरलहरु मारिए किनभने तिनीहरु सिपाहीहरुलाई फसाउनबाट जोगाउन युद्ध मोर्चाको धेरै नजिक पुगेका थिए।
कर्पोरल र सर्जेन्ट दर्जाका सिपाहीहरु जस्ता एनसीओ छन्, उनीहरूले रुसको नियम अनुसार कुनै पहल गर्न सकेनन्। सबै जुनियर र्यांकका सिपाहीहरुले माथिल्लो तहको आदेश कुरिरहेका हुन्छ। किंग्स कलेज लन्डनका सैन्य विशेषज्ञ प्रोफेसर माइकल क्लार्क रूसी एनसीओहरू भ्रष्टाचार र कार्यक्षमताको अभावले रुमल्लिएका छन्।
युद्धमा सिपाही र हतियारहरुको राम्रो प्रयोग
युक्रेनका सेनाको संख्यामा रुसी सैनिकको तुलनामा निकै कम छन्। तर पनि उनीहरुले रुसभन्दा जमिन र हवाई सैन्य हतियारको राम्रो प्रयोग गरिरहेका छन्। एकातिर रुसले सैनिक र सैन्य गाडीहरुलाई लाइनमा राख्छ। सुस्त गतिमा उनीहरुसँगै अघि बढ्छन् भने अर्कोतर्फ युक्रेनी सैनिकहरु छापामार युद्ध लडिरहेका छन्। तिनीहरू 'हिट एन्ड रन' नीति अनुसरण गर्दैछन्। तिनीहरु गोप्य रुपमा एन्टी-ट्यांक मिसाइलहरु प्रहार गर्छन् र रुसले बदला लिनु अघि नै ठाउँ छाडिसक्छन्। यो लडाइँभन्दा पहिले अमेरिका, बेलायत र क्यानडाका नेटो प्रशिक्षकहरुले युक्रेनमा लामो समय बिताइसकेका छन्। यस्तो अवस्थामा उनले युक्रेनी सैनिकलाई रक्षात्मक युद्धलाई तीव्रता दिन र मिसाइल प्रणालीको राम्रो प्रयोग गर्न निर्देशन दिएका छन्।
अर्का सैन्य रणनीतिकार जस्टिन क्रम्पले युक्रेनी सैनिकहरु रुसी सेनाको कमजोर बिन्दुहरू फेला पार्न र आक्रमण गर्न माहिर रहेको बताएका छन्। ‘युक्रेनले अत्यधिक प्रभावकारी रणनीतिहरु प्रयोग गरेको छ,’ उनी भन्छन्।
यतिबेला मृतकको यकिन तथ्यांक आउन कठिन छ। पेन्टागनका अनुसार सात हजार रुसी सैनिकले ज्यान गुमाएका छन्। यो संख्या एक महिनाको युद्धपछि मात्रै बाहिर आएको हो। यो अफगानिस्तानमा १० वर्षे युद्धमा सोभियत संघले मारेको संख्याको आधा हो।
फ्रन्ट लाइनमा कति धेरै रुसी जनरलहरू मारिए भन्ने बारे ब्रिगेडियर टम फक्स तर्क गर्छन्, ‘मलाई यो अत्यधिक सफल स्नाइपर अभियान जस्तो लाग्छ। जानाजानी सुरु गरिएको थियो, जसले रुसी कमाण्ड संरचनालाई अशक्त बनाएको हुन सक्छ।’
सूचना मोर्चामा 'युद्ध'
सूचना मोर्चामा युक्रेन विश्वभर अग्रपंक्तिमा देखिन्छ। जस्टिन क्रम्प भन्छन्, ‘युक्रेनले घरेलु र विश्वव्यापी रुपमा सूचना क्षेत्रको बृहतरुपमा प्रयोग गरेको छ।’
‘युक्रेनी सरकारले स्पष्ट रुपमा विश्वभर युद्ध कथालाई सफलतापूर्वक नियन्त्रण गरेको छ,’ किङ्स कलेज लन्डनका पोस्ट-सोभियत अध्ययनका वरिष्ठ व्याख्याता डा. रुथ डेरमन्ड भन्छन्। यो संघर्षले युक्रेनको अन्तर्राष्ट्रिय प्रतिष्ठाको लागि के गरेको छ, त्यो उल्लेखनीय छ।
तर, अहिले युक्रेनलाई युद्धबाट बाहिर निकाल्न एक महिनाको जीवन र मृत्युको संघर्ष पनि पर्याप्त छैन। ठूलो संख्यामा रुसी सेनाको उपस्थिति युक्रेनको पक्षमा छैन। कुनै हालतमा पश्चिमबाट हतियारको आपूर्ति रोकियो भने युक्रेन रुसको सामु लामो समय टिक्न सक्नेछैन।
(बीबीसीका सुरक्षा संवाददाता फ्र्यांक गार्डनरले तयार पारेको सामग्रीलाई पवन घिमिरेले अनुवाद गरेका हुन्।)