काठमाडौं– एलन मस्कको कम्पनी स्पेस एक्सले आफ्नो स्टारलिंक स्याटलाइटका हजारौं उपकरण युक्रेन पठाएको छ। कम्पनीकी अध्यक्ष ग्वेन सटवेलले समाचार संस्था सीनबीसीलाई यसको जानकारी दिएकी हुन्।
रुसले युक्रेनमा आक्रमण सुरु गरेपछि मस्कले स्टारलिंक स्याटलाइटमार्फत इन्टरनेट सुविधा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। त्यसका लागि आफूहरूले उपकरण पठाइरहेको अध्यक्ष सटवेलको भनाइ छ। एन्टिना, ट्राइपड र वाइफाइ राउटरसहित हजारौं उपकरण युक्रेन पठाइएको उनले बताइन्।
युक्रेनले स्टारलिंकका उपकरण प्रयोग गरेर अन्तरिक्षमा रहेको स्पेस एक्सको नेटवर्कमा सिधा सम्पर्क स्थापना गर्न सक्छ। कम्पनीले इन्टरनेट सेवाका लागि हालसम्म २ हजार वटा स्याटेलाइट सञ्चालनमा ल्याइसकेको छ।
युक्रेनी उपप्रधानमन्त्री मिखाइलो फेडेरोभले रुसी आक्रमणले युक्रेनको इन्टरनेट सेवा अवरुद्ध भएको भन्दै ट्विट गरेका थिए।