काठमाडौं- उद्योगी व्यवसायीहरूले विद्युत् कटौती नगर्न माग गरेका छन्। वीरगन्ज उद्योग वाणिज्य संघका पदाधिकारीहरूले अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)लाई भेटेर मंगलबारदेखि बिजुली कटौती भएको गुनासो गरेका छन्।
बारा–पर्साका औद्योगिक करिडोरमा अचानक मंगलबारदेखि १२ घन्टासम्म लोडसेडिङ हुन थालेको उनीहरूको गुनासो छ।
भारतमा बिजुलीको मूल्य बढेको भन्दै बिजुली नआउँदा सीमाक्षेत्रका औद्योगिक कलकारखाना समस्यामा परेको उद्योगीले गुनासो गरेका छन्।
बुधबार व्यवसायीहरूले विद्युत् कटौती भएको गुनासो गरेपछि अर्थमन्त्री शर्माले तत्कालै नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई फोन गरेर उद्योग कलकारखानामा उपलब्ध गराइरहेको बिजुली नियमित गर्न निर्देशन दिएका थिए।
अर्थमन्त्रीले घिसिङलाई अहिले जे समस्या देखिएको हो, त्यसलाई चाँडो हल गरी उद्योगहरूमा मागअनुसार नियमित रूपमा बिजुली उपलब्ध गराउन निर्देशन दिएका थिए।
भारतीय बिजुलीको मूल्य बढेको भन्दै बारा–पर्साका औद्योगिक करिडोरका एक मेगावाटभन्दा माथिका उद्योगलाई प्राधिकरणले बिजुली नदिएपछि लोडसेडिङ हुनथालेको उद्योगी व्यवसायीको गुनासो छ।
करिब ६ सय मेगावाट बिजुली भारतले दिँदै आएको भए पनि अहिले चार सय मेगावाट रोकिएको छ।