काठमाडौं- सोमबार चीनमा १ सय ३२ जना यात्रु बोकेको जहाज दुर्घटना भयो। दुर्घटनामा परी सबैको मृत्यु भएको आशंका गरिए पनि हालसम्म कसैको शव प्राप्त हुन नसकेको चिनियाँ अधिकारीहरूले बताएका छन्।
चालक दलका सदस्यसहित १ सय ३२ जना सवार चाइना इस्टर्नको उडान नम्बर एमयू ५७३५ को विमान ग्वाङ्शी प्रान्तको पहाडी भूभागमा दुर्घटनाग्रस्त भएको थियो। राष्ट्रपति सी जिन्पिङले घटनाको छानबिन गर्न निर्देशन दिएका छन्।
ठूला हवाई दुर्घटनाको संक्षिप्त विवरण बीबीसीले संकलन गरेको छ।
यस्तो छ सन् २००० पछिका ठूला हवाई दुर्घटनाको विवरण
२०२१
९ जनवरी- श्रीविजया एयरद्वारा सञ्चालित बोइङ ७३७ विमान इन्डोनेसियाको राजधानी जाकार्ताबाट उडेको केही मिनेटमै जाभा समुन्द्रमा दुर्घटनाग्रस्त भयो।
विमानमा सवार ७ बालबालिका, ३ शिशु, अन्य यात्रुलगायत उडान कर्मचारी गरी सबै ६२ जनाको मृत्यु भएको थियो। अधिकारीका अनुसार विमानको 'अटो थ्रोटल'मा समस्या देखिएको दुर्घटनाको केही दिन अगावै जानकारी गराइएको थियो।
२०२०
२२ मे- ८ चालक दलका सदस्य र ९१ यात्रु बोकेको एयरबस ए:३२० पाकिस्तानको एक दक्षिणी सहर कराँचीको आवासीय क्षेत्रमा दुर्घटना हुँदा दुई यात्रुले मात्र ज्यान जोगाउन सफल भए।
८ जनवरी- इरानको राजधानी तेहरानबाट उडान भरेको केही समयमै युक्रेन इन्टरनेसनल एयरलाइन्सको फ्लाइट पीएस ७५२ दुर्घटनाग्रस्त भयो। दुर्घटनामा परी सम्पूर्ण उडान कर्मचारी र यात्रु गरी १ सय ७६ जनाको मृत्यु भयो। यो दुर्घटना अमेरिका र इरानबीचको बढ्दो तनावका बीचमा घटेको थियो। अन्ततः इरान सरकारले 'अन्जानमा' विमान खसालेको स्विकार्यो।
२०१९
१० मार्च- इथियोपियन एयरलान्सको बोइङ ७३७ म्याक्स राजधानी अद्दीस अबाबाबाट उडान भरेको ६ मिनेटमा दुर्घटना भयो। ३० भन्दा बढी देशका यात्रु बोकेको सो विमानमा सवार सबै १ सय ५७ जनाको मृत्यु भयो।
२०१८
२९ अक्टोबर- इन्डोनेशियाको जाकार्ताबाट उडेको केही बेरमै लायन एयरको बोइङ ७३७ म्याक्सको जाभा समुन्द्रमा दुर्घटना भयो। विमानमा सवार सबै १ सय ८९ जनाको मृत्यु भयो। साथै उद्धार कार्यमा लागेका एक ‘स्वयंसेवक’ गोताखोरको पनि मृत्यु भयो। अन्वेषकका अनुसार विमानमा पहिलेदेखि नै ‘टेक्निकल समस्या’ देखिएको रहेछ।
१८ मे- हावानाको होसे मार्ती एयरपोर्टबाट उडेको बोइङ ७३७ दुर्घटनाग्रस्त भयो। विमानमा सवार १ यात्रु बाहेक अन्य १ सय १२ जनाको मृत्यु भयो।
११ अप्रिल- अल्जेरियाको राजधानी अल्जियर्सबाट उडेको एक सैन्य विमानको दुर्घटनामा परी १० उडान कर्मचारी सहित २ सय ५७ जनाको मृत्यु भयो। सो विमानमा अधिकांश सेना र उनीहरूका परिवार सवार थिए।
१२ मार्च- युएस-बांग्ला एयरलाइन्सको बम्बार्डियर ड्यास ८ टर्बोप्रप विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनाग्रस्त भयो। विमानमा सवार ७१ जना मध्ये २० जना गम्भीर घाइते भएर बाँचे भने अन्य सबैको मृत्यु भयो।
१८ फेब्रुअरी- एसमान एयरलाइन्सको एउटा यात्रुवाहक विमान इरानको जाग्रोस पर्वतमा ठोक्कियो। दक्षिण:पश्चिमी सहर यासुजका लागि राजधानी तेह्रानबाट उडेको उक्त विमान दुर्घटनामा परि सवार सम्पूर्ण ६६ जनाको मृत्यु भयो।
११ फेब्रुअरी- मस्कोबाट उडेको सारातोभ एयरलाइन्सको ए एन १४८ यात्रुवाहक विमान दुर्घटनामा पर्यो। ७१ जना सवार उक्त विमान ओर्स्कालागि उडेको थियो। उडान भरेको केही समयमै युराल पर्वत शृंखलामा ठोक्कियो।
२०१७
सौभाग्यवश सन् २०१७ मा कुनै पनि हवाई दुर्घटना घटेनन्।
२०१६
२५ डिसेम्बर- सोची सहरबाट उडेको केही समयपछि रुसी सैन्य विमान ब्ल्याक सीमा दुर्घटनाग्रस्त भयो। सो विमानमा कलाकार, पत्रकार अनि सैनिक सवार थिए। दुर्घटनामा परी चालक दलका सदस्यसहित सबै ९२ जनाको ज्यान गयो।
७ डिसेम्बर– पाकिस्तान इन्टरनेशनल एयरलाइन्सको विमान दुर्घटनामा सवार सम्पूर्ण ४८ को मृत्यु भयो। विगतका दिनमा सुरक्षा असफलताको आरोप लगाइएको राष्ट्रिय विमान कम्पनीले चित्रालदेखि इस्लामबाद उडेको सो उडान पीके६६१ मा 'प्राविधिक त्रुटिका लागि कुनै ठाउँ नरहेको' अडान राखेको थियो।
२८ नोभेम्बर- एक ब्राजिलियन फुटबल क्लबको टिम बोकेको विमान इन्धन सकिएपछि कोलोम्बियाको मेडयिन नजिकै दुर्घटना हुँदा ७१ जनाको मृत्यु भयो। ६ जना भने बाँच्न सफल भए।
१९ मे- तत्कालीन फ्रान्सेली राष्ट्रपति फ्राँस्वा ओलण्डले पेरिस र काइरोका बीच लापता इजिप्ट एयरको विमान दुर्घटना भएको पुष्टि गरे। सो विमानमा ६६ जना सवार थिए।
१९ मार्च- फ्लाईदुबईको ७३७-८०० रुसको रोस्तोभ:अन:डनमा दुर्घटना हुँदा सवार सबै ६२ जनाको मृत्यु भयो।
२०१५
३१ अक्टोबर- रुसी विमान कम्पनी कोगलमावियाद्वारा सञ्चालित एयरबस ए३२१ मध्य सिनाइनमा दुर्घटना भयो। शर्म एल:शीखबाट उडेजि २२ मिनेटपछि घटेको सो दुर्घटनामा परी सवार सबै २२४ जनाको मृत्यु भयो। इस्लामिक स्टेट समूहका स्थानीय सहयोगीले सिरियामा रुसी हस्तक्षेपको जवाफमा विमान खसालेको स्वीकारे।
३० जुन- इन्डोनेसियाको हर्कुलस सी-१३० सैन्य विमान मेदानको आवासीय क्षेत्रमा दुर्घटनाग्रस्त भयो। सेनाबाट प्राप्त जानकारी अनुसार विमानमा सवार सबै १ सय २२ जनासहित जमिनमा रहेका १९ जनाको समेत मृत्यु भयो।
२४ मार्च- जर्मविङ्स एयरबस ए३२० एयरलाइनरको बार्सिलोनाबाट डुसेलडोर्फका लागिको उडान डिग्ने नजिकैको फ्रान्सेली ‘आल्प्स’मा दुर्घटना हुँदा सवार सबै १ सय ४८ को मृत्यु भएको आशंका गरियो।
२०१४
२८ डिसेम्बर- इन्डोनेसियाको सुराबायाबाट सिंगापुरका लागि उडेको एयर एसियाको क्यूजेड८५०१ विमान जाभा समुन्द्रबाट लापता भयो। विमानमा १ सय ६२ यात्रु र चालक दलका सदस्य रहेका थिए।
२४ जुलाई- बुर्किना फासोको बोर्डर नजिकै मालिमा खराब मौसमका कारण सम्पर्कविहीन भएको स्विफ्ट एयरको विमानमा सवार सबैको मृत्यु भएको आशंका गरियो।
२३ जुलाई- ताइवानको ट्रान्सइसिया एयरवेजको विमान सामुद्रिक आँधीका कारण पेङ्घुको टापुमा क्र्यास ल्यान्डिङ गर्यो। ५४ यात्रु र चार उडान कर्मचारी बोकेको सो विमानमा सवार ४८ को मृत्यु भयो।
१७ जुलाई- १९३ डच गरी जम्मा २ सय ९८ यात्रु बोकेको मलेसिया एयरलाइन्सको एमएचआई७ पूर्वी युक्रेनमा दुर्घटना हुँदा सवार सबैको मृत्यु भयो।
८ मार्च- मलेसियाको क्वालालम्पुरबाट चीनको बेइजिङका लागि उडेको मलेसिया एयरको फ्लाइट एमएच३७० लापता भएपछि हवाई इतिहासकै सबैभन्दा महँगो र ठूलो खोजी कार्य सुरु भयो। यति ठूलो खोजी कार्यका बाबजुद सन् २०१५ को जुलाइसम्म केही पत्ता लागेन। विमानको पखेटाको केही भाग रियुनियन टापुमा फेला परेपछि फ्रान्सेली अधिकारीले ती पुर्जा सोही लापता विमानको भएको पुष्टि गरे।
११ फेब्रुअरी- सैनिक र तिनका परिवार गरी ७८ सवार हरकुलस सी १ सय ३० सैन्य विमान उत्तर-पूर्वी अल्जेरियामा दुर्घटना हुँदा एक बाहेक अन्य सबैको मृत्यु भयो।
२०१३
१७ नोभेम्बर- तातारस्तान एयरलाइन्सको बोइङ ७३७ रुसको काजानमा अवतरण गर्ने क्रममा दुर्घटना हुँदा सवार सम्पूर्ण ५० जनाको मृत्यु भयो।
१६ अक्टोबर- १० राष्ट्रका र आफ्नै देशका समेत नागरिक बोकेको लाओ एयरलाइन्सको एटीआर७२:६०० मोडेलको विमान अवतरणका क्रममा मेकोङ नदीमा दुर्घटना हुँदा सवार ४९ को मृत्यु भयो।
२०१२
३ जुन- करिब १ सय ५० यात्रु बोकेको दाना एयरको यात्रुवाहक विमान नाइजेरियाको सबैभन्दा ठूलो एवं अधिक जनघनत्व भएको सहर लागोसमा दुर्घटना भयो।
२० अप्रिल- ६ उडान कर्मचारी र १२१ यात्रु बोकेको भोज एयरको बोइङ ७३७ पाकिस्तानको राजधानी इस्लामवादमा दुर्घटना हुँदा विमानमा सवार सबैको मृत्यु भयो।
२०११
२६ जुलाई- मोरोक्कोको सैन्य विमान हरकुलस सी:१३० पर्वतमा ठोक्किँदा करिब ७८ जनाको मृत्यु भयो। अधिकारीहरूले खराब मौसमका कारण विमान दुर्घटना भएको बताएका थिए।
८ जुलाई- खराब मौसमका कारण कङ्गोमा दुर्घटना भएको हेवा बोरा एयरको विमानमा सवार १ सय १४ मध्ये ७४ को मृत्यु भयो।
९ जनवरी- चालक दलका सदस्यले विमानमा प्राविधिक गडबडी भएको जानकारी गराएको केही क्षणमै टुक्रा:टुक्रा भएको इरान एयरको बोइङ ७२७ मा सवार एक सयमध्ये ७७ जनाको मृत्यु भयो।
२०१०
५ नोभेम्बर- मध्य क्युवाको पर्वतमा ठोक्किएर दुर्घटनाग्रस्त एरोक्यारिबियन यात्रुवाहक ‘टर्वोप्रप’ विमानमा सवार सबै ६८ जनाको मृत्यु भयो।
२८ जुलाई- कराँचीबाट आन्तरिक उडान भरेकलप एयरब्लूको विमान इस्लामवादमा अवतरणको क्रममा दुर्घटना हुँदा सवार सबै १५२ जनाको मृत्यु भयो।
२२ मे- एयर इन्डिया एक्सप्रेसको बोइङ ७३७ दक्षिण भारतको एक उपत्यकामा दुर्घटना हुँदा १ सय ५८ जनाको मृत्यु भयो।
१२ मे- लिब्याको त्रिपोली विमानस्थलमा अवतरण गर्ने क्रममा अफ्रिकिया एयरवेजको एयरबस ३३० दुर्घटना हुँदा एक सयभन्दा धेरैको मृत्यु भयो।
१० अप्रिल- तत्कालीन पोलिस राष्ट्रपति लेच क्याचिन्स्की सवार टुपोलेव १५४ विमान रुसको एक विमानस्थल नजिक दुर्घटना हुँदा ९० बढीले ज्यान गुमाए।
२५ जनवरी- इथियोपियन एयरलाइन्सको ८९ यात्रु बोकेको यात्रुवाहक जेट बेरुतबात उडान भरेको केही समयमै समुन्द्रमा दुर्घटनाग्रस्त भयो।
२००९
१५ जुलाई- अर्मेनियाका लागि उडेको क्यास्पियन एयरलाइन्सको टुपोलेव विमान उत्तरी इरानमा दुर्घटना हुँदा सवार सबै १ सय ६८ को मृत्यु भयो।
३० जुन- येमेनी यात्रुवाहक विमान एयरबस ३१० हिन्द महासागर नजिकै दुर्घटना हुँदा सवार १ सय ५३ मध्ये एक मात्र यात्रु बाँच्न सफल भए।
१ जुन- ब्राजिलबाट फ्रान्सका लागि उडेको एयर फ्रान्सको विमान एट्लान्टिक महासागरमा दुर्घटना भयो। सो विमानमा कूल २ सय २८ जना सवार थिए। खोजी कार्य गर्दा करिब ५० वटा मात्र शव समुन्द्रमा फेला परे।
२० मे- इन्डोनेसियन सेनाको हरकुलस सी:१३० जाभामा दुर्घटना हुँदा कम्तीमा ९७ जनाले ज्यान गुमाए।
१२ फेब्रुअरी- अमेरिकाको न्यु योर्क प्रान्तको बफेलोस्थित एउटा घरमा यात्रुवाहक विमान ठोक्किँदा विमानमा सवार ४९ र जमिनमा एक गरी ५० जनाको ज्यान गयो।
२००८
१४ सेप्टेम्बर- रुसको पर्म सहरमा बोइङ ७३७ दुर्घटना हुँदा विमानमा सवार सबै ८८ जनाको मृत्यु भयो।
२४ अगस्ट- किर्जिकस्तानको राजधानी बिशकेकबाट उडान भरेको छोटो समयमै यात्रुवाहक विमान दुर्घटना हुँदा ६८ जनाले ज्यान गुमाए।
२० अगस्ट- म्याड्रिडको बराजास एयरपोर्टमा स्प्यानियरको विमान उड्ने क्रममा धावनमार्गबाट चिप्लिँदा १५४ जनाको मृत्यु भयो भने १८ जना घाइते भए।
२००७
३० नोभेम्बर- इस्पार्ता विमानस्थलबाट करिब १२ किलोमिटर पर केसिबोर्लु सहर नजिकै दुर्घटना हुँदा एटलसजेट विमानमा सवार सबै ५६ जनाको मृत्यु भयो।
१६ सेप्टेम्बर- खराब मौसमका कारण थाइल्याण्डमा वान:टु:गो विमान दुर्घटना हुँदा कम्तीमा ८७ जनाको मृत्यु भयो।
१७ जुलाई- ब्राजिलको साओ पलोमा अवस्थित कङ्गोहास विमानस्थलमा भएको यो विमान दुर्घटना ब्राजिलको हवाई इतिहासकै सबैभन्दा नराम्रो दुर्घटना हो। यस दुर्घटनामा विमानमा सवार १ सय ८६ र जमिनमा भएका १३ जना गरी जम्मा १ सय ९९ जनाले ज्यान गुमाए।
५ मे- केन्या एयरवेजको बोइङ ७३७-८०० विमान दक्षिणी क्यामरुनको दुर्घटना हुँदा त्यसमा सवार सबै १ सय १४ को ज्यान गयो। दुर्घटनाको आधिकारिक विवरण अझै आएको छैन।
१ जनवरी- आन्तरिक उडानका लागि उडान भरेको एडम एयर को बोइङ ७३७:४०० सुलावेसी टापुको पहाडबाट खस्यो। सो विमानमा १ सय २ यात्रु तथा विमान कर्मचारी सवार थिए। दुर्घटनामा परी सबैको मृत्यु भएको अनुमान गरिएको छ।
२००६
२९ सेप्टेम्बर- १५४ यात्रु तथा चालकदलका सदस्य बोकेको बोइङ ७३७ विमान उडान कै क्रममा अमेजन ‘रेनफरेस्ट’माथो निजी जेटसँग ठोक्किँदा विमानमा सवार सबैको मृत्यु भयो।
२२ अगस्ट- १ सय ७० यात्रु बोकेको रुसी टुपोलेव विमान पूर्वी युक्रेनको डोनेट्सकमा दुर्घटनाग्रस्त भयो।
९ जुलाई- अवतरणका क्रममा धावनमार्गमा रुसी एस ७ एयरबस ए:३१० चिप्लिएपछि सवार मध्ये १ सय २४ जनाले ज्यान गुमाए भने ५० भन्दा बढी बाँच्न सफल भए।
३ मे- सोची सहर नजिकै ‘ब्ल्याक सी’मा आर्माविया एयरबस ए:३१० दुर्घटना हुँदा विमानमा सवार सबै १ सय १३ जनाले ज्यान गुमाए।
२००५
१० डिसेम्बर- सोसोलिसो एयरको डिसि:९ दक्षिणी नाइजेरियन सहर पोर्ट हार्कोटमा दुर्घटना हुँदा सवार १ सय ३ जनाको ज्यान गयो।
६ डिसेम्बर- तेह्रान बाहिर सी:१३० सैन्य विमान दुर्घटना हुँदा विमानमा सवारलगायत जमिनमा रहेका सहित गरी १ सय १० जनाले ज्यान गुमाए।
२२ अक्टोबर- नाइजेरियाको सहर लागोसबाट उडान भरेको केही समयमै दुर्घटना भएको बेलभ्यू एयरको बोइङ ७३७ मा १ सय १७ यात्रु सवार थिए। दुर्घटनामा परी विमानमा सवार सबैको मृत्यु भयो।
५ सेप्टेम्बर- ११२ यात्रु र ५ उडान कर्मचारी बोकेको मन्डला एयरलाइन्सको विमान इन्डोनेसियाको सहर मेडनमा दुर्घटना हुँदा विमानमा सवार लगभग सबै अनि जमिनमा रहेका दर्जनौंको समेत ज्यान गयो।
१६ अगस्ट- पानामाबाट मार्टिनिकका लागि उडेको वेस्ट क्यारिबियन एयरवेजको विमान भेनेजुएमा दुर्घटना हुँदा सवार सबै १ सय ६० को मृत्यु भयो।
१४ अगस्ट- साइप्रसबाट एदेन्सका लागि १ सय २१ यात्रु बोकेर उडेको हेलियो एयरलप विमान क्याबिनमा प्रेसर कम भएपछि ग्रिसको राजधानी एदेन्सको उत्तरी भूभागमा दुर्घटना हुँदा सवार सबैको ज्यान गयो।
१६ जुलाई- इक्वेटोरियक गिनीको राजधानी मालाबोबाट उडान भरेको केही क्षणमै दुर्घटना भएको इक्वेटएयरको विमानमा सवार सबै ६० जनाको मृत्यु भयो।
३ फेब्रुअरी- आँधीमा रेडरबाट गायब भएको काम एयरको बोइङ ७३७ विमानको भग्नावशेष अफगानिस्तानको राजधानी काबुलको अग्ला पर्वतमा अझै छन्। विमानमा सवार सबै १ सय ४ को मृत्यु भएको अनुमान छ।
२००४
२१ नोभेम्बर- उत्तरी चीनको भित्री मंगोलियाको एउटा जमेको तालमा यात्रुवाहक विमान दुर्घटना हुँदा विमानमा सवार ५३ जनाले ज्यान गुमाए। साथै, जमिनमा रहेका अन्य दुई जनाको पनि दुर्घटनाका कारण मृत्यु भयो।
३ जनवरी- फ्याश एयरलाइन्सको एक इजिप्सियन चार्टर विमान ‘रेड सि’मा दुर्घटनाग्रस्त भयो। जसमा सवार १ सय ४१ जनाको मृत्यु भयो। अधिकांश यात्रु फ्रान्सेली पर्यटक भएको अनुमान लगाइएको छ।
२००३
२५ डिसेम्बर- पश्चिम अफ्रिकी राज्य बेनिनबाट लेबनानका लागि उडेको बोइङ ७३७ उडान भरेको केही समयमै दुर्घटना हुँदा कम्तीमा १ सय ३५ जनाले ज्यान गुमाए।
८ जुलाई- सुडानबाट उडेको केही बेरमै दुर्घटना भएको बोइङ ७३७ मा सवार १ सय १५ जनाको मृत्यु भयो। एक जना यात्रु र एक बालक भने सकुशल बाँच्न सफल भए।
२६ मे- ‘ब्ल्याक सी’ नजिकै उत्तर-पश्चिमी टर्कीमा एक युक्रेनी याक ४२ दुर्घटना हुँदा जहाजमा रहेका सबै ७४ जनाको मृत्यु भयो। जसमध्ये अधिकांश अफगानिस्तानबाट घर फर्केका स्पेनी शान्ति सैनिक थिए।
८ मे- कङ्गोमा पुरानो सोभियत कार्गो विमान इल्युशिन ७६ को पछिल्लो र्याम्प खस्दा १ सय ७० जनाको मृत्यु भएको रिपोर्टमा उल्लेख गरिएको छ।
६ मार्च- दुर्गम तामानराससेत विमानस्थलबाट उडेको अल्जेरियन बोइङ ७३७ दुर्घटना हुँदा कम्तीमा १ सय २ जनाको ज्यान गयो।
१९ फेब्रुअरी- २७६ यात्रु बोकेको इरानी सैन्य विमान देशको दक्षिणी भूभागमा दुर्घटना हुँदा सवार सबैको ज्यान गयो।
८ जनवरी- दियारबाकिरमा अवतरण गर्ने क्रममा ७६ यात्रु तथा चालक दलका सदस्य बोकेको टर्किश एयरलाइन्सको विमान दुर्घटना भयो।
२००२
२३ डिसेम्बर- एरोस्पेस विशेषज्ञ बोकेको एन्टोनोभ १ सय ४० यात्रुवाहक विमान मध्य इरानमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार सबै ४६ जनाको मृत्यु भयो।
२७ जुलाई- पश्चिमी युक्रेनी सहर लविवमा एक लडाकु विमान हवाई प्रदर्शनीका माझ दर्शकको भीडमा दुर्घटना भयो । जसमा ७७ जनाको मृत्यु भयो।
१ जुलाई- विद्यालयको भ्रमणका लागि स्पेन उडेको रुसी टुपोलेव १५४ विमान दक्षिण जर्मनीमा बोइङ ७५७ सँग ठोक्किँदा ७१ जनाको मृत्यु भयो। मृत्यु हुनेमा अधिकांश स्कुले बालबालिका थिए।
२५ मे- चाइना एयरलाइन्सको बोइङ ७४७ ताइवानको पेङ्घु टापुमा दुर्घटना हुँदा २ सय २५ यात्रुसहित सबै उडान कर्मचारीको मृत्यु भयो।
७ मे- चाइना नर्दन एयरलाइन्सको १ सय १२ यात्रु बोकेको विमान उत्तर पूर्वी चीनको डालियान नजिकै समुन्द्रमा दुर्घटना भयो।
७ मे- सोही दिन ५५ यात्रु र १० उडान कर्मचारी बोकेको इजिप्ट एयरको विमान दुर्घटना भए तापनि अधिकांश सवार सुरक्षित रहे।
४ मे- इएएस एयरलाइनसको बीएसी १:११:५०० विमान नाइजेरियाको कानोमा दुर्घटना हुँदा १ सय ४८ जनाको ज्यान गयो। कूल मृतक मध्ये आधा विमानमा सवार नभई जमिन मै थिए।
१५ अप्रिल- दक्षिण कोरियाको पुसानमा अवतरण गर्ने क्रममा एयर चाइनालप विमान दुर्घटना भयो। सो विमानमा १ सय ६० भन्दा बढी यात्रु तथा उडान कर्मचारी सवार थिए।
१२ फेब्रुअरी- इरान एयरको टुपोलेव १५४ दुर्घटना हुँदा सवार सबै १ सय १७ को ज्यान गयो।
२९ जनवरी- इक्वेडरको टी ए एम इ एयरलप बोइङ ७२७ कोलोम्बियाको पर्वतमा दुर्घटना हुँदा ९२ जनाको ज्यान गयो।
२००१
१२ नोभेम्बर- डोमिनिकन रीपब्लिकका लागि उडेको अमेरिकन एयरलाइनसको ए ३०० उडान भर्ने क्रममा न्यू योर्कको क्विन्सस्थित आवासीय क्षेत्रमा दुर्घटना हुँदा विमानमा सवार सबै २ सय ६० जनासहित जमिनमा भएका कम्तीमा पाँच जनाको मृत्यु भयो।
८ अक्टोबर- स्कान्डिनेभियन एयरलाइन्स सिस्टमको विमान कुहिरोमा अर्को सानो विमानसँग ठोक्किँदा १ सय १८ जनाको ज्यान गयो।
४ अक्टोबर- तेल अविवबाट साइबेरियाको नोभोसिबिर्स्कका लागि उडेको रुसी शिविर एयरलाइन्सको टुपोलेभ १५४ हावामै पड्किँदा ७८ जना यात्रु तथा उडान कर्मचारीको मृत्यु भयो।
३ जुलाई- युराल पर्वतको येकातेरिन्बर्गबाट रुसी पोर्ट भ्लादिभोस्तोक उडेको रुसी टुपोलेव १५४ विमान साइबेरियन सहर इरकुत्सकमा दुर्घटना हुँदा १ सय ३३ यात्रुसहित १० चालक दलका सदस्यले ज्यान गुमाए।
२०००
३० अक्टोबर- अमेरिकाको लस एन्जलसका लागि उडेको सिंगापुर एयरलाइन्सको बोइङ ७४७ ताइवानबाट उडान भरेपछि दुर्घटना हुँदा विमानमा सवार जम्मा १ सय ७८ मध्ये ७८ यात्रुले ज्यान गुमाए।
२३ अगस्ट- बहराइनमा अवतरण गर्ने क्रममा गल्फ एयरको एयरबस समुन्द्रमा दुर्घटना हुँदा सवार सबै १ सय ४३ जनाको मृत्यु भयो।
२५ जुलाई- न्यु योर्कका लागि रवाना भएको एयर फ्रान्सको कन्कर्ड विमान उडान भरेको केही समयमा पेरिस बाहिरको एक होटेलमा ठोक्किँदा चार जना जमिनमा रहेका मानिससहित १ सय १३ जनाको ज्यान गयो।
१७ जुलाई- एलायन्स एयरको बोइङ ७३७:२०० भारतको पट्नामा अवतरण गर्ने कोसिस गर्दा एउटा घरसँग ठोक्किँदा विमानमा सवार ५१ सहित अन्य चार जनाको ज्यान गयो।
१९ अप्रिल- मनिलाबाट डाभाओ उडेको एयर फिलिपिन्सको बोइङ ७३७:२०० अवतरणका क्रममा दुर्घटना हुँदा विमानमा रहेका सबै १ सय ३१ जनाको ज्यान गयो।
३१ जनवरी- आलास्का एयरलाइन्सको एमडी८३ विमान मेक्सिकोबाट सान फ्रान्सिस्को उड्ने क्रममा क्यालिफोर्नियाबाट दक्षिण समुन्द्रमा खसेपछि सवार सबै ८८ को मृत्यु भयो।
३० जनवरी- नाइजेरियाको लागोसबाट आइभोरी कोष्टको अबिद्जानका लागि उडेको केन्या एयरवेजको ए:३१० विमान एट्लान्टिक महासागरमा खस्दा १० जना बाहेक सबै सवार यात्रुको ज्यान गयो। विमानमा जम्मा १ सय ७९ जना थिए।